सोसल मिडिया
Contact Us
युनिकोड
लण्डन । यूकेमा ३८.१ डिग्री सेल्सियस तापमानसहित हालसम्मको सबैभन्दा गर्मी दिन कायम भएको छ र मौसमविद्हरूले मङ्गलवार तापक्रम अझै बढ्ने चेतावनी दिएका छन् । सोमवारको उक्त तापक्रम स्यान्टन डाउनह्याम, सफोकको हो र त्यसबाहेक प्राय ठाउँको तापक्रम ३७ डिग्री सेल्सियस नाघेको थियो । यूकेको मौसम पूर्वानुमान सम्बन्धी कार्यालयले सोमवार र मङ्गलवार इङ्गल्यान्डका धेरैजस्तो क्षेत्रमा तापक्रम ४१ डिग्री सेल्सियससम्म पुग्ने र अत्यधिक गर्मी हुने चेतावनी दिएको थियो । सन् २०१९ मा केम्ब्रीजमा मापन गरिएको ३८.७ डिग्री सेल्सियस यूकेको हालसम्मको उच्च तापक्रम हो । त्यसअघि सन् २००३ मा केन्टको फाभरशाको तापक्रम ३८.५ डिग्री मापन गरिएको थियो । त्यसैले सोमवार त्यहाँको हालसम्मकै तेस्रो सर्वाधिक गर्मी दिन र यो वर्षको सबैभन्दा गर्मी दिन बन्यो । फ्लिन्टशायरको हावर्डेनमा ३७.१ डिग्री सेल्सियस तापमान मापन गरिएको थियो। मौसम कार्यालयको तथ्याङ्कका अनुसार त्यो जुन वेल्सको हालसम्मकै सर्वाधिक उच्च तापक्रम हो ।
रातको समयमा मध्ये २४ २५ डिग्री सेल्सियसको हाराहारीसहित तापक्रम उच्च रहने पूर्वानुमान गरिएको छ । मङ्गलवार यूकेको पश्चिमी भूभागमा दिन केही शीतल हुनसक्छ तर मिडल्यान्ड्स र इङ्गल्यान्डको पूर्वी भागहरूमा तापक्रम ४० डिग्री सेल्सियसको हाराहारी रहन सक्छ । लिन्कनशायरमा तापमान ४२ डिग्री सेल्सियस पुग्न सक्ने सम्भावना आकलन गरिएको बीबीसी मौसम प्रस्तोता बेन रिचले भने ।
चरम मौसम र मृत्यु सोमवार, मेडेनहेडस्थित बर्कशायरमा एक जना १६ वर्षीय युवकको मृत्यु भयो। त्यस्तै त्यहाँको मेट्रोपोलिटन प्रहरीका अनुसार एक जना १४ वर्षीय किशोर बेपत्ता भएका थिए । दक्षिण-पश्चिम लन्डनस्थित ह्याम्पटनमा रहेको टापुमा प्रवेश गरेपछि उनको असामयिक निधन भएको ठानिएको छ । गर्मीका कारण केही विद्यालयहरू चाँडै बन्द गरिएका थिए भने केही सञ्चालन नै गरिएन । यद्यपि, सरकारले पठनपाठन ठप्प नपार्न निर्देशन दिएको छ । एक शिक्षण सङ्घका अनुसार धेरै विद्यालयले खुला थिए । नेटवर्क रेलले मानिसहरूलाई सोमवार र मङ्गलवार 'अत्यावश्यक भएमा मात्र' यात्रा गर्न भनेको थियो। तीमध्ये केही रेलको सञ्चालन रद्द भयो र सञ्चालन भएका रेलको गतिमा प्रतिबन्ध लगाइएको छ । रक्षा मन्त्रालयका अनुसार अक्सफोर्डशायरस्थित एक धावनमार्गको सतह पग्लिएको विवरण आएपछि विमानहरूले वैकल्पिक एअरफिल्डहरू प्रयोग गरिरहेका छन् ।
त्यस्तै चरम तातो मौसमका कारण धावनमार्गको एक भाग उचालिए पछि लुटन विमानस्थलमा उडानहरू स्थगित गरिएको विमानस्थलले जनाएको छ । इजीजेटका अनुसार केही उडानहरू नजिकैको विमानस्थलहरूतर्फ मोडिएको छ भने केही रद्द गरिएको छ । स्कटल्यान्ड र उत्तरी आयरल्यान्डमा पनि सोमवार वर्षको सबैभन्दा गर्मी दिन रह्यो । अबोइन, एबर्डिनशायरमा ३१.३ डिग्री सेल्सियस र डेरिलिन, काउन्टी फर्मानागमा ३१.१ डिग्री सेल्सियस तापक्रम थियो । लन्डन, केम्ब्रीज, सरे र सफोकका अन्य ठाउँहरूमा ३७ डिग्री सेल्सियसभन्दा माथिको तापक्रम मापन गरिएको थियो । ३६ डिग्री सेल्सियस तापक्रमसहित कर्नवालमा सर्वाधिक तातो दिन रह्यो । इङ्गल्यान्ड, वेल्स र स्कटल्यान्डका केही भागहरूमा चेतावनीका दिइएको छ जसले लन्डनदेखि योर्क र म्यानचेस्टरसम्म ठूलो क्षेत्रलाई समेट्छ ।
आपत्कालको चेतावनी
गत वर्षदेखि प्रयोगमा भएको रङ्गको आधारमा चेतावनी दिइने प्रणाली लागू भएयता, मौसम विभागले पहिलोपटक रातो चेतावनी दिएको हो । त्यसको मतलब 'मानिस र भौतिक पूर्वाधारमा व्यापक प्रभावूको सम्भावना रहन्छ र ूदैनिक कार्यमा व्यापक परिवर्तन' आवश्यक हुन्छ । नेशनल फायर विभागका प्रमुखले त्यहाँ केही दिनमा जङ्गली डढेलोको चेतावनी दिएका थिए । बर्मिङ्घमको नजिकै रहेको लिकी हिल्स कन्ट्री पार्कको जङ्गलमा आगो फैलिएको छ । सन् १९७६ मा भएको विस्तारित ताप लहर र खडेरीको तुलनामा हाल अपेक्षित तापमान १० डिग्री सेल्सियससम्म बढी छ । यूकेको स्वास्थ्य सुरक्षा निकायले इङ्गल्यान्डमा स्तर चार बराबरको चेतावनी जारी गरेको छ जसलाई सरकारले 'राष्ट्रिय आपत्काल'को रूपमा लिन्छ । अधिक गर्मीका कारण स्वास्थ्य प्रणालीमा पनि दबाब परेको छ र स्वास्थ्यमन्त्री स्टीभ बारक्लेले सरकारले अवस्थालाई 'उच्च चिन्ताको विन्दुबाट' नियालिरहेको बताएका छन् । बढ्दो तापक्रमले गर्दा युरोप र उत्तर अफ्रिकाका धेरैजसो क्षेत्रमा विनाशकारी असर देखिएको छ । जङ्गलको डढेलो ग्रीसदेखि मोरक्कोसम्म फैलिएको छ र पोर्चुगल र स्पेनका हजारौँ मानिस विस्थापित भएका छन् भने एक हजार भन्दा बढीको मृत्यु भएको छ ।
हिमनदी पग्लिँदा लाखौँ मानिस बाढीको जोखिममा
शनिवार साँझ पौडी खेलिरहेका १६ वर्षीय किशोर र आइतवार नर्थम्बरल्याण्डको टाइन नदीमा बेपत्ता भएका १३ वर्षीय बालकको मृत्यु भएपछि मानिसहरूलाई सावधानी अपनाउन भनिएको छ । दक्षिणी र पूर्वी इङ्गल्यान्डका पानी बिक्री वितरण गर्ने कम्पनीहरूले बढ्दो मागका कारण आपूर्तिमा कठिनाइ भएको जनाएका छन् । विज्ञहरूले आम मानिसलाई पानी पिउन, घरको पर्दाहरू बन्द राख्न र आफन्त तथा साथीभाइहरूबारे जानकार रहन आह्वान गरेको छ। गर्मीका कारण जनावर, आगन्तुक र कर्मचारीहरूलाई सुरक्षित राख्न चेस्टर जू बन्द रहने जनाइएको छ। वेल्समा सुँगुरहरूलाई घामको किरणबाट जोगाउने क्रिम लगाइएको छ । त्यस्तै ताप लहरभरि कुकुर तथा बिरालोलाई लिएर नहिँड्ने सुझाव दिइएको छ । रेस्टुराँहरू पनि केही बन्द भएका छन् र खाना आपूर्ति प्रभावित छ ।-बिबिसी