सोसल मिडिया
Contact Us
युनिकोड
तनहुँ, १० जेठ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत शुक्लागण्डकी र भानु नगरपालिकाको उपप्रमुख पदमा दलित समुदायबाट विजयी भएका छन् । जिल्लाको १० पालिकामध्ये शुक्लागण्डकीमा खुमबहादुर विक र भानुमा उमा गोतमे सो पदमा निर्वाचित भएका छन् । विक नेकपा (माओवादी केन्द्र) र गोतमे नेपाली कांग्रेसबाट निर्वाचित भएको हो । यसैबीच जिल्लामा मतगणना सम्पन्न भइसके पनि अझै चार पालिकाले सम्बन्धित निकायमा मतपत्र बुझाएका छैनन् । देवघाट, घिरिङ, शुक्लागण्डकी र व्यास नगरपालिको मतपत्र नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ऋषिङ, आँबुखैरेनी, भानु, भिमाद, बन्दीपुर र म्याग्दे गाउँपालिकाले मतपत्र बुझाइसकेको जिल्ला निर्वाचन अधिकृत हरिप्रसाद ढकालले जानकारी दिए । मतगणनापश्चात छ महिनासम्म मतपत्र सुरक्षित राख्नुपर्ने हुन्छ । उनले भने, “उक्त अवधिभित्र मुद्दा नपरेपछि मात्रै व्यवस्थित गरिनेछ ।”
तनहुँका पालिका प्रमुखमा महिला शून्य, उपप्रमुखमा सात
तनहुँका १० पालिकाको प्रमुखमा महिला नेतृत्व शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट म्याग्दे गाउँपालिकाको अध्यक्षमा मायादेवी राना निर्वाचित भएर एक्लो पालिका प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन् । उनी यसपटकको निर्वाचनमा भने पराजित भइन् । नेपाली कांग्रेसबाट अघिल्लो स्थानीय तह निर्वाचनबाट विजयी भएर एक्लो महिला प्रमुखको जिम्मेवारी निर्वाह गरेकी राना यसपटक नेकपा (एमाले) का उम्मेदवार श्रीप्रसाद श्रेष्ठसँग पराजित भइन् । दश पालिकामध्ये म्याग्देमा मात्रै महिलाले प्रमुखमा उम्मेदवारी दिएका थिए । पालिकाको उपप्रमुख–उपाध्यक्षमा भने सात महिला निर्वाचित भएका छन् । काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र) ले गठबन्धन गरेका देवघाट गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाको उपप्रमुखमा पुरुष विजयी भएका छन् । घिरिङ, ऋषिङ,बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाको उपाध्यक्षमा क्रमशः राधादेवी अधिकारी, गिनुमाया थापा, पञ्चमाया गुरुङ र दुर्गा अर्याल निर्वाचित भएका छन् । यसैगरी भिमाद, भानु र व्यासनगरपालिकाको उपप्रमुखमा क्रमशः शारदा खनाल, उमा गोतामे, इन्दिरा दरैले विजय हासिल गरेकी छन् ।
दुई महिला वडाध्यक्षमा निर्वाचित
स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा दुई महिला वडाध्यक्षमा निर्वाचित भएका छन् । विभिन्न पालिकाका उम्मेदवारी दिएका छ महिलामध्ये दुई जनाले मात्रै विजय हासिल गरेका हुन् भने चार जना भने पराजित भएका थिए । भानु –१ को वडाध्यक्षमा कांग्रेसबाट कान्छीमाया तामाङ निर्वाचित भइन् । उनले ६७२ मत प्राप्त गरी विजयी भइन् । आँबुखैरेनी–४ मा कांग्रेसको तर्फबाट मिलन भुजेल ४३३ मत प्राप्त गरी विजयी भएका थिए । बन्दीपुर–४ मा सीता थापा र बन्दीपुर –५ मा रीता तिवारी कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बने पनि विजयी भएनन् । म्याग्दे–६ मा एमालेको तर्फबाट निर्मला वाग्ले वडाध्यक्षमा उम्मेदवार बने पनि उनी पराजित भइन् । शुक्लागण्डकी–८ को वडाध्यक्षमा कांग्रेसबाट चन्द्रकला भट्टराई उम्मेदवार बने पनि उनी पनि पराजित भइन् ।