सर्वोच्च शिखरको चुचुरोनजिक मौसम मापन उपकरण राख्न नेपाल र चीन क्षेत्रमा ‘प्रतिस्पर्धा’

शुक्रबार, जेठ २०, २०७९

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाल र चीन दुवैतर्फ मौसमबारे तथ्याङ्क सङ्कलन गर्ने उपकरणहरू जडान गरिएका विवरण आएपछि एक नेपाली अधिकारीले यस्ता प्रयासमा क्षेत्रीय साझेदारी हुनुपर्ने बताएका छन् । जल तथा मौसम विज्ञानका महानिर्देशक कमलराम जोशीले चीन र अन्य देशहरूसँग मिलेर मौसम मापन उपकरणहरू सगरमाथामा जडान गर्नुपर्ने धारणा नेपालले राखेको बताएका हुन् । केही दिनअघि अमेरिकाको नेशनल जीओग्राफिक सोसाइटीसहित दुईवटा नेपाली निकायले मिलेर अघि बढाएको अभियानअन्तर्गत सगरमाथामा ८,८०० मिटरभन्दा माथि उपकरण स्थापना गरिएको विवरणहरू आएका थिए ।
मे महिनाको सुरुमा चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्समा चिनियाँ वैज्ञानिक पर्वतारोहण दल ८,००० मिटरमा यस्तै उपकरण जडान गर्न सफल भएको समाचार प्रकाशित गरेको थियो ।
महानिर्देशक जोशीका अनुसार नेपालको दलले ठ्याक्कै कुन उचाइमा उपकरण राखेको हो भन्नेबारे निर्क्योल गर्न बाँकी नै छ ।
जोशीले भने, ‘हामी छलफलमा नै छौँ। यसअघि हामीले करिब ८,४०० मिटर उचाइमा रहेको बाल्कोनी भनिने स्थानमा त्यस्ता उपकरण राखेका थियौँ ।’

‘अहिले ८,८०० मिटरभन्दा माथिको उचाइमा राखिएको जानकारी आएको छ। सम्भवतः अर्को हप्तासम्म हामी यसबारे ठोस जानकारी दिन सक्छौँ’, उनले भने । 
न्याटजीओ र जल तथा विभागले संयुक्त रूपमा ती उपकरण जडान गरिएका उचाइबारे घोषणा गर्ने बताइएको छ। तर ‘विशप रक’ भनिने ८,८१० मिटरमा अवस्थित स्थानमा ती उपकरण जडान गरिएको बताइएको छ ।
जलवायु वैज्ञानिक तथा अमेरिकाको अपलाचन स्टेट यूनिभर्सिटीअन्तर्गत रहेको डिपार्टमन्ट अफ जीओग्राफी एन्ड प्लानिङका प्राध्यापक डा। बेकर पेरी, जलवायु वैज्ञानिक टम म्याथ्यूज र नेपाली वैज्ञानिक अरविन्द्र खड्का सहितको टोली अभियानमा संलग्न थियो ।
विभागका तीन जना र त्रिभुवन विश्वविद्यालयका अर्का एक सदस्यले उक्त टोलीलाई सहयोग गरेका थिए ।

