‘मदिरामय रात’को विवरण पत्रकारले सार्वजनिक गरेपछि बेलायतका मन्त्रीको राजीनामाको लहर

बिहीबार, असार २३, २०७९

लन्डन । बेलायतको प्रधानमन्त्रीका रूपमा बोरिस जोनसनको भविष्य पहिलेको भन्दा ठूलो जोखिममा छ । यौन दुव्र्यवहारको आरोप लागेका कन्जरभेटिभ सांसदबारे प्रधान्मन्त्रीको ‘ह्यान्डलिङ’लाई लिएर मंगलबार स्वास्थ्यमन्त्री र अर्थमन्त्रीले १० मिनेटको अन्तरमा राजीनामा दिएपछि महिनौंदेखिको राजनीतिक अस्थिरता बुधबार आएर अचानक बढेको थियो ।  बुधबार साँझसम्म कनिष्ठ मन्त्री र सांसदहरूको राजीनामा र अविश्वासको पत्रको ‘बाढी’ आएको थियो ।

बुधबार साँझ नै वरिष्ठ मन्त्रीहरूको एउटा समूह प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिट पुगेर प्रधानमन्त्री जोनसनलाई राजीनामा दिन कर गरे । तर, पछिल्लो चुनावमा मतदाताहरूबाट पाएको ‘ठूलो जनादेश’ सम्मान गर्दै आफूले राजीनामा नदिने अडान लिए । बरु, राजीनमा दिन सुझाव दिने एक मन्त्रीलाई नै प्रधानमन्त्रीले बर्खास्त गरे ।

वेस्टमिनिस्टरमा त्यो मदिरा रात
एक साताअघि कन्जरभेटिभ सांसद क्रिस पिन्चरले कार्लटन प्राइभेट मेम्बर्स क्लबममा आयोजित मदिरा पार्टीपछि  ह्विपको भूमिकाबाट राजीनामा दिएका थिए । राजीनामा पत्रमा  क्रिस पिन्चरले आफूले ‘धेरै पिएको’ र यसले आफू र मानिसहरूलाई लज्जित तुल्याएको प्रधानमन्त्रीलाई बताएका छन् । तर, विषय धेरै गम्भीर थियो । एक निजी सदस्यको क्लबमा दुई जना पुरुषहरूलाई समातेको पिन्चरमाथि आरोप छ । उनले कम्तिमा एकजनालाई कम्मर र तिघ्राको बीचमा छोएको बताइएको छ ।
 
त्यसपछि दुई ओटा घटना भएका थिए । पिन्चरले आफूले नराम्रो व्यवहार गरेको महसुस गरेकाले उनलाई संसदबाट बर्खास्त गर्नु नपर्ने र उनलाई  कारबाहीको नगर्ने सरकारले सञ्चार माध्यममा ब्रिफिङ गर्‍यो । 

दुर्व्यवहार गर्ने सांसदलाई बचाउ गरेपछि कन्जरभेटिभ सांसद प्रधानमन्त्रीसँग क्रुद्ध बनेका थिए । पिन्चरविरुद्ध विगतमा पनि यौन दुर्व्यवहारको  यस्तै आरोप लागेको थियो । यद्यपि, जोन्सनले उनलाई पार्टीको उपप्रमुख सचेतकको रूपमा राखिरहे । 

पछिल्लो मदिरा रातमा भएको यौन दुर्व्यवहारको खुलासा प्रसिद्ध पत्रिका सनकी राजनीतिक पत्रकार नोआ होफम्यानले बिहीबार सार्वजनिक गरेकी थिइन् । २४ वर्षीया होफम्यान सो खुलासा गर्नु चार दिनअघि मात्र राजनीतिक पत्रकारका रूपमा सनमा नियुक्त भएकी थिइन् ।

प्रधानमन्त्री जोनसन भन्छन्, 'जीनामा दिन्न'
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको सरकारबाट थप पाँच जना कनिष्ठ मन्त्रीले बुधबार  सामूहिक राजीनामा दिएपछि राजीनामा  दिने टोरी सांसदको संख्या २७ पुगेको छ । प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै एकपछि अर्को मन्त्रीले राजीनामा दिएका हुन् ।  मन्त्रीहरुको राजीनामापछि प्रधानमन्त्री जोनसन राजनीतिक संकटमा परेका छन् । प्रधानमन्त्रीले राष्ट्रिय हित विपरित गरेको उनीहरुले आरोप लगाएका छन् । 

अर्थमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदको नाटकीय राजीनामापछि बुधबार एकपछि अर्को मन्त्रीले राजीनामा दिएका थिए । राजनीतिक संकट चर्किरहेका बेला प्रधानमन्त्री जोनसनले लेभलिङ अप, हाउजिङ तथा कम्युनिटी मन्त्री  माइकल गोभलाई बर्खास्त गरेका छन् । यसअघि गोभले प्रधानमन्त्रीको राजीनामा माग गरेका थिए ।

ठूलो संख्यामा मन्त्रीहरूको राजीनामा र पार्टीभित्रै भइरहेको विद्रोहबीच प्रधानमन्त्रीले राजीनामा नदिने अडान राखेका छन् । ब्रिटिश संसद्को नियमित प्रश्नोत्तर सत्रमा उनले आफूले सन् २०१९ को निर्वाचनबाट जनादेश पाएको र त्यो जारी रहने बताए ।–एजेन्सी

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  ०८:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार