सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ, १५ जेठ । चालु आर्थिक वर्षमा थप ४२ हजार ८५७ नागरिक आधारभूत खानेपानीको पुहँच पुगेका छन् । गत आवको सुरुमा ९३ दशमलव २१ प्रतिशत नागरिक खानेपानीको पहुँचमा पुगेका र हाल ९३ दशमवल ३५ प्रतिशतमा पुगेको सरकारद्वारा शनिबार सार्वजनिक भएको चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षणमा उल्लेख छ । हाल देशभरमा २४ दशमलव ८२ प्रतिशत नागरिकमा उच्च तथा मध्यमस्तरको खानेपानीको पहुँच पुगेको छ । गत आवको अन्त्यसम्ममा २४ दशमलव ६५ प्रतिशतमा उच्च तथा मध्यमस्तरको खानेपानीको पहुँच पुगेको थियो । गत फागुनसम्ममा विभिन्न खानेपानी तथा सरसफाइ कार्यक्रम र आयोजनाबाट ९२ हजार ५०५ जना खानेपानी तथा सरसफाइ सेवाबाट लाभन्वित भएका छन् । ‘एक घर एक शौचालय’को अवधारणाअनुसार शतप्रतिशत नागरिकमा खानेपानीको पहुँच पुगेको छ । हालसम्म ३८२ पालिकाका ११ हजार ४२५ खानेपानी प्रणालीको तथ्याङ्क सङ्कलन गरिएको छ । यसमा प्रणालीको संरचनागत अवस्था, खानेपानीको पहुँच नपुगेका समुदाय, सरसफाइको अवस्था, विद्यालयको खानेपानी तथा सरसफाइको अवस्थाको पहिचान भएको छ । खानेपानीसम्बन्धी विकास आयोजनाका आर्थिक, सामाजिक र प्राविधिक क्षेत्रमा दक्ष तथा अदक्ष गरी झण्डै २० हजारले रोजगारी पाएका छन् । मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत भइरहेको बताइएको छ । जलवायू अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गत गोर्खा–दरौदी, हर्रे–टुनिबोटे डुँडेखोला वृहत पम्पिङ तथा आङ्ना मौवा सम्पन्न भएर थप २५ हजार ९८९ व्यक्ति मध्यमस्तरको खानेपानीबाट लाभन्वित भएका छन् । खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत नारायणी सहलगानी खानेपानी आयोजना, नवलपुर तथा भरतपुर सहलगानी आयोजना, दाङ आयोजना सम्पन्न भएर थप १३ हजार ६१२ जनसङ्ख्यालाई उच्चस्तरको पानी उपलब्ध गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजनाअन्तर्गतका १० पोखरीमध्ये चालू आवमा बाँकी एउटा पनि सम्पन्न भएको छ । सो आयोजनामा ७७ किमी थोक वितरण प्रणाली सम्पन्न भएको छ भने एक हजार १० किमी वितरण सञ्जाल सुधारमध्ये एक हजार किमी सम्पन्न भएको छ । गुहेश्वरी ढल प्रशोधन केन्द्रबाट ३२ दशमलव चार मिलियन लिटर प्रतिदिन पानी प्रशोधित भएर बागमतीमा प्रवाह भइरहेको छ । वर्षात्को पानी सङ्कलन गर्ने कार्यक्रममा थप १६ स्थानमा वर्षात्को पानी सङ्कलन प्रविधि जडान भएर चार हजार आठ सय जनसङ्ख्या लाभन्वित भएको छ । चालू आवमा वाटर एटिएम थप छ स्थानमा जडान भएको तथ्याङ्क छ ।–रासस