सेयर बजार अस्थिर बन्दा साना लगानीकर्ता समस्यामा : गगन थापा 

बुधबार, असार १, २०७९
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले सेयर बजार अस्थिर बन्दा साना लगानीकर्ताहरू समस्यामा परेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बुधबार सांसद थापाले बजार अस्थिर बन्दा बजारप्रतिको विश्वसनियता समेत गुमेको बताए । उनले प्रत्येक दिन लगानीकर्ताहरू बजारको विश्वसनीयता र स्थिरताको विषयमा भेट्न आउने गरेको बताए ।

विश्वव्यापी रुपमा सेयर बजारलाई अर्थतन्त्रको परिसुचक मान्ने गरिन्छ । बजारको स्थायित्व र सबलताले लगानीकर्ताको मात्र नभई समग्र अर्थतन्त्रको समुन्नति हुने हुन्छ । तर नेपालको बजार लामो समयदेखि अस्थिर बनेको छ । गत भदौमा उच्चतम विन्दु (३२ सय अंक नजिक) मा पुगेको बजार परिसुचक नेप्से दुई हजार अंकभन्दा तल आउँदा बजारप्रतिको विश्वसनियतामा नकारात्मक असर पर्नुका साथै साना लगानीकर्ताहरूको पुँजीनै सकिएर उठ्नै नसक्ने भएको  उनले बताए ।

दुःख गरेर कमाएको सानोतिनो रकम लगानी गरेकाहरू अहिले झुन्डिएर मर्छु भन्ने अवस्थामा पुगेकोतर्फ सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराउँदै सांसद थापाले अस्थिर नीतिका कारण बजारमा अस्वभाविक उतारचढाव आउन सक्ने अवस्थाको अन्त्य गर्न माग गरे । बजारमा सामान्य अवस्थामा हुने उतारचढावलाई लगानीकर्ताले आक्न सक्ने र सोहीअनुसार लगानीको निर्णय गर्नुका साथै जोखिममा पनि सहभागी हुन सक्नुपर्ने उनको भनाइ छ ।

तरता अभावका कारण बजार घट्ने विषय सामान्य भए पनि पछिल्लो घटनाक्रमका सम्बन्धमा ध्यानाकृष्ट हुनुपर्नेमा उनले जोड दिए । बजारको स्थायित्व र विश्वसनियताका लागि अर्थ मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डले गरिरहेका काम कार्वाहीका सम्बन्धमा सदनलाई जानकारी गराउन माग समेत गरेका छन् ।

निजी क्षेत्रका साथै गैरआवासीय नेपालीलाई बजारमा ल्याएर अर्थतन्त्रलाई फराकिलो बनाउने बेलामा बजारको विश्वसनियता नै गुम्ने अवस्थामा पुर्याइनु सकारात्मक नभएको उनले बताए । बजारसम्बन्धी नीति दिगो हुनुका साथै अर्थतन्त्रलाई सबल बनाउने किसिमको हुनुपर्नेमा उनले जोड दिए ।
 

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १५:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार