सोसल मिडिया
Contact Us
युनिकोड
भक्तपुर, २ साउन । यहाँका प्रसिद्ध शिवालयमा एकमहिने साउने मेला सुरु भएको छ । साउनको पहिलो सोमबार आज बिहानैदेखि यहाँका प्रसिद्ध शिवालयमा दर्शनार्थीको घुइँचो लागको छ । सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा आइतबारदेखि नै एकमहिने साउने मेला सुरु भएको डोलेश्वर महादेव मन्दिर संरक्षण एवं विकास समितिका पूर्वउपाध्यक्ष तथा पूर्ववडाध्यक्ष किरण थापाले बताए । आज सोमबार भने मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको जानकारी दिँदै उनले भक्तपुरको जगातिबाट डोलेश्वर महदेव मन्दिर जाने दुई सडकलाई एकतर्फी यातायात सञ्चालन गरिएको, मन्दिरमा लाइन व्यवस्थापनका लागि स्वयंसेवक परिचालन गरिएको जानकारी दिए । बिहानैदेखि दर्शनार्थीको भीड लागेको जनाउँदै उनले एकमहिने मेलामा दिनभरि नै मेला भर्न सकिने भए पनि सोमबार र शनिबार भने निकै भीड लाग्ने बताए । मेलाको सुरुआतमै आइतबार स्थानीयले कलश यात्रा गरी चतुरर्भजाचार्य चुरामणि महाराजबाट मेलाको उद्घाटन गरिएको थियो भने सूर्यविनायक नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । सूर्यविनायकका नगर प्रमुख वासुदेव थापाले नगरपालिकाले धार्मिक क्षेत्रको विकास र प्रवद्र्धनमा ठूलो टेवा पु¥याएको जनाउँदै डोलेश्वर मन्दिरको भौतिक संरचना र विकासमा नगरपालिकाले सहयोग गर्दै आएको बताए । उनले नगरपालिका क्षेत्रलाई शिव सर्किटको निर्माण गरी धार्मिक पर्यटनको विकास गर्ने बताए । त्यसैगरी सिपाडोलको अर्को प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको छ । मनको आशा पूरा गर्ने महादेवका रुपमा परिचित रहँदै आएको यो मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । डोलेश्वर हँुदै आशापुरी जान र नंखेल काँक्राबारी हँुदै आशापुरी जान दुईतर्फी सडक सञ्चालनमा आएपछि यो मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्न थालेको हो । त्यसैगरी सूर्यविनायक नंखेलस्थित नन्दीकेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ भने सूर्यविनायक नपास्थित सिरुटारको गुप्तेश्वर, सोमलिङ्गेश्वर, चरखण्डीश्वर, अनन्तलिङ्गेश्वर, सुवर्णेश्वर, लटरम्बेश्वर र अग्लो महादेवका रुपमा चिनिएको कैलाश महादेवमा पनि दर्शनार्थीको बिहानैदेखि भीड लागेको छ । भक्तपुर नगरपालिकास्थित प्रसिद्ध दत्तात्रय मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । भीड व्यवस्थित गर्न स्वयंसेवक परिचालन गर्नाका साथै लाइनमा बस्नेका लागि टोकनको व्यवस्था गरिएको छ । भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोकदेखिका दर्शनार्थीको आगमनले यहाँका महादेव मन्दिर भरिभराउ भएका छन् । रासस