धापासी माविका विद्यार्थीलाई झोला वितरण

मंगलबार, असार ७, २०७९
मयुर प्लाई

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका–४ स्थित धापासी माध्यमिक विद्यालयका २०० विद्यार्थीलाई झोला वितरण गरिएको छ । टोखा नगरपालिका–४ वडा कार्यालयले आज विद्यालयमा कार्यक्रम आयोजना गरी विद्यार्थीलाई झोला, कापी र कलम वितरण गरेको हो । कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामाङले सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या वृद्धि गर्दै शिक्षाको गुणस्तर बढाउन यस्ता कार्यक्रमले  सहयोग पुग्ने विश्वास व्यक्त गरे । “टोखाले अरु सामुदायिक विद्यालयमा पनि यस्ता कार्यक्रम विस्तारै अगाडि बढाउँछ”, उनले भने ।
टोखा नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम गौतमले विद्यार्थीलाई झोला, कापी र कलम वितरण गरेसँगै विद्यार्थीलाई पठनपाठनमा सहयोग पुग्ने बताए ।
पछिल्लो समय टोखाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । टोखामा हाल १० सामुदायिक विद्यालय सञ्चालनमा छन् ।
टोखा नगरपालिका–४ वडाअध्यक्ष एवं धापासी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मेन्द्र श्रेष्ठले विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार ल्याउन लागि उक्त कार्यक्रम वडाले अगाडि सारेको बताए ।
विसं २०३६ माघ १९ गतेदेखि प्राथमिक तह र विसं २०७१ देखि माध्यमिक तहको पढाइ प्रारम्भ गरेको धापासी माविमा हाल ५०० विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक श्रीराम थापाले जानकारी दिए ।
उक्त विद्यालयमा हाल टोखा–४, बुढानिलकण्ठ नगरपालिका–६ र ७ तथा काठमाडौँ महानगरपालिका–३ का विद्यार्थी अध्ययनरत छन् । धापासी माविले विद्यार्थीलाई दैनिक निःशुल्क खाजा तथा छात्रालाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउँदै आएको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  ०५:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार