तनहुँमा मल अभाव कायमै, २० प्रतिशत रोपाइँ

बिहीबार, असार १६, २०७९
मयुर प्लाई
Global Ime Bank

दमौली । मल अभावकाबीच तनहुँका किसानले रोपाइँ सुरु गरेका छन् । जिल्लामा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहे पनि किसानले रोपाइँ सुरु गरेका हुन् ।  असार सुरु भएदेखि नै वर्षा भइरहेकाले किसानलाई धान रोपाइँमा सहज भएको छ । जिल्लामा हालसम्म करिब २० प्रतिशत भूभागमा रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जिल्लाका विभिन्न भागमा किसान रोपाइँमा व्यस्त रहेको र करिब २० प्रतिशत भूभागमा रोपाइँ सकिएको जानकारी दिए ।
तिवारीले रासायनिक मल अभाव भए पनि प्राङ्गारिक मलको प्रयोग गरी मल अभावलाई पूर्ति गर्न सुझाव दिए । “मल अभाव हुँदा उत्पादन घट्न सक्छ, रासायनिक मलको अभावलाई पूर्ति गर्न गोबर मल, प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ,” उनले भने । धान रोपाइँ सकिएको करिब एक महिनापछि सुक्ष्म खाद्यतत्व प्रयोग गर्न तिवारीले किसानलाई सुझाव दिए । 
व्यास नगरपालिका–११ पोल्याङका किसान राजेन्द्र पौडेलले छिट्टै वर्षा भएकाले रोपाइँ गर्न सहज भएको बताए । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ११ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ । त्यसमध्ये दुई हजार ५०० हेक्टर क्षेत्रफलमा चैतेधानको रोपाइँ हुने गरेको छ । तनहुँमा राधा, सावित्री रामधान, सुगन्ध मसिनो, अनदी, सुनौलो सुगन्ध, मकवानपुरलगायत धानखेती हुने गरेको छ । गतवर्ष ११ हजार २७९ हेक्टर खेतमा धान खेती गरिएकामा ४४ हजार सात ८२ मेट्रिकटन धान उत्पादन भएको थियो । 
तनहुँमा खेतीयोग्य जमिनको क्षेत्रफल ६५ हजार ६१ हेक्टर रहेको तर ५१ हजार ५१० क्षेत्रफलमा मात्रै विभिन्न खेती भइरहेको छ । जिल्लाका तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगे लगायतका क्षेत्र धानखेतीका लागि प्रख्यात मानिन्छन् । 

मल अभाव कायमै
खेतीपातीको समयमा मल अभाव हुँदा किसानलाई समस्या भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड दमौलीका अनुसार हाल पोटास मल मात्रै मौज्दात छ । युरिया, डिएपी, कृषि चुन मल अभाव रहेको शाखाले जनाएको छ । 
कार्यालयले चालु आर्थिक वर्ष २०७८-७९ को जेठ मसान्तसम्म एक हजार एक मेट्रिक टन मल वितरण गरेको जनाएको छ । चालु आर्थिक वर्षमा ६२४.४ मेट्रिक टन युरिया मल आएकामा सबै मल बिक्री वितरण भएको छ । ३२४.३५ मेट्रिक टन डिएपी र पाँच मेट्रिक टन कृषि चुन मल आएकामा त्यो पनि सबै बिक्री वितरण भएको शाखाले जनाएको छ । कार्यालयमा सुरुमा १४१.४ मेट्रिक टक युरिया रहेकामा पछि ४८३ मेट्रिक टन प्राप्त भएको थियो । त्यस्तै ११७.३५ मेट्रिक टन डिएपी रहेकामा पछि २०७ मेट्रिक टन प्राप्त भई सबै मल बिक्री वितरण भएको छ ।

रोपइँ सुरु भएपछि किसान खुसी 

जमिन भिज्नेगरी आकाशे पानी परेपछि बाँकेका किसान हर्षित भएका छन् । १५ असार बित्दासम्म रोपाइँको सुरसार गर्न नसकेका किसानलाई बुधबार बिहान परेको पानीले ठूलो राहत दिएको खजुरा गाउँपालिका–१ का अगुसवा किसान मगनसिंह थापाले बताए । 
“केही दिन अघि सिँचाइ सुविधा नपाएका किसानका दिन आकाशतिर हेरेर बित्ने गरेको थियो, पानी प¥यो अब रोपाइँ सुरु भएको छ”, थापाले भने, “समयमै रोप्न पाउँदा किसान हर्षित भएका छन् ।” जसोतसो धानको बीउ तयार पारे पनि आकाशे पानीको भरमा धानखेती गर्दै आएका बाँकेका किसानले रोपाइँ गर्न सकेका थिएनन् । पानी परेपछि धमाधम रोपाइँ सुरु भएको नेपालगञ्ज–१८ लग्दहवाका किसान मनोजकुमार सोनकरले बताए । 
बाँकेमा यसवर्ष वर्षा ढिलो हुँदा असार १५ धान दिवसका दिनसम्म पनि जम्मा पाँच प्रतिशत मात्रै रोपाइँ भएको छ । गतवर्ष धान दिवसको दिनसम्म पुग्दा जिल्लामा ४५ प्रतिशत रोपाइँ सकिएकोमा यसवर्ष वर्षा नहुँदा हालसम्म पाँच प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सागर ढकालले जानकारी दिए ।
उनका अनुसार गतवर्ष समयमा आकाशे पानी परेकाले किसानले धान दिवस मनाइरहँदा आधा जति रोपाइँ सम्पन्न गरिसकेकामा यस पटक भर्खरै सुरु भएको छ । ठूलो वर्षा भएकाले जिल्लाका सबै किसान अब रोपाइँमा जुटेका छन् । 
बाँकेमा गतवर्ष एक कठ्ठा क्षेत्रफल रहेको खेतमा एक क्वीन्टल १५ किलो धान फलेकामा यस वर्ष औसतमा एक कठ्ठामा डेढ क्वीन्टलसम्म धान फल्ने आशा गरिएको प्रमुख ढकालले बताउनुभयो । बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती हुने गरेको छ ।

लुम्बिनी प्रदेशमा ३२ प्रतिशत रोपाइँ 

किसानले धान रोप्ने समयमा प्रर्याप्त मल नपाउँदा र समयमा वर्षा नहुनाले मध्य असारसम्ममा पनि रोपाइँ गर्न पाएका छैनन् । मल र सिँचाइको अभावका कारण असार १५ सम्ममा लुम्बिनी प्रदेशमा ५० प्रतिशत पनि रोपाइँ हुनसकेको छैन । लुम्बिनी प्रदेशमा अहिलेसम्ममा करिब ३२ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । 
गतवर्ष यस अवधिमा प्रदेशभरिमा झण्डै ४६ प्रतिशत धान रोपाइँ भएको थियो । मन्त्रालयको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा तीन लाख २० हजार २७५.४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ । धान रोपाइँ हुने जमिनको कूल क्षेत्रफलमध्ये यसवर्ष आजसम्म एक लाख चार हजार ७५०.८६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको मन्त्रालयका बाली विकास अधिकृत तथा सूचना अधिकारी शालिकराम गौतमले जानकारी दिए । 
प्रदेशका १२ जिल्लामध्ये रोपाइँ भएका जिल्लामा सबैभन्दा धेरै पश्चिम नवलपरासी जिल्लामा ८० प्रतिशत र सबै भन्दाकम बाँकेमा १३ प्रतिशत मात्र धान रोपाइँ भएको छ । पश्चिम नवलपरासीमा २१ हजार १७५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गर्छ । यसमध्ये हालसम्म १६ हजार ९४० हेक्टरमा धान रोपाइँ सकिएको मन्त्रालयको तथ्याङ्क छ । यस्तै बाँकेमा ३६ हजार ५०० हेक्टर जमिनमा हुने गर्छ । यहाँ यस वर्ष हालसम्म चार हजार ७४५ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ । 

dhan 11654254228.jpg
लुम्बिनी प्रदेशमा सबैभन्दा बढी धानखेती हुने कपिलवस्तुहो । यस जिल्लामा कूल ७१ हजार २०० हेक्टर जमिनमा धान खेती हुने गर्छ । यस जिल्लामा अहिले सम्ममा जम्मा १२ हजार १०४ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको मन्त्रालयका सूचना अधिकारी गौतमले जानकारी दिए । प्रदेशको दोस्रो धेरै धानखेती हुने जिल्ला रुपन्देहीमा भने हालसम्म ४१ प्रतिशत रोपाइँ सकिएको छ ।
यता लुम्बिनी प्रदेशमा सबैभन्दा कम धान रोपाइँ हुने रुकुम पूर्वमा ६५ प्रतिशत रोपाइँ सम्पन्न हुँदा रोल्पामा ६०.२० प्रतिशत रोपाइँ सकिएको छ । रुकुम पूर्वमा धान रोपाइँ हुने एक हजार ४१९.४२ हेक्टरमध्ये ९२२.६२ हेक्टर क्षेत्रफमा रोपाइँ सकिँदा रोल्पामा चार हजार ३४० हेक्टरमध्ये दुई हजार ६१२.६८ हेक्टर क्षेत्रफलमा रोपाइ सकिएको छ ।
यस्तै तराई जिल्लाका धान उत्पादन हुने मुख्य दाङ र बर्दिया जिल्लामध्ये दाङमा कूल धान रोपाइ हुने ३९ हजार ४०० हेक्टर क्षेत्रफलमध्ये १२ हजार ४११ हेक्टर अर्थात् ३१.५० प्रतिशत क्षेत्रफलमा र बर्दियामा ५० हजार २५० हेक्टर क्षेत्रफलमध्ये १७ हजार ४७६.६८ हेक्टर अर्थात् ३४.७८ प्रतिशतमा धान रोपाइ सकिएको छ ।
यता प्रदेशका पहाडी जिल्ला अर्घाखाँचीमा धानखेती हुने कूल ८ हजार ५० हेक्टरमध्ये एक हजार ९३२ हेक्टर क्षेत्रफल अर्थात् २५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको गौतमले जानकारी दिए । 
यस्तै गुल्मीमा कूल धान खेती हुने आठ हजार ८३६ हेक्टरमध्ये दुई हजार ३८५.७२ हेक्टर अर्थात् २७ प्रतिशतमा रोपाइँ सकिएको छ भने पाल्पामा सात हजार ७०६ हेक्टरमध्ये दुई हजार ६९७.१० हेक्टर क्षेत्रफल अर्थात् ३५ प्रतिशत रोपाइँ सकिएको छ । यता प्यूठान ६० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लाको कूल धान रोपाइँ हुने ६ हजार ५८० हेक्टरमध्ये तीन हजार ९४८ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।
लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा रोपाइँका लागि प्रायः आकासे पानीको भर पर्नुपर्ने भएकाले यसवर्ष पानी पर्न केही ढिला हुँदा रोपाइँमा पनि ढिलाइ भएको मन्त्रालयका सूचना अधिकारी गौतमले जानकारी दिए । यस प्रदेशमा करिब ५० प्रतिशत जमिनमा आकासे पानीको भरपर्नुपर्ने अवस्था रहेको उनले बताए । उनले दुई दिनदेखि लगातार पानी परेकाले असार भरिमा प्रदेशमा ८० देखि ९० प्रतिशत रोपाइँ सकिने बताए ।
रोपाइँका समयमा सरकारले डिएपी र युरिया मलको व्यवस्थापन नगर्दा यसवर्ष धेरै किसानले मलबिनै रोपाइँ गर्नुपरेको किसानको गुनासो छ । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार साल्टटे«डिङ लिमिटेडले प्रदेशभरिका लागि अहिले डिएपी वितरण गरेको तर त्यो किसानका लागि प्रर्याप्त नभएको बताउँछन् । यस्तै युरिया भने धानमा छर्ने बेलासम्म आउने आश्वासन मिलेको बताउँछन् । 

प्रकाशित मिति: बिहीबार, असार १६, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार