विश्वमा देखा पर्‍यो अर्काे संक्रामक रोग 

मङ्कीपक्स १२ देशमा ८० जनामा सङ्क्रमण पुष्टि, दर्जनौँमा सरेको आशङ्का
आइतबार, जेठ ८, २०७९

काठमाडौं, ८  जेठ । कम्तीमा १२ वटा देशमा ८० जनाभन्दा बढीमा मङ्कीपक्स सरेको पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले थप ५० जनालाई बिफरजस्तो उक्त भाइरल सङ्क्रमण सरेको आशङ्कामा अनुसन्धान भइररहेको जनाको छ । तर उसले कुनै देशको पनि नाम उल्लेख गरेको छैन।
डब्ल्यूएचओले अझ बढी मानिसमा मङ्कीपक्स सर्न सक्ने भन्दै चेतावनी दिएको छ ।
मङ्कीपक्स युरोपका नौ देश, संयुक्त राज्य अमेरिका, क्यानडा र अस्ट्रेलियामा पनि पुष्टि भइसकेको छ। मङ्कीपक्स मध्य तथा पश्चिम अफ्रिकाका दुर्गम भेगहरूमा सामान्य मानिन्छ ।
यूकेको नेशनल हेल्थ सर्भिसका अनुसार यो एक प्रकारको भाइरसले गराउने दुर्लभ सङ्क्रमण हो ।सङ्क्रमण हुँदा मध्यम खालका लक्षणहरू देखा पर्छन् अनि बिरामीहरू केही साताभित्रै निको हुन्छन् । यो भाइरस एक व्यक्तिबाट अर्कोमा त्यति सजिलै सर्दैन। जनसाधारणमा व्यापक रूपमा फैलिने जोखिम एकदमै कम भएको बताइन्छ । यो रोगविरुद्ध छुट्टै खोप उपलब्ध छैन । यद्यपि बिफरविरुद्ध निर्मित खोपले ८५५ सुरक्षा दिन्छ। बिफर र मङ्कीपक्स भाइरसमा निकै समानता छ ।

मङ्कीपक्सको प्रकोप कति सामान्य

अहिलेसम्म युरोपका यूके, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटली र स्वीडनका जनस्वास्थ्य निकायहरूले आफ्नो देशमा मङ्कीपक्सका बिरामी फेला परेको पुष्टि गरेका छन् । शुक्रवार एउटा विज्ञप्ति प्रकाशित गर्दै डब्ल्यूएचओले अहिलेका प्रकोपहरू ‘असामान्य’ र ‘गैरस्थानिक’ बनेर फैलिएको जनाएको छ ।

रोगको निगरानी गर्न अनि को प्रभावित हुन सक्छन् र कस्तो सहयोग गर्न सकिन्छ भन्ने पत्ता लगाउन प्रभावित देशहरू र अरूसँग मिलेर आफूले काम गरिरहेको उसले जनाएको छ । रोगका कारण कुनै समुदायविरुद्ध लाञ्छना नलगाउन पनि उसले चेतावनी दिएको छ ।
‘रोगको प्रकोप ‍अन्त्य गर्न यो एउटा अवरोध बन्न सक्छ किनभने यसले मानिसहरूलाई उपचार खोज्न रोकिदिन सक्छ अनि त्यसबाट रोग थाहै नपाई फैलिन सक्छ’ डब्ल्यूएचओले बताएको छ ।
डब्ल्यूएचओका युरोप क्षेत्रीय निर्देशक हान्स क्लुगले ग्रीष्म याम सुरु हुँदा जमघट, पर्व र भोज गरिँदा यो रोग फैलिने गति बढ्न सक्ने चेतावनी दिएका छन् ।
उनका अनुसार अहिलेका सङ्क्रमण पुष्टि भएका बिरामीमध्ये एक जनाबाहेक अरू सबैले मङ्कीपक्स भेटिने ठाउँको यात्रा गरेका थिए । 
यूकेमा यो रोगको पहिलो सङ्क्रमणको विवरण मे ७ मा आएको थियो । ती बिरामी नाइजिरिया गएका थिए र इङ्ग्ल्याण्ड फर्किनुअघि नै उनलाई सङ्क्रमण भइसकेको ठानिएको यूकेको स्वास्थ्य सुरक्षा एजेन्सीले जनाएको छ । मङ्कीपक्सको अहिलेसम्म कुनै उपचार छैन । तर सङ्क्रमण रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिन्छ । अहिले यूकेमा २० जना पुष्टि भएका सङ्क्रमितहरू भएको स्वास्थ्यमन्त्री साजिद जाभिदले शुक्रवार बताएका थिए ।

मङ्कीपक्स भाइरस

के भन्छन् नेपाली अधिकारी

अहिलेसम्म नेपालमा यो सङ्क्रमण कसैमा सरेको शङ्का नभएको अधिकारीहरू बताउँछन् । परीक्षण नै नभएकाले पुष्टि पनि भएको छैन । यद्यपि अहिले मङ्कीपक्स फेला परेका देशबाट मानिसहरू आउजाउ गरिरहने भएकाले नेपालमा सतर्कका आवश्यकता भएको जनस्वास्थ्यविद्हरूको धारणा छ ।
नेपालमा मङ्कीपक्सबारे चासो देखिए पनि भौतिक रूपमै सतर्कता अपनाउनेबारे अहिलेसम्म कुनै कदम नचालिएको एक अधिकारीले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले नेपालले विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका पर्खिरहेको बताए ।
‘सरुवा रोगबारे सतर्कता अपनाउनुपर्ने भएमा विश्व स्वास्थ्य सङ्गठनले निर्देशिका जारी गर्ने गर्छ। अहिलेसम्म अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिका जारी भइसकेको छैन’ लालले भने । लालका अनुसार अहिलेसम्म दक्षिण अफ्रिकी देशहरूमा मात्र देखिएको यो सङ्क्रमणबारे नेपालका निकायहरूले पनि निगरानी गरिरहेका छन् । ‘अहिलेसम्म मानवबाट अर्को मानवमा सङ्क्रमण सर्ने पुष्टि भइसकेको छैन। तर कपडाहरूबाट सर्छ भनिएको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य निर्देशिकाको निगरानी सूचीमा पर्‍यो भने हाम्रोमा पनि सतर्कताका कदमहरू चालिन्छ’ उनले भने ।

बिफरको खोप

यूकेका अधिकारीहरूले आफूहरूले बिफरको खोप किनेर भण्डारण गरेको र मङ्कीपक्सको जोखिममा पर्न सक्ने मानिसहरूलाई वितरण गरिने बताएका छन् । स्पेनका अधिकारीहरूले पनि महामारीसँग लड्न बिफरका हजारौँ खोपहरू खरिद गरेको त्यहाँको एउटा अखबारले जनाएको छ।
अस्ट्रेलियामा फेला परेका प्रथम सङ्क्रमित यूकेको भ्रमण गरेर फर्किएका एक व्यक्ति भएको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । उत्तर अमेरिकामा अमेरिकी राज्य म्यासचूसिट्सका स्वास्थ्य अधिकारीहरूले क्यानडाको भ्रमणपछि एक जना व्यक्तिमा उक्त रोग देखिएको बताएका छन् ।
ती व्यक्तिको अवस्था ‘राम्रो रहेको’ र उनका कारण ‘सर्वसाधारणलाई कुनै जोखिम नरहेको’ अधिकारीहरूले बताएका छन् ।

मङ्कीपक्स कसतो रोग हो ? 

ज्वरो आउने, टाउको दुख्ने, सुजन हुने, ढाड दुख्ने, मांसपेशी दुख्ने जस्ता समस्या मङ्कीपक्सका लक्षण हुन्
नाइजिरिया भ्रमण गरेर यूके फर्किएका एक व्यक्तिमा सङ्क्रमण देखा परेपछि यूकेमा मङ्कीपक्स भएका अर्का बिरामी फेला परेको पुष्टि भएको छ । 

मङ्कीपक्स कति सामान्य ?

मङ्कीपक्स गराउने भाइरस बिफर भाइरसकै वर्गमा पर्छ । यद्यपि यो कम गम्भीर र कम सङ्क्रामक रहेको विज्ञहरूले बताएका छन् । यो रोग प्रायः मध्य र पश्चिम अफ्रिकी देशहरूका उष्णतटीय वर्षावननजिक रहेका दुर्गम भेगहरूमा पाइन्छ । त्यहाँ यो भाइरसका पश्चिम अफ्रिकी र मध्य अफ्रिकी गरी दुईवटा प्रकार छन् । यूकेमा फेला परेका दुईजना बिरामीहरू नाइजिरियाबाट आएका थिए। त्यसैले उनीहरू पश्चिम अफ्रिकी भाइरसबाट सङ्क्रमित भएको हुनसक्ने सम्भावना छ। त्यसले प्रायः मध्यम खालका असरहरू पार्छ । यद्यपि यो अझै पुष्टि भएको भने छैन ।
भर्खरै फेला परेका चार सङ्क्रमितमध्ये तीन जना लन्डनमा र एक जना उत्तरपूर्वी इङ्ग्ल्यान्डमा छन् । तर उनीहरूको एकअर्कासँग सम्बन्ध छैन र उनीहरू देशबाहिर अन्यत्र गएका पन छैनन्। उनीहरूलाई यूकेमै सङ्क्रमण भएको देखिन्छ ।
यूकेएचएसएका अनुसार आफूलाई यो भाइरस सर्न सक्छ भन्ने डर भएका व्यक्तिले स्वास्थ्यकर्मीसँग परामर्श लिन सक्छन् ।
सङ्क्रमणका प्रारम्भिक लक्षणमा ज्वरो आउनु, टाउको दुख्नु, जीउ सुन्निनु, ढाड दुख्नु, मांसपेशी दुख्नु र छटपटी हुनु पर्छन् । एक पटक ज्वरो आएपछि सुरुमा अनुहार हुँदै शरीरका अन्य भागहरू, प्रायः हत्केला र पैतालामा डाबर देखा पर्न सक्छ । त्यस्ता डाबरहरू अत्यन्तै चिलाउने हुनसक्छन्। डाबरमा पाप्रा लाग्नुअघि विभिन्न चरणमा परिवर्तन हुन्छ र पछि उप्किन्छ । सङ्क्रमणका कारण भएको घाउ १४ देखि २१ दिनसम्म रहन्छ र सामान्यतया आफैँ हराउँछ ।

सङ्क्रमण कसरी हुन्छ ?

सङ्क्रमित व्यक्तिको निकट सम्पर्कमा आउँदा मङ्कीपक्स सर्छ। फुटेको छाला, श्वासनली वा आँखा, नाक वा मुखबाट यो भाइरस शरीरमा प्रवेश गर्न सक्छ । यसलाई यौनबाट सर्ने सङ्क्रमणको रूपमा व्याख्या गरिएको छैन। तर शारीरिक सम्बन्धको क्रममा प्रत्यक्ष सम्पर्कमार्फत् पनि यो सर्न सक्छ । त्यस्तै बाँदर, मुसालगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि फैलिन सक्छ ।

भाइरसमा हुने कण।
यो कति खतरनाक छ ?

प्रायशः यस भाइरसले मध्यम खालका असरहरू गर्छ । कहिलेकाहीँ यसका प्रभावहरू ठेउला हुँदा जस्तै देखिन्छन् र केही सातामै निको हुन्छ । यद्यपि यो भाइरसको सङ्क्रमण कहिलेकाहीँ निकै गम्भीर हुनसक्छ र मङ्कीपक्सका कारण पश्चिम अफ्रिकामा बिरामको मृत्यु भएको समेत पुष्टि भएको छ ।  थुनेर राखिएको एउटा बाँदरमा यो भाइरस पहिलो पटक पहिचान गरिएको थियो । सन् १९७० देखि नै अफ्रिकाका १० वटा देशमा यो भाइरसका कारण प्रकोप निम्तिएको देखिएको छ । सन् २००३ मा अमेरिकामा यसको प्रकोप देखियो। मङ्कीपक्स अफ्रिकाबाहिर देखिएको त्यो पहिलो पटक थियो ।
त्यतिबेला देशमा आयातित विभिन्न साना स्तनधारी प्राणीबाट समथल भागमा पाइने कुकुरहरू सङ्क्रमित भएका थिए। कुकुरबाट मानिसलाई सङ्क्रमण सरेको थियो । कुल ८१ जनामा सङ्क्रमण देखिएको भए पनि कसैको उक्त भाइरसका कारण मृत्यु भएको थिएन । अभिलेखहरूका अनुसार सन् २०१७ मा नाइजिरियामा यसको सबैभन्दा ठूलो प्रकोप देखियो । त्यसअघि देशमा सङ्क्रमण पुष्टि भएको लगभग ४० वर्षपछि त्यहाँ नयाँ सङ्क्रमण देखिएको थियो । त्यहाँ १७२ जनामा मङ्कीपक्स देखिएको अनुमान थियो । तीमध्ये ७५ प्रतिशत सङ्क्रमितहरू २१ देखि ४० वर्ष उमेर समूहका पुरुष थिए ।

उपचार के हो ?

मङ्कीपक्सको अहिलेसम्म कुनै उपचार छैन । तर सङ्क्रमण रोकथाम र प्रकोप नियन्त्रण गर्न सकिन्छ । यो भाइरसको सङ्क्रमण रोक्नको निम्ति बिफरविरुद्धको खोप ८५ प्रतिशत प्रभावकारी साबित भएको छ र अझै पनि त्यसको प्रयोग गरिन्छ ।

सर्वसाधारणले डराउनुपर्छ ?

मङ्कीपक्स भएको बालक

विज्ञहरूले यूकेमा मङ्कीपक्सको देशव्यापी प्रकोपको जोखिम नरहेको बताएका छन् र पब्लिक हेल्थ इङ्ग्ल्यान्डले जनताका लागि जोखिम कम भएको जनाएको छ । नटिङ्गम विश्वविद्यालयका मलेक्यलर भाइरोलजीका प्राध्यापक जोनाथन बलले भने, ‘सुरुमा मङ्कीपक्सबाट सङ्क्रमित बिरामीसँग सम्पर्कमा आएका ५० जनामध्ये एक जना मात्र सङ्क्रमित भएको तथ्यले भाइरस कति सङ्क्रामक छ भन्ने देखाउँछ।’
उनका अनुसार यसले देशभरि प्रकोप आउन लागेको सङ्केत गर्दैन । पब्लिक हेल्थ इङ्ग्ल्यान्ड पीएचईमा न्याश्नल इन्फेक्शन सर्भिसका कार्यकारी निर्देशक डा. निक फिनले भने ‘मङ्कीपक्स मानिसमा सहजै सर्दैन र सर्वसाधारण मानिसमा हुने जोखिम निकै कम छ भन्ने कुरामा जोड दिनु महत्त्वपूर्ण छ।’ पीएचईले बिरामीसँग नजिकको सम्पर्कमा रहेका व्यक्तिलाई परामर्श दिन र उनीहरूलाई आवश्यकताअनुसार अनुगमन गरिरहेको छ ।–बीबीसी 

प्रकाशित मिति: आइतबार, जेठ ८, २०७९  १५:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार