ललितपुरमा महिला उद्यमीको सम्मेलन 

उद्यम गर्नेलाई महानगरले ऋण दिने 
मंगलबार, जेठ १७, २०७९

ललितपु्र  १७ जेठ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगरबाट तालिम लिएकाले अनिवार्य रुपमा उद्यम गर्नुपर्ने बताएका छन् । ललितपुर महानगर  र युएनडिपीले संयुक्त रुपमा आयोजना गरेको महिला उद्यमी सम्मेलनमा बोल्दै नवनिर्वाचित नगरप्रमुखले वित्तियसं घसंस्थासँग सहकार्य गरेर उद्यम गर्न ऋण उपलब्ध गराउने बताए । उनले भने, ‘ ब्याजदर न्यून हुन्छ, सम्पूर्ण भुक्तानी ५ वर्षभित्र गर्ने गरी व्यवस्था मिलाउँछौं । ’ आउँदो आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रममा महानगरवासीलाई उद्यमी बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताए । 
अब तालिम दिने विषयलाई भन्दा उद्यमी बनाउने विषयलाई प्राथमिकतामा राख्ने नगरप्रमुख महर्जनको भनाइ थियो । महानगरभित्र रहेका खुल्ला ठाउँमा साना तथा मझौला व्यवसायीले स्टल राखेर आफ्ना उत्पादनको प्रबद्र्धन गर्न उनले सुझाए । 

उपप्रमुख मंजली शाक्यले सांस्कृतिक सहर महानगरको परिचयलाई अब उद्यमीको नगर बनाउन तर्फ सबैले ध्यान केन्द्रित गर्नुपर्ने बताइन् । सम्मेलनले महिला उद्यमीको संभावना र समस्या दुबैको खोजी गर्नुपर्ने बताउँदै महानगरले यस सन्दर्भमा महत्वपूर्ण निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरिन् । महानगरलाई समृद्ध बनाउनका लागि अर्थतन्त्र महत्वपूर्ण आधार भएको बताउँदै सीप र उद्यमले नगरलाई समृद्ध बनाउने दाबी उनको थियो । 

नेपाल राष्ट्र बैंकका ईश्वरी प्रसाद भट्टराईले महिला उद्यमशीलता कर्जा अन्तर्गत ८७ अर्ब लगानी भएको बताए । उनका अनुसार उक्त रकम कुल कर्जाको ३४ प्रतिशत रहेको जानकारी दिए । महिला उद्यमशीलता कर्जा अन्तर्गत आवश्यक प्रक्रिया पुरा गरेपछि बैंकले १५ लाख दिने उने बताए ।
युएनडिपीकी नेपाल प्रतिनिधि आशानिया मेडागानगोडाले उद्यमशीलताभित्र पनि फरक क्षेत्रमा लाग्न चाहनेलाई प्राथमिकता दिनुपर्ने बताइन् । उद्यम गर्न चाहनेलाई उपलब्ध गराइने कर्जाको सन्दर्भ दिइने सूचना महत्वपूर्ण हुने उनले बताइन् । 

सम्मेलनमा पाँच सय महिला उद्यमीको सहभागिता थियो । उक्त सम्मेलनमा महिला उद्यमीहरुले आफ्नो उत्पादनको स्टल राखेका थिए । महिला विकास महाशाखा प्रमुख महेश्वरी विष्टले महिला उद्यमीको समस्या, उनीहरुले प्राप्त गर्ने अवसर र संभाव्यता खोजीका लागि यो सम्मेलन आयोजना गरिएको बताइन् ।

प्रकाशित मिति: मंगलबार, जेठ १७, २०७९  १९:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार