१४० दिनपछि त्रिवि पदाधिकारी कार्यालय खुल्यो 

सोमबार, जेठ ३०, २०७९
मयुर प्लाई

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पदाधिकारी कार्यालय १४० दिनपछि आजदेखि सञ्चालनमा आएको छ । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला आइतबारदेखि पूर्ण रुपमा खुलाएपछि सञ्चालनमा आएको हो । 
त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले आजदेखि नियमित कार्यालय सुरु भएको बताए । “ताला पूर्ण रुपमा हिजोदेखि खुलेपछि हामी हिजो पनि आएको थियौँ”, उनले भने, “अबदेखि हामी नियमित कार्यालयमा आउँछौँ ।”
तालाबन्दीका कारण त्रिविका पदाधिकरी कार्यालय आएर काम गर्न सकेका थिएनन् । झण्डै पाँच महिनादेखि रोकिएका कामलाई आजदेखि नै अगाडि बढाइने उनले बताएल । 
नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले यही जेठ २७ गते र गत शुक्रबार आङ्शिक शिक्षकहरुले जेठ २९ गते ताला खोेलेका थिए । प्रतिनिधिसभाको बैठकमा पनि लामो समयदेखि लगाइएको ताला सांसदले खुलाउन माग गरेका थिए । 
यस्तै अनेरास्ववियुले यही जेठ २५ गते विज्ञप्ति निकाल्दै तीन दिनभित्र त्रिविमा लगाइएको ताला खोल्न आग्रह गरेको थियो । त्रिविका उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा नेविसङ्घले गत माघ ७ गतेदेखि र आङ्शिक शिक्षकहरुले माघ २० गतेदेखि तालाबन्दी गरेका छन् । 

प्रश्नपत्र हुबहु भएको बारे त्रिविद्धारा छानविन समिति गठन

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानविन समिति गठन गरेको छ । रजिष्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा.डा. पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानविन गर्न समिति गठन गरिएको जानकारी दिए । 

उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानविन समिति गठन गरिएको छ । रजिष्ट्रार प्रा डा दाहालले छानविन समितिले एक हप्ताभित्र प्रतिवेदन बुझाउन भनिएको बताए। 
त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र सङ्कायको परीक्षाका दुई विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि त्रिविले छानविन समिति गठन गरेको हो । 
मानविकी सङ्कायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई बर्षको हुबहु मिलेको छ । 
त्रिविले विज्ञ समूहलाई प्रश्नपत्र बनाए पनि प्रश्नपत्र सेट गर्नेको लापरवाहीका कारण अघिल्लो बर्षको प्रश्नपत्र दोहरिने गर्दछ ।

प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १४:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार