सोसल मिडिया
Contact Us
युनिकोड
वासिङ्टन । संयुक्तराज्य अमेरिकाले सोमबार म्यान्मामा लोकतान्त्रिक सरकार पुनःवहाली नहुँदासम्म उसँगको व्यापार सम्झौता स्थगित गरेको छ । गत फेब्रुअरी १ मा म्यान्माको सेनाले सत्ताविद्रोह गरी शासनसत्ता आफ्नो हातमा लिनुका साथै लोकतन्त्र पक्षधर प्रदर्शनकारीमाथि निर्ममतापूर्वक बल प्रयोग गरेको छ । सेनाले निर्वाचित सरकारलाई विस्थापित गरेको छ भने नेतृ आङसान सूची र अन्य नेतालाई नजरबन्दमा राखेको छ । अमेरिकी व्यापार प्रतिनिधि केथेरिन ताईले जारी गरेको विज्ञप्तिमा संयुक्तराज्य अमेरिकाले लोकतान्त्रिक विधिबाट निर्वाचित सरकारको तत्काल पुनर्वहाली भएको हेर्न चाहन्छ भनिएको छ । संयुक्तराज्य अमेरिका बर्मेली सेनाले निहत्था नागरिकमाथि गरिरहेको हिंस्रक आक्रमणप्रति कडा शब्दमा निन्दा एवं भत्र्सना गर्दै विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण प्रदर्शनकारी, विद्यार्थी, कामदार, श्रमिक नेता, स्वास्थ्यकर्मी, र बालबालिकाको हत्याले अन्तरराष्ट्रिय समुदायलाई हतप्रभ बनाएको छ ।’ साथै विज्ञप्तिमा संयुक्तराज्य अमेरिकाले म्यान्मारसँग सन् २०१३ मा गरेको व्यापार तथा लगानी संरचना सम्झौतालाई तत्काल निलम्बन गरेको उल्लेख छ । उक्त सम्झौता बमोजिम दुई मुलुकले म्यान्मारको अर्थतन्त्रलाई विश्व व्यापारसँग एकीकृत गर्ने प्रयास स्वरुप व्यापार र लगानीका विषयमा सहकार्य हुँदै आएको छ । म्यान्मारको सेनाले लोकतान्त्रिक शासन व्यवस्थालाई समर्थन जनाएपछि उक्त सम्झौता गरिएको थियो । अमेरिकी व्यापार प्रतिनिधि ताईको सोमबारको घोषणाबाट दुई मुलुकबीचको व्यापार भने तत्काल रोकिने छैन । यही कारण संयुक्तराज्य अमेरिकाले म्यान्मारमाथि अलग्गै प्रतिबन्ध लगाउँदैछ । उदाहरणका लागि, संयुक्तराज्य अमेरिका र बेलायतले म्यान्मारको सेनाको नियन्त्रणमा रहेका दुई ठूला व्यापारिक कम्पनी म्यान्मार इकोनोमिक होल्डिङ्स लिमिटेड र म्यान्मार इकोनोमिक कर्पोरेसनमाथि प्रतिबन्ध लगाइसकेका छन् । ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले म्यान्मारको निर्यात व्यापारमा नियन्त्रण गर्न थालिएको र केही बर्मेली व्यवसायलाई कालोसूचीमा राखिएको जानकारी दिएकी छन् । म्यान्मा र संयुक्तराज्य अमेरिकाबीचको व्यापार त्यति ठूलो छैन । गत वर्ष अमेरिकाले म्यान्मारतर्फ करिब ३३ करोड ८० लाख डलरको सामग्री निर्यात गरेको थियो भने करिब एक अर्ब डलर बराबरको आयात गरेको थियो । अमेरिका र अन्य विकसित मुलुक म्यान्माका तयारी पोशाकका प्रमुख खरिदकर्ता रहेका छन् । यी कारखाना अधिकांश विदेशीले खोलेका छन् । यी कारखानाले गरिबीको चपेटामा परेको म्यान्मामा लाखौंलाई रोजगारी उपलब्ध गराएका थिए ।–एपी