बाइडेनले भेट नदिने भएपछि प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द

बिहीबार, असार ३०, २०७९

काठमाठौं । साउन दोस्रो साता अमेरिका भ्रमणमा जाने तयारी गरेका प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमण रद्द भएको छ ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रत्यक्ष भेटघाटलाई अस्वीकार गरेपछि प्रधानमन्त्री देउवाकाे अमेरिका भ्रमण रद्द भएको हो । 
राष्ट्रपति बाइडेनसँगको प्रत्यक्ष भेटका लागि नेपाली अधिकारीले एक महिना यतादेखि प्रयास गरेका थिए । तर अमेरिकी राष्ट्रपति कार्यालयले नेपालका प्रधानमन्त्रीलाई प्रत्यक्ष भेटघाटका लागि इच्छा नदेखाएपछि देउवाले अमेरिका भ्रमण रद्द गरेको स्रोतले बतायो । 
स्टेट पार्टनरसिप प्राेग्राम (एसपीपी) कार्यक्रमलाई नेपालले अस्वीकार गर्ने निर्णय गरेपछि बाइडेन प्रशासनले ‘बलियो कुटनीतिक’ सन्देश दिन प्रत्यक्ष भेटघाटको अवसर प्रदान नगरेको हो । 
मंगलबार अमेरिकी राष्ट्रपति कार्यालयलाई प्रधानमन्त्री कार्यालयले सात पृष्ठ लामो पत्र पठाउँदै एसपीपीलाई लिएर नेपाल भारत र चीनको कडा दबाबमा परेको उल्लेख गरेको छ । 
एसपीपीसँगको सहकार्य सम्बन्धी कागजात मिडियामार्फत बाहिरिएपछि पराराष्ट्रमन्त्री डा.नारायण खड्का तथा प्रधानसेनापति प्रभुराम शर्माले संसदीय समितिमा गएर नेपाल एसपीपीको हिस्सोदार नहुने बताएका थिए । 
संसदीय समितिमा परराष्ट्रमन्त्री तथा सेनाप्रमुखले एसपीपीको विपक्षीमा भनाइ राखेपछि मन्त्रिपरिषद्ले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो ।
प्रधानमन्त्री देउवाले प्रदेश तथा संसदीय निर्वाचन अघिसम्म एसपीपीलाई स्थगन गर्न पराष्ट्रमन्त्रीलाई निर्देशन दिएका छन् । निर्वाचनबाट नेपाली कांग्रेसको सरकार बन्ने अवस्था भए सोही सरकारले एसपीपीबारे उपयुक्त निर्णय लिने पनि प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्रीलाई निर्देशन दिएको स्रोतले बताएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९  ०९:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार