सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले राष्ट्र निर्माण र रोजगारी सिर्जनामा पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । ठमेल पर्यटन विकास परिषद्को २५, २६ र २७ औँ वार्षिक साधारणसभा एवं निर्वाचनको आज उद्घाटन गर्दै उनले राष्ट्र निर्माण र रोजगारी सिर्जनामा पर्यटन क्षेत्रले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गरे । “पर्यटन क्षेत्रले नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाएको छ, कोरोनाबाट थलिएको पर्यटनलाई अगाडि बढाउन स्थानीय प्रशासन सधैँ सहयोग गर्न तयार छ”, उनले भने । केही पर्यटन व्यवसायीबाट ठमेललाई बद्नाम गराउने कार्य भएको भन्दै उहाँले त्यस्ता व्यवसायीमाथि स्थानीय प्रशासनले निगरानी गरिरहेको उल्लेख गरे । प्रजिअ रिजालले देशकै पुरानो पर्यटकीय क्षेत्रलाई जोगाएर राख्नु सबै व्यवसायी तथा घरधनीको उत्तिकै दायित्व हुने बताए । काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल क्षेत्रमा कसरी पर्यटक बढाउन सकिन्छ भन्नेबारे सोच्न सबै व्यवसायीलाई आग्रह गरे । ठमेलको विकासका लागि स्थानीय सरकार सधैँ सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।
“ठमेलको विकासका लागि सोच्नुभन्दा पनि कसरी नेतृत्व आफ्नो हातमा ल्याउन सकिन्छ भन्नेबारे व्यवसायी लागेका छन्, यो ठमेलका लागि दुर्भाग्य हो”, उनले भने । रात्रिकालीन व्यवसायलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे व्यवसायीले सोच्नुपर्ने बेला आएको अध्यक्ष तिवारीको भनाइ छ । ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले रोजगारी सिर्जना गर्ने व्यावसायिक थलो ठमेलको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । ठमेल पर्यटन परिषद्का पूर्वध्यक्ष डा रामशरण थपलिया र समीर गुरुङले घरधनी तथा व्यवसायी मिलेर ठमेल क्षेत्रको विकासमा लाग्नुपर्नेमा जोड दिए। विसं २०४७ मा स्थापना भएको ठमेल पर्यटन परिषद्मा नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । निर्वाचनमा ठमेल क्षेत्रका एक हजार ५९९ घरधनी तथा व्यवसायीले आफ्नो मताधिकार प्रयोग गर्ने परिषद्का अध्यक्ष प्रकाशनरसिंह राणाले जानकारी दिए। ठमेलको नयाँ नेतृत्वका लागि भविश्वर शर्मा र ध्रुव अधिकारीको समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।
मिथिला आर्ट ठमेलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु
बङ्गलादेशका वरिष्ठ कलाकार एसएम सुल्तानको स्मृतिमा तीनदिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जिपी कोइराला फाउण्डेशन आर्ट एण्ड कल्चर डिपार्टमेन्टको सहकार्यमा मिथिला येँ आर्ट ग्यालरी ठमेलमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको हो । प्रदर्शनीमा नेपाल, बङ्गलादेश, भारत, थाइल्याण्ड, जिम्बाबे, अमेरिका, बुल्गेरिया, रसिया, मलेसिया, टर्की र श्रीलङ्काका कलाकारका चित्र प्रदर्शनीमा राखिएका छन् । उक्त प्रदर्शनको शुभारम्भ गर्दै वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्यले विश्वका सबै कलाको आ–आफ्नो विशेषता रहेको बताउँदै यस्ता कला प्रदर्शनीले अन्तर्राष्ट्रियस्तरमा नेपाली कलालाई जोडेको बताउनुभयो । नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दीन नोमन चौधरीले संस्कृति र प्रकृतिले सुन्दर नेपालमा कला प्रदर्शन गर्नु बङ्गलादेशी कलाकारका लागि खुसीको कुरा भएको बताए । उनले आगामी दिनमा पनि यस्ता कला प्रदर्शनीलाई निरन्तरता दिने बताए । बङ्गलादेशका वरिष्ठ कलाकार मलायकुमार कुन्दु तथा लेखक तीर्थ निरौलालगायतले नेपाल र बङ्गलादेशको सांस्कृतिक सम्बन्धलाई कलाले जोडेको बताउनुभयो । जिपी कोइराला फाउण्डेशन आर्ट एण्ड कल्चरका संयोजक रामसुन्दर यादवले फाउण्डेशनले संसारभरका कलाकारलाई जोड्ने काम गर्दै आएको बताए । उनले १७ वर्षदेखि सञ्चालनमा रहेको मिथिला येँ आर्ट ग्यालरीमा हालसम्म ३०० भन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन गरिसकेको बताए । तीन वर्षदेखि फाउण्डेशनको सहकार्यमा कला प्रदर्शन गर्दै आएको उनको भनाइ छ । प्रदर्शनीमा बङ्गलादेशका ३५, भारतका १९, नेपालका दुई र विभिन्न देशका गरी ६९ कलाकाका चित्र प्रदर्शनमा राखिएका छन् ।