सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिका–२४ स्थित धापाखेल नागपोखरीमा नागपञ्चमी मेला लागेको छ । हरेक वर्ष श्रावण शुक्लपक्ष पञ्चमी तिथिका दिन सो स्थानमा मेला लाग्ने गर्दछ । नागदह संरक्षण समितिका अध्यक्ष सलामसिंह मोक्तानले नागपोखरीमा दर्शनार्थीको भीड लागिरहेको बताए । कोरोना महामारीका कारण दुई वर्षअघिदेखि उक्त स्थानमा मेला लागेको थिएन । सो मेलालाई व्यवस्थित बनाउन क्लब, सहकारी एवं महिला समूहका स्वयंसेवकले सहयोग गरिराखेका ललितपुर २४ का वडाध्यक्ष दिनेशजङ्ग पाण्डेले जानकारी दिए । उनले भने, “यहाँ लाग्ने मेला संरक्षणका लागि महानगरपालिकाले नगरस्तरीय योजनामार्फत कला र संस्कृति संरक्षणमा छुट्याएको रु एक लाखका साथै वडाले समेत सहयोग गरेको केही रकम प्रयोग गरी मन्दिर सजावटका साथै स्वयंसेवकको व्यवस्थापनमा जुटेका छौँ ।” भक्तजनलाई सहजताको साथ मेला भर्न दिइने उनको भनाइ छ । धापाखेलमा आज बाजागाजा तथा झाँकीसहित बासुकी नागको पूजा तथा आराधना गर्ने गरिन्छ ।
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा गरी मनाइँदै छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा छ । अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ ।नाग रिसाए भने अनिष्ट हुने भएकाले नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो । आज ललितपुर थापाखेलको नागदह, काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानमा विशेषरुपमा पूजा गरी नागको सम्मानका साथ गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिन्छ । वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने परम्परा बसाएको विश्वास गरिन्छ ।