चीनको एकल प्रयास
यसअघि तिब्बती मोहडाबाट सगरमाथाको आरोहण गरेका १३ सदस्यीय चिनियाँ टोलीले ८,८०० मिटरमा मौसमसम्बन्धी उपकरणहरू जडान गरेको थियो । ग्लोबल टाइम्सले त्यसलाई हालसम्मकै सर्वाधिक उचाइमा अवस्थित मौसम मापन यन्त्रहरू भएको उल्लेख गरेको थियो ।
उसको विवरण अनुसार अहिले चीनसँग सगरमाथाको आफ्नो क्षेत्रमा ५,२०० मिटरदेखि ८,८०० मिटरको उचाइमा आठ वटा मौसम स्टेशनहरू छन् ।
तर त्यसबारे आफूहरूलाई आधिकारिक रूपमा कुनै जानकारी नभएको नेपाली अधिकारीहरू बताउँछन् ।
महानिर्देशक जोशी भन्छन्, ‘हामीले क्षेत्रीय रूपमा नै यस्ता प्रयासहरू अघि बढाइनुपर्छ भन्दै आएका छौँ ।’
‘अहिले नेपालतर्फ सगरमाथामा पाँच वटा स्टेसनहरू छन्। चीनले आफ्नो तर्फमा आठ वटा राखिएको बताएको छ। त्यति स्टेसनहरू त्यहाँ चाहिन्छन् कि चाहिँदैनन् ? हामी सबै मिलेर गरेको भए खर्च पनि कम लाग्ने थियो ।’
उनले थपे, ‘हाम्रो प्रयास तीनै पक्ष मिलेर यस्ता कामहरू अघि बढाऔँ भन्ने छ। उहाँहरूका तर्फबाट गरिएका प्रयासबारे हामीलाई जानकारी छैन ।’

उपकरण जडान गर्न कति समय
नेपालतर्फ सन् २०१९ मा ८,४३० मिटरमा, ७,९४५ मिटरमा, ६,४६४ मिटरमा, ५,३१५ मिटरमा र ३,८१० मिटरमा रहेको फोर्त्से क्षेत्रमा स्वचालित मौसम मापन उपकरण जडान गरिएका जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हिम सर्भे तथा हिमताल महाशाखाका प्रमुख एवं वरिष्ठ हाइड्रोलोजिस्ट सुवास तुलाधरले बताए ।
उनले भने, ‘त्यहाँ रहेको सबैभन्दा माथिको उपकरण हावाले गर्दा उडायो। त्यो छ महिनामात्रै त्यहाँ रह्यो ।’
‘अर्को साउथ कोलबाट पनि तथ्याङ्कहरू प्राप्त भइरहेको थिएन। अहिले आरोहण गरेको टोलीले त्यसलाई मर्मत पनि गरेको छ’ उनले भने । तुलाधरले यसपालि चुचुरोनजिकै जडान गरिएका उपकरण बलियो भएको बताए ।
उनले भने, ‘तापक्रमसम्बन्धी सेन्सर, आर्द्रता र सौर्य विकिरणसम्बन्धी तथ्याङ्क लिने गरिन्छ। ती चरम मौसमको सामना गर्ने सामर्थ्य भएको अमेरिकी उपकरणहरू हुन्।’
उनले यसअघि हावाले उडाएको विषयलाई ध्यान दिँदै बलियो खालका ‘सेन्सर र सपोर्ट स्ट्यान्ड’हरू जडान गरिएको बताए ।
अभियानमा सहभागी तुलाधर भन्छन्, ‘पेचहरू र तारहरू कसेर लगभग १० मिनेटभित्रै ती सामग्रीहरू जोड्न सकिने बनाइएको थियो । त्यही भएर धेरै समय लागेन ।’
ती उपकरणको प्रयोगका लागि नेपालको तर्फबाट जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेन्ट्रल डिपार्टमेन्ट अफ हाइड्रोलोजी र मेट्रोलोजीले पनि हस्ताक्षर गरेका छन् ।
समझदारीमा प्राप्त तथ्याङ्कहरूले विश्लेषण गरी संयुक्त रूपमा प्रकाशनहरू गर्ने, उपकरणहरूको मर्मत र क्षमता अभिवृद्धिमा सघाउने प्रतिबद्धता जनाइएका छन् ।
सन् २०२६ को डिसेम्बरपछि ती पूर्वाधार नेपाल सरकारको नै हुने भनिएको बताइन्छ ।

उपकरण राख्दा के फाइदा
अत्याधुनिक उपकरणको जडानबाट हिमालय क्षेत्रको मौसमसम्बन्धी जानकारी हासिल गर्न सघाउ पुग्ने ठानिएको छ ।
महानिर्देशक जोशीले भने, ‘यसबाट खासगरी जलवायु परिवर्तनका असरहरू थप बुझ्न मद्दत पुग्छ।’

‘विगतमा कसैले पनि हिमालय क्षेत्रको मौसमबारे यति उचाइमा उपकरणहरू राखेर जानकारी सङ्कलन गरेको थिएन। अब हामी विज्ञानमा आधारित विश्लेषण गरी प्रमाणिक अनुसन्धानहरू गर्न सक्छौँ र परिणामहरू दिन सक्छौँ ।’
उनका अनुसार ती उपकरणका तथ्याङ्क न्याटजिओको अमेरिकास्थित कार्यालय र नेपालको जल तथा मौसम विज्ञान विभागमा तत्काल हेर्न सकिन्छ ।
विभागकी सिनियर डिभिजनल मेट्रोलोजिष्ट इन्दिरा कँडेलका अनुसार विभिन्न किसिमका मौसमसम्बन्धी जानकारीहरूको सङ्कलन तथा जलवायु परिवर्तनका असरबारे अध्ययन गर्न ती उपकरण सहयोगी हुन्छन् ।
कँडेलले भनिन्, ‘हामीलाई वायुमण्डलको माथिल्लो तहको तथ्याङ्कहरू चाहिन्छ। आठ किलोमिटर वा त्योभन्दा माथि सम्मको हामीलाई वास्तविक समयको तथ्याङ्क आउन सक्यो भने मौसम पूर्वानुमानका लागि एकदमै राम्रो हुन्छ।’ 
नयाँ स्वचालित मौसम केन्द्रले जलवायु विश्लेषण थप भरपर्दो
विश्वको सर्वोच्च शिखर सगरमाथामा नयाँ स्वचालित मौसम मापन केन्द्र जडान गरेसँगै त्यहाँको तापक्रम, आद्रता, वायुमण्डलको चाप तथा हावाको चाप तथा गतिको तथ्याङ्क सङ्कलन र तत्कालीन समय सहजरुपमा सम्प्रेषण भइरहेको छ ।
सगरमाथाको नेपालतर्फको भागमा आठ हजार ८१० मिटर उचाइमा अवस्थित ‘बिसप रक’ मा नयाँ स्वचालित मौसम मापन केन्द्र जडान कार्य गत वैशाख २६ गते सम्पन्न भएको थियो । जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, त्रिभुवन विश्वविद्यालय र संयुक्त राज्य अमेरिकाको राष्ट्रिय भौगोलिक समाज ९एनएसजी०को सहकार्यमा सो केन्द्र जडान गरिएको हो ।
यसअघि सन् दुई हजार १९ मा सगरमाथा क्षेत्रमा विभिन्न उचाइमा रहेका पाँच स्थान ९फोन्र्से– तीन हजार ८१० मि, सगरमाथा बेस क्याम्प– पाँच हजार ३१५ मि, साउथ कोल–सात हजार ९४५ मि र बाल्कोनी–आठ हजार ४३० मि० मा स्वचालित केन्द्र जडान गरिएको थियो ।
यसैको निरन्तरतास्वरुप सन् २०२६ सम्म निरन्तर मर्मतसम्भार र तथ्याङ्क सङ्कलन कार्यका लागि नेपाल सरकार, त्रिवि र एनएसजीसँग भएको सम्झौताअन्तर्गत ‘रिटर्न टु एभरेष्ट’ अभियानद्वारा चार केन्द्रको मर्मतसम्भार र बाल्कोनी केन्द्रलाई ‘बिसप रक’मा स्थानान्तरण गरिएको हो ।  
ती केन्द्रको सञ्जालबाट नियमितरुपमा ती स्थानको तापक्रम, आद्रता, वायुमण्डलको चाप तथा हावाको चाप तथा गतिको तथ्याङ्क सङ्कलन र तत्कालीन समय सहज रुपमा सम्प्रेषण भइरहेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले जानकारी दिए ।
अमेरिकाको अप्लाचेन स्टेट विश्वविद्यालयका डा बेकर पेरीले नेतृत्व गर्नुभएको यो अभियान सम्पन्न गर्न शेर्पा समुदायको उल्लेखनीय सहयोग रहेको उनले बताए। शेर्पाहरुको स्थानीय भूगोल, जलवायु र पर्वतारोहणसम्बन्धी विशिष्ट ज्ञान तथा लामो अनुभवले ती केन्द्रहरुको नियमित मर्मतसम्भार र विषम भूगोलमा नयाँ केन्द्र स्थापनाका लागि योगदान पुगेको छ । तेन्जिङ ग्याल्जेन शेर्पाको नेतृत्वमा १२ जना क्लाइम्बिङ शेर्पा, नेपाली जलवायु वैज्ञानिक अरबिन्द्र खड्का र एनजिएस अन्वेषक टम म्याथ्युजले ‘बिसप रक’ मा केन्द्र स्थापना कार्य सम्पन्न गरेका छन् । 
यस नविन कार्यले सन् २०१९ मा सुरु गरिएको सगरमाथा क्षेत्रको सबैभन्दा महत्वाकाङ्क्षी वैज्ञानिक कार्यमा अर्को कोसेढुङ्गा थपिएको यस क्षेत्रका जानकारको भनाइ छ । आगामी दिनमा ती केन्द्रको नियमित सञ्चालन र मर्मतसम्भार तथा प्राप्त तथ्याङ्कबाट सगरमाथा क्षेत्रको जलवायु विश्लेषण र थप भरपर्दो मौसम पूर्वानुमान सम्प्रेषण यस सहकार्यको मुख्य प्राथमिकता रहेको महानिर्देशक जोशीले बताए ।
अभियान टोलीका सदस्यमा एनजिएसका अन्वेषक डा पेरी र म्याथ्युज, पर्वातारोहण पिटर एथेन्स र दावा याङेजुम शेर्पा, नेपाल जलवायु वैज्ञानिक खड्का, तेन्जिङ ग्याल्जेन शेर्पाको नेतृत्वमा रहेको क्लाइम्बिङ शेर्पा थिए । क्लाइम्बिङ शेर्पाहरुमा तेन्जिङ ग्लाल्जेन शेर्पा (सरदार), फू टाशी शेर्पा, ल्हाक्पा छिरिङ शेर्पा, इला नुरु शेर्पा, कामी तेम्बा शेर्पा, ल्हाक्पा नुरु शेर्पा, ङिमा नुर्बु शेर्पा, निमा छिरि शेर्पा, निमा कान्छा शेर्पा, पासाङ कामी शेर्पा, कान्छा नुरु शेर्पा, ङिमा नाम्ग्याल शेर्पा र मिङग्मा नुरु शेर्पा रहनुभएको विभागले जनाएको छ ।
साथै बेस क्याम्पसम्म केन्द्र मर्मत कार्यका लागि त्रिविको केन्द्रीय जल तथा मौसम विज्ञान विभागबाट सदस्य डा दिवस श्रेष्ठ, विभागबाट सुवास तुलाधर, निरजशङ्कर प्रधानाङ्ग र निराकार थापा सहभागी थिए । 
यसैगरी नेपाल सरकारले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असरको वैज्ञानिक अध्ययन अनुसन्धान गर्न हाल सञ्चालित नौ हिम केन्द्रलाई पूर्ण स्वचालित रियल टाइम प्रणालीमा स्तरोन्नति गर्ने भएको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असरको वैज्ञानिक अध्ययन अनुसन्धान गर्नका साथै हिम मौसमी प्रणालीको निरन्तर अनुगमन गर्न हिम केन्द्रलाई स्तरोन्नति गर्न लागिएको विभागले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  १९:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार