२० आरोही समूहका १५१ आरोहीलाई हिमाल आरोहण अनुमति

शुक्रबार, चैत २०, २०७७

काठमाडौं । पर्यटन विभागले वसन्त यामको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि २० आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको छ । सगरमाथाका तीनसहित २० आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति दिइएको हो ।  सगरमाथाका तीनसहित छ आरोही समूहले बिहीबार आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्म भट्टराईले जानकारी दिए ।  विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ ।  पर्वतारोहण शाखाको तथ्याङ्कमा हालसम्म सोलुखुम्बुमा पर्ने सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि सबैभन्दा बढी सात आरोही समूह छन् । सोही क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) मा दुई, नुप्से (७,८६४ मिटर) मा दुई आरोही समूह छन् । यस्तै पुमरी (७, १६१ मिटर) मा एक आरोही समूहलाई अनुमति दिइएको छ । गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८,०९१) आरोहणका लागि चार र धौलागिरि हिमाल (८,१६७ मिटर) मा दुई समूहलाई अनुमति दिएको छ भने गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) मा एक आरोही समूह छ । हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ । यो अनुकूल मौसममा सगरमाथासहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन् । सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहीको रोजाइमा पर्छन् । आरोहणका लागि बाटो बनाउने आइसफल चिकित्सक पनि गन्तव्यमा छन् ।  आइसफल चिकित्सक सगरमाथाको आधार शिविरभन्दा माथितिर पुगिसकेका छन् । वसन्तयामको आरोहणका लागि विभागले धमाधम आरोहण अनुमति जारी गरिरहेको छ । मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरुआत भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ । वसन्तयामको आरोहणका लागि विभागले यही चैत २ देखि आरोहण अनुमति जारी गरेको थियो । चैत १३ मा सगरमाथा आरोहणको पहिलो ‘पर्मिट’ जारी भएको थियो । बहराइनका राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले पहिलो आरोहण अनुमति लिएको छ । नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ । बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली छन् । कोभिड–१९ महामारी जोखिमका बीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ठ पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ । कोरोनाका कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेको थियो ।–रासस

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०७७  ०४:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार