सोसल मिडिया
Contact Us
युनिकोड
बारा । बारा जिल्लास्थित जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको नयाँ नतृत्वका लागि १९ पदमा ५४ जनाले मनोनयन दर्ता गराएका छन् । असार ११ गते हुने निर्वाचनको कार्यतालिका अनुसार उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । संघको अध्यक्षका लागि मोहनप्रसाद शर्माको एकल उम्मेदवारी परेको छ । संघको विधानमा वरिष्ठ उपाध्यक्षले मात्रै अध्यक्षमा उम्मेदवारी दिन सकिने प्रावधान रहेकाले शर्माको मात्रै उम्मेदवारी परेको हो । यस अघि वरिष्ठ उपाध्यक्ष रहेका शर्माको एकल उम्मेदवारी परेसँगै संघको अध्यक्षमा उनी निर्वाचित हुने निश्चित छ । संघको वरिष्ठ उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा मनोज कुमार गुप्ता, रामचन्द्र पौडेल, ओमप्रकाश गुप्ता, अनिलकुमार साह र दिनेशप्रसाद कलवार रहेका छन् । अध्यक्ष बाहेक अन्य सात जना पदाधिकारीका लागि २५ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष सहिँत संघको पदाधिकारीमा बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष वाणिज्य, उपाध्यक्ष उद्योग, महासचिव, सचिव वाणिज्य र सचिव उद्योग पदमा एक–एक जना निर्वाचित हुँने छन् । एक जना निर्वाचित हुँने वाणिज्य तर्फको उपाध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । वाणिज्य तर्फको उपाध्यक्षका लागि अर्जुन लम्साल, मोहन साह कलवार, रामनारायण प्रसाद साह, गजेन्द्र प्रसाद गुप्ता र संतोष गुप्ताले उम्मेदवारी दिएका हुन । उद्योग उपाध्यक्ष तर्फ दिपक गुप्ता, विजय कुमार साह र राजुराज गिरीले मनोनयन दर्ता गराएका छन् । संघको महासचिवमा तीन जनाको उम्मेदवारी परेको छ । महासचिवका लागि अनिल कुमार तिवारी, लक्ष्मण अधिकारी र प्रकाश गिरीले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, कोषाध्यक्षमा रामबाबु कलवार र अमरप्रसाद यादवको उम्मेदवारी दर्ता भएको छ । संघको वाणिज्य तर्फको सचिवका लागि रमेशप्रसाद खरेल, गीताकुमारी शर्मा, श्यामबाबु साह, शान्ताकुमारी बजगाई (रिना), विष्णुप्रसाद अधिकारी र कृष्णप्रसाद साहको उम्मेदवारी परेको छ । वाणिज्य तर्फको सचिवमा ६ जनाको उम्मेदवारी दर्ता हुँदा उद्योग तर्फको सचिव भने निर्विरोध हुँने भएका छन् । उद्योग तर्फ सचिवका लागि मुकेशप्रसाद साहको एकल उम्मेदवारी परेको छ । यता वाणिज्य तर्फको सात सदस्यका लागि २३ जनाको उम्मेदवारी परेको छ । भने उद्योग तर्फको तीन सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ । एक जना निर्वाचित हुँने एशोसियट तर्फको सदस्य पदमा भने कसैको उम्मेदवारी परेन । मनोनयन दर्ता भएसँगै संघको चुनावी चर्चा सुरु भएको छ । अध्यक्ष निर्विरोध भईसकेकाले बरिष्ठ उपाध्यक्षका उम्मेदवार मध्ये केहीको नेतृत्वमा छुट्टा–छुट्टै प्यानल बन्ने देखिन्छ । बरिष्ठ उपाध्यक्षका लागि मनोजकुमार गुप्ता, रामचन्द्र पौडेल र ओमप्रकाश गुप्ताको नाम चर्चामा छ । तर, कोषाध्यक्षमा दुई जनाको मात्रै उम्मेदवारी परेकाले तीन वटा प्यानल हुँने सम्भावना भने कम छ । तीन वर्षे कार्यकालका लागि असार ११ गते हुँने निर्वाचनमा एक हजार तीन सय भन्दा बढी मतदाता सहभागी हुँदै छन् । जेठ २५ गते सम्पन्न संघको दोस्रो अधिवेशन र तेस्रो साधारण सभाबाट सर्वसम्मत नेतृत्व चयन हुँन नसके पछि निर्वाचन प्रक्रिया अघि बढेको हो ।