सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् । महासंघका अध्यक्ष शेखर गोल्छासहित महासंघका पदाधिकारी र कर्णाली योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्का, सदस्य डा दीपेन्द्र रोकाय र सदस्य योगेन्द्रबहादुर शाहीसमेतको प्रतिनिधिमण्डलबीच आज महासंघ सचिवालयमा भएको भेटवार्तामा संयुक्त रुपमा सम्मेलन आयोजना गर्ने सहमति भएको हो । सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेको बताउँदै सरकारले त्यसका लागि सहजीकरण गरिदिनुपर्ने उल्लेख गरे । लगानीकर्ताले कृषि, पर्यटन, जडिबुटी, जलविद्युत्लगायतका क्षेत्रमा लगानी गर्नेसमेत अध्यक्ष गोल्छाले जानकारी दिए । उनले लगानीकर्ताहरुसँग महासङ्घले सहजीकरण गर्ने पनि जानकारी गराए । कर्णाली योजना आयोगका उपाध्यक्ष डा खड्काले कर्णालीको विकासका लागि लगानी सम्मेलनको खाँचो भएकाले सम्मेलनको अवधारणा अगाडि बढाएको जानकारी दिए । उनले योजना आयोग र महासंघको संयुक्त पहल एवं लगानीमा सम्मेलन गर्दा प्रभावकारी हुने विश्वास व्यक्त गरे । कर्णाली प्रदेशमा परियोजना बैंक बनाएर लगानीको वातावरण सृजना गर्नेसमेत डा खड्काले बताए ।–रासस