पत्रकार महासंघमा विपुल पाेखरेल नेतृत्वको प्यानल विजयी

अध्यक्षमा विजयी विपुल पोखरेल भन्छन्, ‘श्रमजीवि पत्रकार र प्रेस स्वतन्त्रताको पक्षमा लाग्नेछु’ 
शनिबार, चैत २८, २०७७

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा विपुल पोखरेल विजयी भएका छन् । २६ औं महाविधेश अन्तर्गत गत बुधबार भएको निर्वाचनमा विपुलले ६ हजार नौ सय ४२ मत प्राप्त गरे भने उनका प्रतिस्र्धी वाम गठवन्धनकी निर्मला शर्माले ३ हजार नौ सय १५ मत प्राप्त गरिन् । अध्यक्ष पदका अर्का उम्मेदवार रामप्रसाद दाहालले १ सय ५६ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले ४ सय ९१ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्षमा विजयी रमेश विष्टले ६ हजार सात सय ४१ मत प्राप्त गरे भने उनका प्रत्यासी माधव नेपालले ३ हजार सात सय ८१ मत प्राप्त गरे । 


उपाध्यक्ष (महिला) मा बाला अधिकारीले ७ हजार दुई सय २६ प्राप्त गरेर दाना केसी (सुवेदी) लाई पराजित गरेकी छिन् । दानाले ३ हजार पाँच सय २८ मत प्राप्त गरिन् ।  उपाध्यक्ष (समावेशी) पदमा उदय जीएम विजयी भएका छन् । उनका प्रतिस्पर्धी अवधेश झाले ३ हजार ५ सय ६१ मत प्राप्त गरेका छन् ।  महासचिव पदमा रोशन पुरी ६ हजा दुई सय ४२ मत ल्याएर विजयी भएका छन् । महासचिव पदका प्रतिस्पर्धी बालकृष्ण बस्नेतले ३ हजार ८ सय ६० मत प्राप्त गरे । कोपाध्यक्षमा कलेन्द्र सेजुवाल ५ हजार ६ सय ७८ मत ल्याएर विजयी भएका छन् ।  त्यसैगरी सचिव (खुल्ला) तर्फ गोविन्दप्रसाद चौलागाई, सचिव (महिला) मा सिर्जना अर्याल, सचिव (आदिवासी जनजातितर्फ नारायण किलम्बु, सचिव  (मधेशी) दीपेन्द्र चौहान, सचिव ( दलित) हेमकर्ण विक, सचिव (एसोसियट) पवन आचार्य विजयी भएका छन् ।  लेखा समिति संयोजकमा पाँच हजार ६ सय ८८ मत ल्याएर लेखनाथ न्यौपाने विजयी भएका छन् । मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गरिएको हो । 


महासंघको नयाँ नेतृत्व चयनका लागि बुधबार देशभर मतदान भएको थियो । महासंघको केन्द्रीय समिति, प्रदेश समिति,  जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसियटमा नयाँ नेतृत्वको लागि ९३ हजार भन्दा बढी सदस्य मतदान प्रक्रियामा सहभागी थिए। केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेवारी परेको थियो भने समितिको अध्यक्षमा विपुल पोखरेल र निर्माला शर्माले प्यानल सहित उम्मेदवारी दिएका थिए । गजेन्द सिंह बुढाथोकी पनि अध्यक्षको प्रत्यासी रहेका थिए । यसैबीच अध्यक्ष पदमा विजयी विपुल पोखरेलले श्रमजीवि पत्रकार र प्रेस स्वतन्त्रतालाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् । निर्वाचन नयाँ नेतृत्वको चयनको प्रक्रिया भएको बताउँदै उनले शब्दपाटीसँग भने, ‘प्रतिस्पर्धामा रहेका साथीहरुले उठाएका मुद्दाहरुलाई समेटेर देशभरका पत्रकारको हकहित र अधिकारको लागि काम गर्नेछु ।’  कोभिड संक्रमण फैलिएको अवस्थामा फिल्डमा खटिएर समाचार संकलन गर्नुपर्दा पत्रकार जोखिममा परेको बताउँदै सुरक्षित भएर काम गर्ने सन्दर्भमा संचारगृह, पत्रकार लगायत सरोकारवालाहरुको भूमिकाका बारेमा समेत छलफल गर्ने उनले जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १९:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार