सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिकाले सहरको तीन ठाउँमा जीर्ण र अग्लो पर्खाल भत्काई पारदर्शी हरियो वार लगाएको छ । तीमध्ये नेपाल इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको पश्चिम तर्फ (मूल सडकपट्टि ) लगाइएको वारको महानगरका प्रमुख चिरीबाबु महर्जन र क्याम्पस प्रमुख प्रा.डा.लक्ष्मण पौडेलले संयुक्त रुपमा उद्घाटन गरे । आर्थिक वर्ष २०७५÷२०७६ को नगर गौरवको आयोजना अन्तर्गत पुल्चोक क्याम्पस हातामा उक्त वार लगाइएको हो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले क्याम्पस परिसरमा रहेको कलात्मक राणाकालिन पुरानो आनन्द निकेतन दरबार र हरियालीयुक्त बगैंचाको सुन्दरता सबैलाई देखाउन यस्तो वार लगाएको बताए । उनले भने, ‘अग्लो र जीर्ण भवनले सहरको सुन्दरतामा आँच पुगेको थियो, भूकम्पको दृष्टिले समेत यी पर्खाल जोखिमपूर्ण थिए ।’
पुल्चोक क्याम्पसको यो योजना सम्पन्न गर्नको लागि मूल्यअभिवृद्धि कर सहित ५५ लाख २ सय १६ रुपैयाँ लागेको छ । बोलपत्र आह्वान गरी सम्पन्न गरिएको यो आयोजना जे।एस.एस।इन्जिनियरिङ, ज्ञानेश्वर, काठमाडौंले सम्पन्न गरेको हो । उद्घाटन कार्यक्रममा क्याम्पस प्रमुख प्रा.डा. पौडेलले सहरलाई सुन्दर बनाउन अघि सारेको योजनाको प्रसंशा गरे । उनले क्याम्पस परिसरमा रहेको बगैंचालाई अझै व्यवस्थित बनाउने बताए । निवर्तमान क्याम्पस प्रमुख प्रा.डा. गोकर्ण बहादुर मोत्राले महानगरले सहरलाई सुन्दर बनाउन लगाएको पारदर्शी वारले क्याम्पस परिसरको हरियाली, बगैंचा र दरबार सबैले हेर्न सक्ने भएको स्पष्ट पारे । महानगरपालिकाभित्र अन्य दुई ठाउँ सदर चिडियाखाना अगाडिको फुटबल मैदान वरिपरि र महालक्ष्मीस्थान नजिकै रहेको राजदल गणसँगैको खेल मैदान वरिपरि समेत यो बार लगाएको महानगर प्रमुख महर्जनले जानकारी दिए । उनले भने, ‘काम सम्पन्न भइसकेको छ, त्यहाँ बार देखाउन हामी तपाईहरुलाई छिट्टै बोलाउँछौं ।’ हरियाली स्मार्ट सहरको महत्वपूर्ण तत्व भएको जानकारी दिदैं हरियाली कायम गर्न महानगरले थुप्रै योजनाहरु अघि बढाएको स्पष्ट पारे । अग्ला र जीर्ण भइसकेका पर्खालले एकातिर सहरको सुन्दरमा ह्रास ल्याएको थियो भने, अर्कोतर्फ खेल मैदानमा भएको खेल र पुल्चोक क्याम्पस परिसरमा रहेको हरियाली सहितको पुरानो दरबार देख्न र हेर्न इच्छुकहरु विमुख भएका थिए । त्यसैगरी वार लगाउनु अघिका जीर्ण पर्खाल भूकम्पका दृष्टिले समेत जोखमपूर्ण थिए ।