सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । पूँजी बजारको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न सरकारले समिति गठन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डको ३०औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बजारको समस्या समाधानका लागि समिति गठन गर्न लागिएको जानकारी दिएका हुन् । “पूँजीबजारमा देखिएका विविध समस्याहरूलाई समाधान गर्न र सुझाव प्रस्तुत गर्नका लागि अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंकका गर्भनर, धितोपत्र बोर्डका अध्यक्षलगायत बसेर आजै मात्रै चार सदस्यीय सुझाव समिति गठन गरेका छौँ,” उनले भने । मन्त्रालयमा आज भएको छलफलपछि धितोपत्र बोर्डको कार्यकारी निर्देशक संयोजक रहने गरी अर्थ मन्त्रालय र राष्ट्र बैंक एक–एक प्रतिनिधि तथा धितोबोर्ड बोर्डको एक प्रतिनिधि सदस्यसचिव रहने गरी समिति बनाइएको हो । अध्ययन समितिले सरोकारवाला पक्ष सबैसँग छलफल गरेर तयार गरेको प्रतिवेदनले मौद्रिक नीति निर्माणमा सघाउ पुग्ने तथा पूँजी बजारमा देखिएको समस्या हल हुने अपेक्षा राखिएको छ । अर्थमन्त्री शर्माले पूँजीबजारलाई सुदृढ र बलियो बनाउन आगामी आर्थिक वर्ष २०७९र८० को बजेटमा प्राथमिकता दिएर सम्बोधन गरेको स्मरण गराउनुभयो । आगामी आवको बजेट वक्तव्यको बुँदा नम्बर ३२९, ३३०, ३३१ र ३३२ नम्बर बुँदामा धितोपत्र सुधार, नियमन र सुपरिवेक्षणका बिषयहरु उल्लेख छन् । धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीलाई लगानी खुल्ला गर्न कानुनी व्यवस्था गर्ने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्कासनमा दश प्रतिशत शेयर आरक्षित गर्ने, रु एक अर्ब वा सो भन्दा बढीको पूँजी वा रु पाँच अर्बभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्कासन गर्ने गरी सूचीकृत हुन लगाउनेलगायतको व्यवस्था बजेटमार्फत गरिएको छ ।
उजले पूँजीबजारको निरन्तर सुधार गरी लगानीकर्ताको हित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिएका थिए । उनले पूँजीबजारबारे नियमित सूचना प्रवाह गरी लगानीकर्तालाई ज्ञान अभिवृद्धि गर्न नियामक निकायहरूलाई निर्देशन पनि दिए। “पूँजीबजारसम्बन्धी ज्ञान र वित्तीय साक्षरता हुनुप¥यो । तालिम दिन जनशक्ति परिचालन गर्नुप¥यो,” ृउनले भने, “अहिले यो अपर्याप्त भएको छ । गाउँ गाउँसम्म पुगेर नयाँ र साना लगानीकर्तालाई पूँजीबजारका बारेमा बुझाउनेमा कमी भएको छ ।” पूँजीबजारका नियामक निकायबीच समन्वय गरी साना, मझौला र ठूला लगानीकर्ताको समस्या समाधान गर्नुपर्ने, नवीन प्रविधिको प्रयोग गरी शेयर कारोबार प्रभावकारी बनाउनुपर्ने, लगानीकर्तालाई गुनासो गर्न नदिने गरी बजार सञ्चालन हुनुपर्नेलगायत विषयमा उनले जोड दिएका छन्। कार्यक्रममा बोर्डका अध्यक्ष रमेश हमालले बोर्डका गतिविधिका बारेमा जानकारी गराएको थियो ।
नेप्से परिसूचक ६० अङ्कले बढ्यो
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार ओरालो लागेको नेप्सेले आज भने राहतको श्वास फेरेको छ । धितोपत्र बजारमा समस्या समाधानका लागि समिति गठन गर्ने विषयमा अर्थमन्त्री जनार्दन शर्मा र सम्बद्ध अधिकारीबीच भएको छलफलले पनि सकारात्मक वातावरण बनाएको जानकारहरूको टिप्पणी छ । ओरालो लागेको नेप्से परिसूचक थामिँदा कारोबार रकममा पनि सामान्य सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार ६०.२२ अङ्कले नेप्से परिसूचक उकालो लागेर दुई हजार ८०.४४ अङ्कमा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूूचक ११।२५ अङ्कले उकालो लागेर ४००.३७ मा पुगेको छ ।
कूल २३१ कम्पनीको ५० लाख ५८ हजार ८१४ कित्ता शेयर रु एक अर्ब ६४ करोड तीन लाख ५६ हजार ६०८ बराबरको कारोबार भयो । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु २९ खर्ब ६३ अर्ब ५७ करोड ९० लाख ७० हजार बराबर भएको छ ।
नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ २९.३५, व्यापार ५८.२६, होटल तथा पर्यटन ९२.७४, विकास बैंक ११६.३९, जलविद्युत् ८४.६, वित्त ७४.९७, निर्जीवन बीमा ३२०.३, उत्पादन १५४.७४, अन्य ५७.७९, लघुवित्त १५४.८, जीवन बीमा २९३.१३, सामूहिक लगानी कोष ०.१७ र लगानी १.९१ अङ्कले उकालो लागेका छन् । कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड १२ लाख ४० हजार ३३२ बराबरको कारोबार भयो । कुमारी बैंक रु चार करोड ९९ लाख १५ हजार २४६, हिमालयन डिस्टिलरी रु चार करोड ९४ लाख ३५ हजार ८८२, नेपाल इन्भेस्टमेन्ट बैंक रु चार करोड ७४ लाख १० हजार ७३० र अपी पावर कम्पनीको रु चार करोड ५९ लाख ७४ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार उपकार लघुवित्त, सामुदायिक लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । बलेफी हाइड्रोपावर ९.९६, कालिका लघुवित्त ९.९५ र तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ९.४४ प्रतिशतले कमाए । त्यस्तै, माउन्टेन हाइड्रो नेपाल, ४.११, आरबिबी म्युचुअल फन्ड एक २.८६, नबिल ब्यालेन्स फन्ड दोस्रो २.८२, एनआइबिएल प्रगति फन्ड १.९० र हिमालयन बैंकका लगानीकर्ताले ०.९६ प्रतिशतले गुमाएका छन् ।