माओवादीले सांसद् हटाएका चारैजनाको मन्त्रिपरिषद्मा पुनर्नियुक्ति 

राष्ट्रपतिले खुवाइन शपथ
शुक्रबार, चैत २७, २०७७

काठमाडौं । प्रचण्ड–ओली विवादका बेला ओलीलाई साथ दिएका माओवादी केन्द्रका चार जनाले मन्त्रिपरिषद्मा पुनर्नियुक्ति पाएका छन् । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्रीका रुपमा टोपबहादुर रायमाझी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीका रुपमा लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीको मन्त्रिपरिषद्मा पुनर्नियुक्ति भएको हो । सांसद पद जानुअघिसम्म उनीहरुले सोही मन्त्रालयको जिम्मेवारीमा थिए । प्रचण्डको साथ छाडेर नेकपा एमाले प्रवेश गरेपछि चारजना मन्त्रीलाई माओवादी केन्द्रले पार्टीबाट निश्कासन गरेको थियो । बिहीबार उनीहरु पार्टीबाट निश्कासित भएको सूचना संसद्मा सभामुखले वाचन गरेपछि उनीहरु सांसद पदबाट पदमुक्त भएका थिए । सांसद पद गएसँगै मन्त्री पदबाट पनि पदमुक्त भएका थिए ।
पदमुक्त भएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरुलाई मन्त्री नियुक्त गरेकी हुन् । नेपालको संविधान अनुसार अब उनीहरु ६ महिनासम्म मन्त्री पदमा रहन सक्छन् । पुनर्नियुक्ति पाएका ४ मन्त्रीले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन्  ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरीशंकर चौधरीलाई शुक्रबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन् ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार