सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारद्वारा आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९-०८० को बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम अत्यन्तै राम्रो भएको सुझाव दिएका छन् । प्रतिनिधिभसभाको आजको बैठकमा बजेट माथिको सैद्धान्ति छलफलमा भाग लिँदै उनले करमा छुटेका कुरालाई समेत एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिए। “बजेट कार्यान्वयन हुनुपर्छ, राम्रो कार्यक्रम छ”, उनले भने, “तर अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई बोलाएर बजेट कार्यान्वयनको विषयमा छलफल गर्न जरुरी छ, व्यापार घाटा घटाउने विषयमा सही नीति ल्याएको छ ।” सांसद थापाले मन्त्रालयहरूले आफ्नो प्राथमिकता बताएअनुसार बजेट आएको र सामाजिक सुरक्षाका कुरा स्वागतयोग्य भएको बताए । “सामाजिक सुरक्षाका विषय स्वागतयोग्य छन्”, उनले भने, “प्रत्येक सरकारले सामाजिक सुरक्षाका विषय थप्दै जाँदा दायित्व पनि बढ्दै जान्छ, यस कुरालाई ध्यान दिनुपर्छ ।” उनले बजेटका स्रोतहरूमा पारदर्शिता कुरामा स्पष्ट हुनुपर्ने र बजेट भनेको भाग्यको चिठ्ठाजस्तो हुन नहुने सुझाव दिए। उनले भने, “कृषिको आत्मनिर्भर बनाउने कुरा अत्यन्तै राम्रो छ, यसमा अर्थ मन्त्रालयले नै ध्यान दिएर काम गर्नुपर्छ ।” उनले प्रदेश र स्थानीय तहको बजेट आउँदै भए पनि अहिलेसम्म त्यसबारे छलफल नभएको बताउनुभयो ।
‘बजेटले राजनीतिक र आर्थिक सङ्कट ल्यायो’
प्रतिनिधिसभाको आज तेस्रो दिन पनि सरकारले आर्थिक वर्ष २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल भइरहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा बजेटको सैद्धान्तिक विषयमा सामान्य छलफल गरिने र विस्तृतरूपमा मन्त्रालयगत छलफल पछि हुने जानकारी गराए। बजेटमाथिको छलफलमा सांसद प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकारले राजनीतिक अस्थिरता र आर्थिक अस्थितरता दुवै ल्याएर थप सङ्कट ल्याएको र आफूले त्यस्तो अपेक्षा नगरेको बताए। उनले वर्तमान विश्वमा आर्थिक सङ्कट पैदा भइरहेको अवस्थामा प्रतिकूलतालाई विचार गरेर बजेट ल्याउनुपर्नेमा अर्थमन्त्रीले सो कुरालाई ध्यान नदिएको धारणा राखे । सांसद ज्ञवालीले बजेट देशभित्र विकास बाधक र कतिपय अवस्थामा संवेदनशीलसमेत देखिएको बताए । सांसद ज्ञवालीले बजेट कार्यान्वयन हुने खालको नभएको उल्लेख गर्दै भने, “बजेट ठूलो आकारको छ, यो चुवानी वर्ष हो, चुनाव गर्ने छलफलमा तपाईँहरु आफैं आयात घटाउँछु भन्नुहुन्छ, राजस्व बढाउँछु भन्नुहुन्छ, तर हाम्रो सबैभन्दा ठूलो राजस्व नै आयातबाट छ ।” बजेटबारे छलफल जारी रहेको छ ।