सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को भोलिदेखि हुने तीन दिने भारत भ्रमणका बारेमा छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज साँझ बसेको बैठकले अध्यक्ष दाहालको भ्रमणले नेपाल–भारतबीचको आपसी सम्बन्धलाई थप सुदृढ गर्न मद्दत मिल्ने निष्कर्ष निकालेको छ । बैठकमा अध्यक्ष दाहालले आफ्नो भारत भ्रमणको तयारीका बारेमा ब्रिफिङ गराएका थिए । बैठकले उनको भ्रमण सफलताको कामना गरेको छ । करिब दुई महिना पहिले नै नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले अध्यक्ष दाहाललाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएका थिए । सो भेटका अवसरमा दाहालले जुलाईको पहिलो वा दोस्रो सातासम्म भ्रमण सम्भव हुने जवाफ दिएको उनको सचिवालयले जनाएको छ । सोहीअनुुसार नै भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नड्डाले अध्यक्ष दाहाललाई भारत भ्रमणको औपचारिक पत्राचार गर्नुभएको थियो । दाहाल आगामी साउन १ गते आइतबार स्वदेश फर्कनेछन् ।
यस्तो छ प्रचण्डको भारत भ्रमणको कार्यतालिका
भाजपा अध्यक्ष जे पी नड्डाको निमन्त्रणामा भोलि देखि दिल्ली भ्रमणमा जांदै माओवादी अध्यक्ष प्रचण्डलाई भाजपा मुख्यालयमा स्वागत गरिने छ ।
भाजपा अध्यक्ष जेपी नड्डा संग भाजपा मुख्यालयमै भेटवार्ता हुने तय भएको छ। यस अवसरमा भाजपा विदेश विभाग प्रमुख विजय चौथाईवाले सहित केही अन्य शीर्षस्थ नेताहरूको उपस्थिति हुने बताइएको छ।
तीन दिने भारत भ्रमणको क्रममा माओवादी अध्यक्ष प्रचण्ड र भारतका राष्ट्रीय सुरक्षा सल्लाहकार अजीत डोभाल बीच भेटवार्ता तय भएको छ। यस्तै भारतका विदेश मन्त्री डा एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासंग पनि प्रचण्डको भेट तय गरिएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट अहिले निश्चित नभएको जानकारी दिइएको छ।