जापानद्वारा म्यान्मालाई दिने नयाँ सहायता  स्थगित

बुधबार, चैत १८, २०७७
मयुर प्लाई
Global Ime Bank

टोकियो । जापानले म्यान्मामा प्रजातान्त्रिक प्रक्रिया अवरुद्ध गरी सेनाले सत्ताविद्रोह गरेको भन्दै नयाँ आर्थिक सहायता दिन बन्द गरेको छ । तर सेना र प्रहरीका कमान्डरहरुलाई अन्य देशले प्रतिबन्ध गरे पनि जापान त्यस्तो प्रतिबन्ध भने नलगाएको विदेश मन्त्रालयले जनाएको छ ।  म्यान्माका लागि जापान सबैभन्दा ठूलो दातृ मुलुक हो । जापानका विदेशमन्त्री तोसिमिचु मोटेगीले आर्थिक सहायता रोकेर म्यान्मालाई प्रस्ट सन्देश दिन खोजेको बताएका छन् ।  संसदमा मङ्गलबार सम्बोधन गर्दै विदेशमन्त्री मोटेगीले भने, ‘म्यान्माका निम्ति सबैभन्दा बढी आर्थिक सहायता उपलब्ध गराउने जापान प्रमुख राष्ट्र हो । अब नयाँ सहायता म्यान्मालाई दिइने छैन । हामीले प्रस्ट अडान राखेका छौं ।’ संयुक्तराज्य अमेरिका, बेलायत र युरोपेली युनियनले सत्ताविद्रोहमा संलग्न प्रहरी र सेनाका वरिष्ठ कमान्डरका साथै सेनाको नियन्त्रणमा रहेका व्यापारिक एवं व्यवसायिक कम्पनीमाथि विभिन्न किसिमका प्रतिबन्धहरु घोषणा गरिसकेका छन् ।  तर जापानको म्यान्मासँग बलियो आर्थिक तथा म्यान्माको सेनासँग रहेको लामो समदेखिको सम्बन्धका कारण जापानले केही नरम नीति लिएको छ । स्थानीय सञ्चार माध्यमका अनुसार नयाँ सहायता मात्र रोकिने छन् । हाल सञ्चालनमा रहेका आयोजनामा हुने लगानी भने यथावत् रहनेछ । म्यान्मामा प्रजातन्त्रको पुनर्वहालीका लागि भएको प्रदर्शनमा हालसम्म ५०० भन्दा बढी व्यक्ति मारिइसकेका छन् । विश्वका शक्तिशाली मुलुकहरुले म्यान्माको सैन्य विद्रोहलाई लिएर निन्दा एवं भत्र्सना गरिरहेका छन् । जापानले म्यान्मारको सैन्य सत्ता विद्रोहलाई लिएर आलोचना गर्नुका साथै लोकतन्त्रको पुनर्वहालीका लागि आह्वान गरेको छ ।  म्यान्मामा केही हजार जापानी नागरिक र सयौं जापानी कम्पनीहरु रहेको विश्वास गरिन्छ । म्यान्मामा हाल विदेशी लगानीका दृष्टिबाट जापान पाँचौं ठूलो लगानीकर्ता मुलुक हो ।–एएफपी
 

प्रकाशित मिति: बुधबार, चैत १८, २०७७  १८:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार