चौंरी गोठालाले पत्ता लगाएको आकाशे ताल अवलोकन गर्न गए वडाध्यक्ष

बुधबार, साउन ११, २०७९
मयुर प्लाई

जुम्ला । प्रकृतिको काखमा रहेका धेरै ताल अझै पनि ओझेलमा परेका छन्।  मानव समाजको पहुँचबाट धेरै टाढा रहेका तालहरूको संरक्षणमा  कुनै निकायको ध्यान जान सकेको छैन । भौगोलिक विकटता, असमानुपातिक विकास र पर्यटकीय गन्तव्यहरूको खोज अनुसन्धानको कमीका कारण ती तालको संरक्षण नभएको हो । जसकारण धेरै ताल गुमनाम अवस्थामा छन् ।

प्राकृतिक र पर्यटकीय महत्वका स्थलहरू कर्णालीमा धेरै छन् यद्यपि तिनको उजागर हुन सकेको छैन । गुठीचौर गाउँपालिका-१ मणिसाँघुबाट डेढ दिनको दूरीको ४७०० मिटरमा अवस्थित आकाशे ताल (स्काई लेक), ४३०० मिटरको हिउल्सा ताल र ४००६ सय मिटर उचाइमा रहेको दूधकुण्डली ताल पर्यटकहरूको पर्खाईमा छन् ।

ती ताल सात वर्षअघि चौंरी गोठालाहरूले पत्ता लगाएका थिए । ती तालहरू रहेको क्षेत्रमा वडाध्यक्ष अर्जुनकुमार महताराको टोली अवलोकन गरेर फर्केको छ । महताराका अनुसार डोल्पा नजिक पर्ने तालमा मणिसाँघु हुँदै घाट ओडार, दूधकुण्डली र हिउल्सा ताल भएर आकाशे तालमा पुगिन्छ । तालको उत्तरपट्टि डोल्पाको जगदुल्ला हिमाल पर्छ । गुठिचौर गाउँपालिका-१ जुम्लाको प्रशासनिक केन्द्र मणिसाँघुबाट करिब १८ घण्टाको दूरीमा रहेको आकाशे तालमा पहिलोपटक वडाध्यक्ष टोली पुगेको हो । “यसअघि चौंरी गोठालाहरू मुस्किलले त्यहाँ पुगेका रहेछन्,”महताराले भने, “त्यो पनि चौंरी हराउँदा खोज्दै जाने क्रममा ताल देखिएको रहेछ ।”

Hiulsa-tal-1536x1152.jpg1658906046.jpg

ताल पत्ता लगाउन भूमिका खेलेकाका सोही वडाका ५० वर्षीय स्थानीय साङ्बो गुरुङका अनुसार २०७२ मा चौरी खोज्दै जाने क्रममा तालमा पुगिएको बताए । त्यहाँ सजिलै मान्छे नपुग्ने र त्यसको महत्वबारे थाहा नभएकाले पनि आकाशे तालको कुरा बाहिर आउन नसकेको उनको भनाइ छ। 

आकाशको जस्तो नीलो रंग भएकाले त्यसलाई आकाशे ताल भनिएको उनले बताए । वडाध्यक्ष महताराको टोलीले आकाशे तालसहित हिउल्सा ताल, दूधकुण्डली प्रकाशमा ल्याएको छ । पर्यटन विकास र प्रवर्द्धनबाट अर्थतन्त्रमा वृद्धि हुने भन्दै उनले पर्यटकहरूको सहज पहुँच एवं आवतजावतका लागि त्यहाँसम्म सडक पुग्न आबश्यक रहेको बताए । उनले आकाशे तालसम्म पुग्ने बाटो निर्माणका लागि करिब ७० लाख बजेट लाग्ने अनुमान गरिएको बताए ।

कान्छो कैलाश पर्वतका रूपले चिनिने यो तालको शिरमा दूधकुण्डली हिमाल अवस्थित छ । शिरमा हिमाल, त्यसको तल कालापत्थर र तालको वरिपरि हरियो बुट्यान छ । निकै मनमोहक देखिने उक्त ताल घुम्न एक घन्टाको समय लाग्ने वडाध्यक्ष महताराले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार