चीनले कांग्रेससँग ‘सम्बन्ध सुधार’ खोजेको हो ?

चिनियाँ नेताको सुन्दरीजल रोजाइ
बिहीबार, असार ३०, २०७९

काठमाडौं । सन् १९६० को मार्च १८ अर्थात् २०१६ चैत ५ गते तत्कालीन प्रधानमन्त्री बीपी कोइराला र चिनियाँ नेता माओत्सेतुङ्बीच वार्तालाप भयो । ‘माओ जेदुङ् अन डिप्लोमेसी’ पुस्तकका अनुसार माओले त्यस बेला संसारमा अमेरिकासँगमात्र आफ्नो देशको ‘गम्भीर विवाद’ रहेको बताएका थिए । ‘भारतसँग पनि एक वर्षदेखि विवाद भए पनि आफूहरू मित्र रहेको’ उनको भनाइ थियो ।
त्यसको ६० वर्षपछि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले नेपाली नेताहरूसँगको भेटमा अमेरिकालाई त्यही कोटीमा राखेको बताइएको छ । नेपाली कांग्रेसका नेताहरूसँगको छलफलमा लिउ चियान छाओ नेतृत्वको प्रतिनिधिमण्डलले त्यस्तो आशय व्यक्त गरेका हुन् ।
छलफलमा सहभागी पूर्व राजदूत दिनेश भट्टराईले भने, ‘अमेरिकाले चीनको प्रगति देख्न चाहँदैन सम्म भने।’ ‘अनेक बहानामा चीन विरोधी गतिविधि हुने’ चिन्ता दर्साउने क्रममा चिनियाँ नेताले त्यसो भनेका हुन् ।
कांग्रेसका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतका अनुसार दुवै पक्षबीच खुला रूपमा छलफल भएको छ ।
‘उनीहरूले अमेरिकी सहायता सम्झौता एमसीसी र एसपीपी लगायतका विषयमा प्रस्ट कुरा गरे, हामीले पनि खुला रूपमा आफ्ना कुराहरू राख्यौँ,’ महतले सुनाए ।

खुला मनले कुराकानी

डेढ वर्षअघि मात्रै हो काठमाडौंस्थित चिनियाँ राजदूतावासले कांग्रेसलाई स्तब्ध बनाउने खालको एउटा पत्र नै पठाएको थियो । त्यसमा लगाइएका आरोपलाई २०७७ साल कात्तिक २८ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले ‘लामो समयदेखि नेपाली कांग्रेस तथा चिनियाँ सरकार र जनताबीच रहेको मैत्रीपूर्ण सम्बन्धको महत्ता र गरिमा विपरीत’ भन्दै विज्ञप्तिमार्फत् चिनियाँ पक्षको ध्यानाकृष्ट गराएको थियो ।

292711777_605323634344312_5496542050406004721_n.jpg1657451583.jpg
कांग्रेस नेता जीवनबहादुर शाहीले चीनले नेपाली भूमि अतिक्रमण गरेको विवरण सार्वजनिक गरेपछि नेकपाको सरकारका बेला विपक्षी कांग्रेससँग चीनको त्यस्तो वादप्रतिवाद चलेको थियो । त्यही बेला चिनियाँ सरकारको आधिकारिक मतको प्रतिनिधित्व गर्ने भनिएको ग्लोबल टाईम्सले एउटा लेखमा त कांग्रेसलाई भारत परस्त पार्टीको रूपमा चित्रित गरेको थियो । जबकी चिनियाँ राजदूत तत्कालीन नेकपा फुट्न नदिन सक्रिय रहेकी थिइन् । वामपन्थी नेताहरूसँग चिनियाँ नेताहरूको भिडिओ संवाद र छलफलहरू बारम्बार भए ।

‘विचारधारात्मक सम्बन्ध हैन’

त्यसतर्फ सङ्केत गर्दै कांग्रेसले पनि स्पष्ट धारणा राखेको थियो । प्रवक्ता महतका अनुसार नेपाली कांग्रेस र नेपालले कस्तो राजनीतिक र शासन प्रणाली छ भन्ने आधारमा देशहरूसँग व्यवहार र सम्बन्ध नबनाउने कांग्रेस नेताहरूले धारणा राखेका थिए ।
उनले भने, ‘हाम्रो कम्युनिस्ट पार्टी होइन । तर हाम्रो दलीय विचारको आधारमा हामीले सम्बन्ध राख्दैनौँ किन कि यो त देश र देशबीचको सम्बन्ध हो ।’

भ्रमण

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला चीनले नचाहेको भनिएको अमेरिकी सहायता परियोजना एमसीसीका अनुमोदन भएको छ । लगत्तै अमेरिकी उपविदेशमन्त्रीले काठमाडौंस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेको विवरण आयो ।


डेढ वर्ष अघिसम्म चीनले ‘मिलिदिउन् भन्ने चाहेको’ ठानिने तत्कालीन नेकपाबाट बाहिरिएर बनेका दुई दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अघि सरेर देउवालाई प्रधानमन्त्री बनाएका हुन् ।
पछिल्ला वर्षमा चीन ‘भर पर्न खोजेको’ ठानिएको नेकपा विभाजित भएको मौका पारेर कांग्रेसले पनि वैचारिक र सैद्धान्तिक विषयलाई सम्बन्धको आधार बनाउन नहुने सन्देश दिए ।
उनीहरूले पनि उक्त कुरा स्वीकार गरेको उल्लेख गर्दै पूर्व राजदूत भट्टराई भन्छन्, ‘उनीहरूले नै तपाईँहरूको आफ्नो राजनीतिक र सामाजिक प्रणाली छ, मूल्य मान्यता छन् । र, हाम्रो आफ्ना छन् । तैपनि हाम्रो सम्बन्ध एकदम राम्रो छ । त्यसैले हाम्रो यो वैचारिक सम्बन्ध होइन भने ।’

एमसीसी लिएर बीआरआईलाई बेवास्ता ?

पछिल्ला घटनाक्रमसँगै बेल्ट एन्ड रोड इनिसियटीभ बीआरआईलाई अघि बढाउन नेपाल अनिच्छुक रहेको कुराले चीनलाई थप सशङ्कित तुल्याएको कतिपयको बुझाइ पाइन्छ ।
कांग्रेस नेताहरूका अनुसार चिनियाँ पक्षबाट त्यसअन्तर्गत आफ्ना प्राथमिकता निर्धारण गर्न आग्रह गरिएको जबाफमा अहिले ऋण लिन सक्ने अवस्थामा रहेको र अनुदान सहायता परियोजना दिन आग्रह गरिएको छ ।
पूर्व राजदूत दिनेश भट्टराईले नेपालबाट चीन विरोधी गतिविधि नहोस् भन्नेमा उनीहरू आश्वस्त हुन चाहेको बताए ।
प्रवक्ता महत आफ्नो तर्फबाट त्यसमा प्रस्ट पारिएको ठान्छन्। उनले भने, ‘अमेरिका लगायत सबै मित्रराष्ट्रको सहयोग लिने र एमसीसी पनि त्यसकै निरन्तरता हो । हामीले नेपाली भूमि कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन दिन्नौँ भनेका छौँ ।’ एमसीसीभन्दा अघि हस्ताक्षर भएको बीआरआई अन्तर्गत कुनै पनि परियोजना अघि नबढेको र त्यसमा कांग्रेस नेतृत्वको सरकारले नियतवश ढिलाइ गरेको आशङ्का चिनियाँमा रहेको कतिपयको विश्लेषण पाइन्छ ।

बीपी सम्झिँदै सुन्दरी जलमा

लिउ चियान छाओले हालसालै मात्र चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुखको जिम्मेवारी पाएका हुन् ।
उनले कांग्रेसको ‘तीर्थस्थल’ सुन्दरीजलस्थित बीपी सङ्ग्रहालय पुगेर झन्डै एक घण्टा बिताए । बीपी कोइरालालाई दुई पटक राखिएको उक्त जेल सङ्ग्रहालय बनाइएको छ । सङ्ग्रहालय समितिका संस्थापक अध्यक्ष परशुराम पोख्रेलका अनुसार फर्किने बेला चिनियाँ नेताले ‘यहाँ नआएको भए ठूलो कुरा छुटाउने रहेछु’ भनेका थिए ।
उनले भने, ‘बीपी कोइरालाको नेतृत्वको क्रान्तिकालमा चीनसँग मिल्दो जनमुक्ति सेना रहेको, हातहतियार र तोपकासाथै जहाजबारे जानकारी पाएपछि उहाँहरू बिपीबारे नयाँ कुरा थाहा पाएको प्रतिक्रिया दिनुभयो ।’ उनका अनुसार चिनियाँ उच्च अधिकारीको यो नै पहिलो सुन्दरी जल भ्रमण थियो ।
चीनका लागी पूर्व राजदूत राजेश्वर आचार्य त्यसको निकै गहिरो र महत्त्वपूर्ण सन्देश रहेको ठान्छन् । चीनले कांग्रेसलाई प्रस्ताव गरेको अर्थ्याउँदै उनले भने, ‘हामी तिमीहरूसँग निकै नजिक र राम्रो विश्वासका साथ सँगै काम गर्न चाहन्छौँ, के तयार छौ भन्ने किसिमको सन्देश हो ।’

सम्बन्धका सेतु बीपी

नेपाल–चीनबीचको सम्बन्धमा चीनले बीपीलाई निकै महत्त्वका साथ हेर्ने गरेको बताइन्छ । पूर्व राजदूत आचार्यका अनुसार गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री छँदा नेपाल भ्रमणमा आएका चीनका तत्कालीन प्रधानमन्त्रीले ‘बीपी कोइराला र चाउ एनलाईले हुर्काएको दुई देशको सम्बन्ध हो’ भनेर सम्झना गरेका थिए ।
चिनियाँ नेताहरू आफ्नो देशलाई राष्ट्रसङ्घको सदस्यता दिने कुरामा बीपीको दृष्टिकोणबाट प्रभावित देखिन्छन् । उनीहरूले त्यस्तै मैत्री सन्धि र सीमा सम्झौतालाई सार्थकता दिने उनको भूमिकाको प्रशंसा गर्ने गरेको जानकारहरू बताउँछन् ।
तीनै बीपी चीन भ्रमणमा गएका बेलाका फोटोहरू चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका नवनियुक्त प्रमुख लिउले सुन्दरी जलमा निकै रुचिपूर्वक हेरेका थिए ।
सन् २०२२ मा चिनियाँ कम्युनिस्ट पार्टीको संरचनामा व्यापक हेरफेर हुने ठानिएका बेला उनले निकै केलाएर गरेको नेपाल भ्रमण आगामी वर्षको निम्ति दुई देशको सम्बन्ध विकासमा महत्त्वपूर्ण हुने जानकारहरूको ठम्याइ छ ।
पूर्व राजदूत भट्टराई भन्छन्, ‘चिनियाँहरू निकै खुला रूपमा आउन थालेछन्। पहिले जस्तो कूटनीति छैन। चीन धेरै परिवर्तन भएर आएको छ।’
नेपालले चीनलाई कति र कसरी बुझ्न सक्छ त्यो महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।–बीबीसीबाट 

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  ०८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार