सोसल मिडिया
Contact Us
युनिकोड
वीरगञ्ज । बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ । विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो । सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिए । नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधामात्रै उडान हुने उनले बताए । वर्षाैंदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मतसम्भार गर्न लागिएको हो । दैनिक उडानको समय कटौती गरी मर्मतको काम अघि बढाइएको हो । सप्तकोसी निर्माण सेवा कम्पनीले उक्त मर्मतसम्भारको ठेक्का लिएको छ ।
हेलिकोप्टरमा दुई पाइलट राख्न समस्या हुनसक्ने
नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न समस्या उत्पन्न हुनसक्ने जनाएको छ । प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घको यो धारणा आएकोहो । हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ । नौ सिट क्षमताभन्दा माथिका हेलिकोप्टरमा दुई पाइलट राख्न समस्या नरहे पनि सबै हेलिकोप्टरमा दुई पाइलट राख्दा जनशक्तिको समेत अभाव हुनसक्ने सङ्घको भनाइ छ । हाल नेपालमा सञ्चालन भइरहेका ११ हेलिकोप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकोप्टरले व्यावसायिक उडान भर्दै आएका छन् । दश विदेशी र २६ नेपाली पाइलटले एक इन्जिन भएका हेलिकोप्टर उडाउँदै आएको बताइएको छ ।