सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर, १८ जेठ । ललितपुर महानगरको नगरकार्यपालिकाका सदस्यले शपथ लिएसँगै काम सुरु गरेका छन् । जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयमा सोमबार भएको निर्वाचनबाट चुनिएका सदस्यले शपथ लिएसँग काम सुरु गरेका थिए । निर्वाचित नगर कार्यपालिकाका सदस्यहरुलाई मंगलबार नगर प्रमुख चिरीबाबु महर्जनले शपथ गराएका हुन् । नगरपालिकाको कार्यपालिका बैठकमा कांग्रेसबाट १७, एमालेबाट १२, माओवादी केन्द्रबाट ५, एकीकृत समाजवादीबाट ३ र स्वतन्त्रबाट २ जना सहभागी हुनेछन् । नगर कार्यपालिका निर्वाचनबाट ८ सदस्य चुनिएसँगै कार्यपालिका संयन्त्रले पनि पूर्णता पाएको छ । स्वतन्त्रबाट निर्वाचित २ जना वडाअध्यक्षसहित तीन वटै दलबाट निर्वाचित जनप्रतिनिधिले गठबन्धनको मर्मअनुरूप मतदान गरेका थिए । संविधानमा व्यवस्था भए अनुसार नगरको कार्यकारिणी अधिकार कार्यपालिकामा निहित रहेको छ। महानगरको निर्वाचनको अन्तिम मतपरिणाम जेठ ११ गते बुधबार घोषणा गरिएको थियो । गत वैशाख ३० गते शुक्रबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट मेयर र ११ वडाअध्यक्षसहित ५६ जना, एमालेबाट उपमेयर र ११ वडाअध्यक्ष सहित ५६, माओवादी केन्द्रबाट ३ वडाअध्यक्षसहित ९, स्वतन्त्रबाट २ वडाअध्यक्ष र राप्रपाबाट २ जना सदस्य निर्वाचित भएका थिए । नगरप्रमुख,उपप्रमुख र वडाअध्यक्षहरू स्वतः कार्यपालिकाको सदस्य रहनेमा आठ जना निर्वाचनको माध्यमबाट पूर्ति गर्नुपर्ने प्रावधान छ । संविधानतः निर्वाचित जनप्रतिनिधिद्वारा नगर कार्यपालिका सदस्यमा महिला पाँच जना र दलित र अल्पसंख्यकबाट ३ जना निर्वाचनद्धारा चुन्नुपर्ने व्यवस्था छ । स्थानीय तह निर्वाचनको मतपरिणाम आएको १५ दिनभित्र कार्यपालिकाको निर्वाचन गराउनु व्यवस्था अनुरुप यो भएको हो । मुख्य निर्वाचन अधिकृत किरणप्रसाद शिवाकोटीका अनुसार नेपाली कांग्रेसबाट निर्वाचित हुने कार्यपालिका सदस्यमा वडा नं. ६ का उमा श्रेष्ठ (बज्राचार्य), वडा नं. ९ का सानु महर्जन (अवाले), वडा नं। १० का लक्ष्मी शर्मा (दाहाल) र वडा नं. १६ का बबिता श्रेष्ठ छन् । नेकपा माओवादी केन्द्रबाट २८ कार्यपालिका सदस्य शरणलक्ष्मी महर्जन निर्वाचित भएकी छिन् । दलित तथा अल्पसंख्यकमा कांग्रेसबाट विकासकुमार रोक्का, माओवादी केन्द्रबाट रामशरण सार्की पहेली र एकीकृत समाजवादीबाट सानुकाजी तोलाङे रहेका छन् । कुल मतदाता १ सय ३७ जना जनप्रतिनिधिहरू रहेकोमा निर्वाचित हुन कम्तीमा ६९ मत ल्याउनुपर्ने थियो । नेकपा (एमाले)बाट दलित तथा अल्पसंख्यकमा कृष्णकुमार नेपाली, नातीबाबु सूचिकार र मेनका च्यामेले उम्मेदवारी दिएकी थिइन् भने महिलामा आपुलु शाक्य, रुकमणी महर्जन, संगीता अछामी, सुकुमाया लामा र सुलोचना महर्जनले उम्मेदवारी दिएका थिए ।