कोदो, मकै छोडेर किवी खेतीतर्फ

बुधबार, वैशाख १, २०७८
मयुर प्लाई

बलेवा । जङ्गल छेवैको पाखोबारी ! वर्षमा एकपटक आलु, मकै र कोदो उब्जिन्थ्यो । तीन महिना मरिमेटी काम गर्दा वर्षदिन कठिनले खान पुग्ने । लगाएको खेतीको उब्जनीभन्दा खर्च धेरै । सम्पूर्ण परिवारले मरिमेटी गर्दा समेत खेतीपातीले घर खर्च चलाउन कठिन हुँदा किसानमा अर्को व्यवसायतर्फ कुनै सोच पलाएको थिएन । म्याग्दीको मालिका गाउँपालिका–२ का मोहनबहादुर पुनले जान्ने भएको बेलादेखि नै आफ्नो बारीमा कोदो, मकै र आलुबाहेक केही लगाएका थिएनन् ।  पहिले बाउबाजेले लगाउँदा देखेकै आधारमा आफूले जान्ने भएपछि पनि त्यही खेती गरे । पछिल्लो समय व्यावसायिक खेतीको प्रचलन बढेपछि पुनले पनि आफ्नो बारीमा लगाउने खेती फेरेका छन् । वर्षभरि खान पुग्ने र घर खर्च चलाउन विक्रीसमेत गर्न मिल्ने गरी उनले फलफूल खेती थालेका छन् । 
बयालिस वर्षीय पुनले मालिकामा रहेको १९ रोपनी पाखोबारी र खेतमा समेत किवीखेती शुरु गरेका छन् । परम्परागत खेती परिवर्तन गरेका पुनले किवीबाट राम्रो आम्दानी हुन थालेपछि निकै हौसिएका छन् । विसं २०७४ मा रु ८० हजार लगानी गरेर उनले किवीखेती थालेका छन् ।  पहिलो वर्ष रु २१ हजार आम्दानी गरेका पुनले अहिले लाखौँ कमाउन थालेका छन् । ‘कोदो, आलु र मकैबाट खान मात्रै मुस्किलले पुग्थ्यो, अहिले सबै खर्च चलाउने पैसा किवीले कमाउँछ’ उनले भने । पुनले गाउँमा नै पहिलोपटक किवीखेती शुरु गरेका छन् ।  अहिले पुनको बारीमा झण्डै २०० किवीका बोट छन् । आम्दानीको राम्रो स्रोत देखेपछि पुनले किवी खेतीलाई नै व्यावसायिक बनाउने सोच बनाएको बताए ।  एउटा किवीको बयस्क बिरुवाले राम्रो उब्जाउ दिँदा २० हजार बढीको दाना फल्छ । किवीको बजार मूल्यसमेत राम्रो रहेकाले उहाँले बर्सेनि लाखौँ आम्दानी हुने गरेको छ । किवीखेतीप्रति गाउँका अरु किसानले समेत उत्साह देखाएको उनले सुनाए ।किवीखेतीका लागि चालु आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रले पुनलाई रु तीन लाख अनुदान दिएको छ । उनले गाउँमा किवीसँगै टनेलमा गोलभेंडा खेती गर्ने गरेका छन् । ‘हामीले हाम्रो माटो सिञ्चिन नजानेकाले आम्दानी नभएको रहेछ’ उनले भने, ‘खेती प्रणालीमा परिवर्तन गर्दा राम्रो कमाउन सकिँदो रहेछ भन्ने बुझेको छु ।’  किवीखेतीका लागि गाउँपालिका र कृषि ज्ञान केन्द्रले प्राविधिक सहयोग गरेकाले उनलाई सजिलो भएको हो । म्याग्दीको अधिकांश भू–भागमा किवीको खेती राम्रो हुने कृषि विज्ञहरु बताउँछन् । 
समयमा बिरुवा पाउने र उचित सल्लाह पाउने किसानले यहाँ किवीको व्यावसायिक खेती गर्न सकिने बताउँछन् । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १९:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार