अझैसम्म युरिया मल अभाव

शनिबार, साउन १४, २०७९
मयुर प्लाई
Global Ime Bank


कञ्चनपुर । धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ ।    युरिया मल अभाव भएपछकिसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ । कृष्णपुर नगरपालिका–५ का किसान जग्गु चौधरीले युरिया मल नपाइदा रु एक हजार ६०० बढी तिरेर भारतबाट अबैधरुपले ल्याइएको मल खेतबारीमा हाल्नुपरेको बताए  ।   
 
    “अनुदानको मल पाइएन”, उनले भने , “मल राख्नुपर्ने बेला भइसकेपछि बाध्य भएर जस्तो भएपनि चर्को मूल्य तिरेर अबैधरुपले ल्याइएको  मल प्रयोग गरेका छौँ ।” भारतबाट तस्करी गरी बजारमा खुलेआम बिक्री भइरहेका रासायनिक मल नियमन गर्ने र गुणस्तर जाँच गर्ने निकायसमेत नहुँदा किसानले जस्तो मल पायो सोही प्रयोग गर्ने गरेका छन् । त्यस्तोे मलसमेत पाउन निकै गाह्रो हुने गरेको किसानको गुनासो थियो । अनुदानको मल सहकारी संस्थाले रु एक हजार प्रतिबोराका दरले उपलब्ध गराउने भए पनि भारतीय मल युरिया भने बजारमा रु एक हजार ६०० देखि रु रु एक हजार ८००सम्ममा बिक्री भइरहेको छ ।    
साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड महेन्द्रनगर उपशाखाले छ हजार बोरा रासायनिक मल सहकारी संस्थामार्फत किसानलाई बिक्री गरेको जनाएको छ ।  चालु आवको साउन महिनाको पहिलो सातामै उपशाखाले सहकारी संस्थामार्फत किसानलाई रासायनिक मल बिक्री गरेको हो । प्रतिबोरा युरिया रु ८८१ मा सहकारीमार्फत किसानलाई बिक्री गरेको उपशाखा प्रमुख दीपक भट्टले बताए  ।  उनका अनुसार उपशाखामा अझै एक हजार ८८४ बोरा युरिया र दुई हजार १०० बोरा डिएपी मल मौज्दात रहेको छ ।    “पाँच दिनअघिदेखि किसानलाई युरिया मल बिक्री गरिरहेका छौँ”, उपशाखा प्रमुख भटृले भने , “युरिया मलको माग अधिक छ । थोरै मौज्दातले पुग्दैन ।” मौज्दात रहेको मल एक दुई दिनमै सहकारी संस्थालाई बिक्री गरिसक्ने उनले बताए  ।  कर्पोरेशनमा १०२ वटा सहकारी संस्था सूचीकृत छन् ।  

    कर्पोरेसनले ५० किलोग्रामको बोरा रु आठ सय ८१ मा सहकारीलाई बिक्री गरेको युरिया मल किसानलाई सहकारीले रु एक हजार १०० मा बिक्री गररिहेको छ । लोड, अनलोड, ढुवानी खर्चसमेत जोडेर कर्पोरेसनबाट खरिद गरिएको मल किसानलाई बिक्री गरिँदै आएको सहकारी सञ्चालकको भनाइ छ । 
    अर्को सरकारी रासायनिक मल आपूर्ति गर्ने संस्था कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखासँग भने रासायनिक मलको मौज्दात नै छैन । शाखाप्रमुख बलबहादुर शाहले रासायनिक भैरहवासम्म पनि आइनपुगेको बताए  । “भारतको कलकता बन्दरगाहमा आइपुगेको जानकारी भएको छ”, उनले भने  “भैरहवा आइपुग्न एक हप्ता बढी लाग्छ । यहाँ आइपुग्न दुई हप्ता बढी लाग्छ ।” 
 “कैलाली र कञ्चनपुरका लागि अझै ढुवानीको टेण्डर नै भएको छैन । किसानले युरियाका लागि दुई तीन हप्ता अझै कुर्नुपर्ने देखिन्छ”, शाखाप्रमुख शाहले भने । कञ्चनपुरका लागि रासायनिक मलको ३० प्रतिशत साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले र ७० प्रतिशत रासायनिक मलको आपूर्ति कृषि सामग्री कम्पनीले गर्दै आएको छ । दुवै कम्पनीले आपूर्ति गर्ने मलभन्दा किसानको माग अधिक रहेको छ । यसका लागि सरकारले मागअनुसार कोटा वृद्धि गरिनुपर्ने किसानले माग गर्दै आएका छन् ।   रासस
  


 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १३:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार