म्याग्दीका पालिकालाई दुई अर्ब ११ करोड अनुदान  

बुधबार, जेठ १८, २०७९
मयुर प्लाई
Global Ime Bank

म्याग्दी, १८ जेठ । सङ्घीय सरकारले म्याग्दीका स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०७९÷८० का लागि कूल रु दुई अर्ब ११ करोड ६१ लाख विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गर्नुभएको बजेट वक्तव्यको विवरणमा म्याग्दीको बेनी नगरपालिका र पाँच गाउँपालिकालाई समानीकरण, सशर्त, विशेष र समपूरक अनुदान शीर्षकमा सो बजेट विनियोजन गरिएको उल्लेख छ ।
बेनी नगरपालिकाले रु ५१ करोड ४२ लाख, अन्नपूर्ण गाउँपालिकाले रु ३३ करोड ८३ लाख र धवलागिरि गाउँपालिकाले रु २७ करोड ६७ लाख अनुदान पाउने भएका छन् । यसैगरी मङ्गला गाउँपालिकाले रु ३१ करोड २९ लाख, मालिका गाउँपालिकाले रु ३५ करोड दुई लाख र रघुगङ्गा गाउँपालिकाले रु ३२ करोड ३८ लाख अनुदान पाउने भएका छन् ।
सङ्घीय सरकारले म्याग्दीमा आर्थिक वर्ष २०७८÷७९ का लागि रु दुई अर्ब ६९ लाख र २०७७÷७८ मा रु एक अर्ब ७७ करोड विनियोजन गरेको थियो । सङ्घ र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन बाँकी अनुमानित बजेटलाई आधार मानेर स्थानीय तहले आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम र बजेट बाँडफाँटको प्रक्रिया थालेका छन् ।

धवलागिरिले चिकिसत्सक र इञ्जीनियर पढाउने 
म्याग्दीको धवलागिरि गाउँपालिकाले छात्रवृत्तिको व्यवस्था गरेर चिकित्सक र इञ्जीनियर पढाउने भएको छ । मुनामा गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षमा मङ्गलबार बसेको कार्यपालिकाको पहिलो बैठकले सो निर्णय गरेको हो । 
उत्कृष्ट एक–एक विद्यार्थीलाई चिकित्सर इञ्जीनियर बन्न अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले जानकारी दिनुभयो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गाउँपालिकामा चिकित्सक, इञ्जिनियरलगायत प्राविधिक जनशक्तिको कमी भएकाले ती विषय अध्ययनका लागि कार्यबिधी बनाउने र बजेट व्यवस्थापन गर्ने निर्णय गरेका हुन् ।

बागलुङका स्थानीय तहलाई चार ३४ करोड ८१ लाख अनुदान

जिल्लाका १० स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो ।
सबैभन्दा बढी बागलुङ नगरपालिकालाई रु ८५ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । गलकोट नगरपालिकालाई रु ५१ करोड एक लाख, जैमिनी नगरपालिकालाई रु ५२ करोड २४ लाख र ढोरपाटन नगरपालिकालाई रु ३७ करोड एक लाख बजेट विनियोजन भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।
यस्तै बडिगाड गाउँपालिकालाई रु ४८ करोड चार लाख, काठेखोलालाई रु ३९ करोड ७६ लाख, निसीखोलालाई रु ३३ करोड १२ लाख, बरेङलाई रु ३० करोड पाँच लाख, ताराखोलालाई रु २६ करोड ४३ लाख र तमानखोला गाउँपालिकालाई रु २१ करोड ९० लाख बजेट विनियोजन गरिएको छ । सङ्घीय सरकारले सशर्त, विशेष अनुदान, सपपूरक अनुदान, राजश्व बाँडफाँटलगायतशीर्षकमा स्थानीय तहलाई अनुदान दिने गरेको छ ।

प्रदेश सरकारले दिने अनुदान, सङ्घीय अनुदान र स्थानीय स्रोतसमेत समावेश गरेर स्थानीय तहले बजेट बनाउने गरेका छन् । सङ्घीय सरकारको बजेट आएसँगै बागलुङका स्थानीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट बनाउने काम थालेका छन् । समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि काम भइरहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । 

 

प्रकाशित मिति: बुधबार, जेठ १८, २०७९  ११:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार