सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक डा. दिपक भण्डारीले मुलुकको अर्थतन्त्र बढाउन चैते धान उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । धान दिवसका अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उनले भने, “मुलुकमा रहेका कूल जमिन मध्ये ३३ प्रतिशत जमिनमा मात्रै बाह्रै महिना सिँचाई हुने गरेका कारण थप सिँचाइ सुविधा बढाउनुपर्नेछ देखिन्छ ।” राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङले मुलुकले बर्षको दुई अर्ब बराबरको धान उत्पादन गर्ने जानकारी गराउँदै हरेक वर्षको असार १५ लाई मात्रै धान दिवसका रुपमा नमनाएर धन भित्र्याउने दिनका रुपमा समेत सम्झन जरुरी रहेको सुझाव दिए । उनले भने, “कृषि उत्पादनमा विज्ञानका साथै प्रविधिको पनि उचित प्रयोग गरी अन्न संकट जोगाउन लाग्नुपर्छ ।”
राष्ट्रिय बालि विज्ञान अनुसन्धान केन्द्र खुमलटारका प्रमुख टिकाबहादुर कार्कीले मुलुकमा अघि बढिरहेको कृषि शिक्षा तथा कृषि प्रचार एवं अनुसन्धान तर्फ के कस्ता त्रुटि भइरहेका छन् त्यसतर्फ बुझ्न उपस्थित महानुभावलाई आग्रह गरे । उनले भने, “मुलुकका अधिकांश कृषि विशेषज्ञ काठमाडौँको खाल्डोमा रहेका कारण उपत्यका बाहिर गरिने उत्पादनमा कसले ध्यान दिने सोच जरुरी छ ।” राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेमप्रसाद दंगालले मुलुकमा जनसङ्ख्या वृद्धिका साथै जलबायु परिवर्तन एवं जैविक इन्धनले खाद्यान्नमा पारिरहेको असर बारे बताउँदै सोले कृषि उत्पादनमा नकारात्मक असर गरिरहेको गुनासो गरे । कृषि विभागका महानिर्देशक रेवतीरमण पौडेलले धानले मुलुकको सामाजिक तथा आर्थिकका साथै राजनीतिक एवं साँँस्कृतिक महत्वमा समेत प्रभाव पारिरहेको स्मरण गराउँदै मुलुकमा रहेका उर्भर तथा खेतीयोग्य जमिनलाई उत्पादनमा अघि बढाउनुपर्ने बताए । सो केन्द्रका सहसचिव डा. रामकृष्ण श्रेष्ठले हालसम्म मुलुकमा १७ प्रतिशत धान रोपाईँ सम्पन्न भइसकेको जानकारी गराए । उक्त कार्यक्रममा धानका साथै अन्य कृषि उत्पादनका लागि माटो परीक्षण एवं पानी व्यवस्था तथा उन्नत जातका बीउबिजन एवं बाँझो जमिन प्रयोगमा जोड दिनुपर्ने बताइएको थियो । यसैगरी सो अवसरमा मन्त्री यादवले ‘धान क्षेत्रको विकास र प्रवद्र्धनको संभावना अवसर तथा चुनौतिहरु’, ‘नेपालमा प्रचलित धानबालीका जातहरु एवं तिनको जातीय विशेषता’, र ‘कन्दमुल बाली खेती प्रविधि’ नामक तीन कृति समेत विमोच गरी नार्क कार्यालयको धानबाली अनुसन्धान केन्द्र परिसरको जमिनमा प्रविधिमार्फत धान रोपाईँ कार्यक्रम गरे । त्यसैगरी उक्त कार्यक्रममा कृषि उत्पादनलाई थप बढवा दिन भूमितग सिँचाई तथा सिँचाई सुविधालाई समयमै मर्मत सुधार, नयाँ सिँचाईका लागि सम्भावनाका खोजी, आकाशेपानीको संरक्षण, किसानलाई उचित मुल्य तथा प्रविधिमा जोड, समयमै मलखाद एवं कृषिमा सहुलियत दरको व्यवस्था गरिनुपर्ने भनाई राखिएको थियो । मुलुकमा २०६२ साल असार १५ गतेदेखि प्रत्येक वर्ष राष्ट्रिय धान दिवस मनाउन थालिएको छ । सो दिनलाई मानो रोपेर मुरी उब्जाउने महिना मानिने गरिन्छ । आज नेपाल भर जमिन हुने वा नहुने व्यक्तिले रोपाईँ जात्रामा समेत भाग लिई हिलो छयापाछयाप गरी मनोरञ्जन गर्ने तथा दही चिउरा खाने पनि चलन रहेको छ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो तर युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकाशे खेतीमा निर्भर, सिँचाईको व्यवस्था नहुनु, उन्नत जातका बीउबीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परिरहेको विज्ञहरुको मत छ ।