सोसल मिडिया
Contact Us
युनिकोड
हेटौँडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले पछिल्लो समय देशभर कोभिड–१९ को सङ्क्रमणसँगै प्रदेशमा गर्मी तथा वर्षायाममा देखापर्ने सङ्क्रामक रोगको पनि जोखिम रहेको बताएका छन् । बागमती प्रदेशसभाको बैठकमा सार्वजनिक महत्वका विषयमा मन्त्री लामाले रोकथामको तयारीका साथै प्रदेशमा सचेतना फैलाउन ध्यान दिनुपर्ने बताए । उनले हालै काठमाडौँ उपत्यका तथा अन्य केही सहरमा झाडापखालाको प्रकोप देखिएको र परीक्षणका क्रममा हैजासमेत देखिएको बताए । उनले पछिल्लो जानकारीअनुसार ३४ जनामा हैजा देखिएकामा पाँच वर्षसम्मका बालबालिका तीन जना रहेको जानकारी दिए । हाल प्रदेशमा दैनिक २३४ जनामा कोरोना सङ्क्रमण भइरहेको जनाए । मन्त्री लामाले सङ्क्रमण दर नियन्त्रण गर्नका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वयमा कोभिडविरुद्धको खोप अभियान तीव्ररुपमा सञ्चालन गरिरहेको जानकारी दिए । उनले कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि खोपको साथसाथै आम नागरिकमा सचेतना फैलाउन अति आवश्यक रहेको बताउँदै सम्पूर्णमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न र कोभिडविरुद्धको खोप लगाउन अनुरोध गरे । यसैगरी मन्त्री लामाले विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्स रोगलाई अन्तर्राष्ट्रिय जनस्वास्थ्य आपत्काल घोषणा गरेको बताउँदै नेपालमा पनि उक्त रोग आउन सक्ने भन्दै तयारी अवस्थामा रहन आवश्यक रहेको बताए । उनले सङ्क्रामक सरुवा रोगको समयमै पूर्वतयारीका साथ रोकथाम तथा नियन्त्रणका उपाय अपनाउनु पर्ने बताए । मन्त्री लामाले कोभिड–१९ र मङ्कीपक्स जस्ता विश्वव्यापी महामारी र हैजा, डेँगु, स्क्रबटाइफस आदि जस्ता मौसमजन्य एवं फैलदो रोगको समयमै रोकथाम, नियन्त्रण तथा व्यवस्थापनको लागि सङ्घीय सरकार तथा स्थानीय सरकारसँगको समन्वयमा बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय पूर्णरुपमा तयारी अवस्थामा रहेको जानकारी दिए । लापरबाहीले सुदूरपश्चिममा कोरोना सङ्क्रमण बढ्दै कोरोना भइरसको रोकथाममा नागरिकहरुबाट भइरहेको लापरबाहीले यो रोगको सङ्क्रमण पछिल्ला दिनमा बढ्न थालेको छ । सङ्क्रमित व्यक्तिलाई निगरानीमा राख्न भइरहेको कमीकजोरी र सङ्क्रमित स्वयम्ले पनि चासो नदिँदा यो रोगको सङ्क्रमण दर बढ्न थालेको स्वास्थ्यकर्मीले बताएका छन् । कैलालीको गौरीफन्टा सीमानाकास्थित हेल्थ डेस्कका अहेब गणेश साउदले नागरिकहरुले आफ्नो व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा र सङ्क्रमित व्यक्तिबाट लापरबाही हुँदा पछिल्ला दिनमा सङ्क्रमण बढेको बताए । मास्क लगाएर सङ्क्रमण हुनबाट सुरक्षित हुन सकिने भए पनि अधिकांश नागरिकले मास्क र स्यानिटाइजरको प्रयोग गरेको देखिँदैन । सीमानाका हुँदै नेपाल भित्रिने कोरोना पोजेटिभ बिरामीलाई सिधै होम आइसोलेशनमा पठाउने गरिएको छ । “हेल्थ डेस्कमा नमूना परीक्षणबाट कोरोना पोजेटिभ देखिने बिरामीलाई मास्क र स्यानिटाइजर उपलब्ध गराएर होम आइसोलेशनमा बस्नुपर्ने सल्लाह दिन्छौँ,” अहेब साउदले भने, “पोजेटिभ बिरामीको उपचार व्यवस्थापनका साथै सङ्क्रमण थप फैलिन नदिन सम्बन्धित पालिकाले चासो नलिँदा पनि रोकथाम हुन सकिरहेको छैन ।” धनगढीको कनरीमा विगतमा सञ्चालनमा आएको आइसोलेशन सेन्टर बन्द रहेको छ भने कोरोना रोकथामलाई लक्षित गरेर धनगढी–३ मा निर्माण पूरा भएको होल्डिङ सेन्टर पनि प्रयोगमा ल्याइएको छैन । नेपाली सेनामार्फत निर्माण भएको होल्डिङ सेन्टर पालिकालाई हस्तान्तरण गर्न बाँकी रहेको जनाइएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सरोकारवालासँग छलफल गरेर कोरोना भाइरसको रोकथामको पहल भइरहेको बताए । उनले भने, “एक दुई दिनभित्र सरोकारवालासँग बैठक राखेर रोकथामको प्रयास गर्न लागेका छौँ ।”
एकैदिन १९ जनामा सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा सोमबार एकै दिन १९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घन्टामा पिसिआर र एन्टिजेन पद्धतिबाट ४१४ जनाको नमूना परीक्षण गर्दा १९ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । पछिल्ला दिनमा प्रदेशमा कोरोनाका सक्रिय बिरामी पनि बढेका छन् । आइतबारसम्म १३ जना सक्रिय बिरामी (एक्टिभ केस) रहेकामा आज एकै दिनमा यो सङ्ख्या बढेर २३ पुगेको छ । आज थपिएका बिरामीसमेत कोरोना भाइरस फैलिएयता प्रदेशमा हालसम्म जम्मा ५९ हजार ८१० सङ्क्रमित पुगेका छन् । कोरोना भाइरसको आशङ्कामा आइतबार २२३ र आज ४१४ जनाको स्वास्थ्यको नमूना परीक्षण गरिएको थियो । गत फागुनयता यो रोगले हुने मृत्यु दर भने प्रदेशमा शून्य छ । सङ्क्रमण हुने दर पनि घट्दै गएकामा पछिल्ला दिनमा पुनः बढ्न थालेको छ । छिमेकी देश भारतमा यो रोगको सङ्क्रमण बढेसँगै नेपालमा पनि यो रोगको सङ्क्रमण बढ्न थालेको स्वास्थ्यकर्मीको भनाइ छ । प्रदेशका विभिन्न सीमानाकाबाट आइतबार २८२ र सोमबार ३७७ जना नेपाल भित्रिएका छन् । सीमानाकामा कोरोनाको लक्षण देखिएका व्यक्तिको एन्टिजेन विधिबाट स्वास्थ्यको नमूना परीक्षण हुने गरेको छ ।