सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सञ्चारमाध्यमलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन उपयुक्त वातावरण बनाउने काममा सहयोग पुर्याउन आह्वान गरेको छ । आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, निश्पक्ष र मितव्ययी बनाउन आमसञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने भएकाले सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ ।
आयोगद्वारा यहाँ आज आयोजित आमसञ्चार माध्यममका सम्पादक तथा प्रमुखसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचन सफल तुल्याउन महत्वपूर्ण भूमिका रहेको मुलुकका जिम्मेवारी आमसञ्चार माध्यमबाट यसअघि जस्तै सकारात्मक भूमिका प्राप्त विश्वास व्यक्त गरे । आयोगले निर्वाचन कार्यतालिका निर्माण, निर्देशिका एवं कार्यविधि तर्जुमा/परिमार्जन, राजनीतिक दल दर्ता आह्वान, आर्थिक व्यवस्थापन कार्यविधि, बजेट तर्जुमा र मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु गरेको उनले जानकारी दिए ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा हालसम्म एक करोड ८२ लाख कूल मतदाता र करिब १० हजार ८२५ मतदानस्थल रहेको आयोगले जनाएको छ । त्यसैगरी अस्थायी मतदान केन्द्रबाहेक करिब २२ हजार ५०० मतदान केन्द्र रहनेछन् । आगामी निर्वाचनका क्रममा करिब रु १० अर्ब खर्च हुने आयोगले जनाएको छ । त्यसैगरी आयोगले मतदातास्थलको पुनरावलोकन, सामनुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम र अन्तर्राष्ट्रिय संस्थालाई पर्यवेक्षणका लागि आह्वान गरेको छ ।
निर्वाचन आचारसंहितालाई थप व्यावहारिक बनाउने, सञ्चारमाध्यमलाई स्वनियमन गर्न प्रेरित गर्ने, सामाजिक सञ्जालमार्फत हुने राजनीतिक विज्ञापनको अनुगमन गर्ने र निर्वाचन खर्चप्रतिको धारणा र त्यसको वास्तविकताप्रतिको बुझाइ स्पष्ट गर्ने आयोगको सोच छ । आयोगले खर्चको सीमा सूत्रमा आधारित प्रणाली अवलम्बन गरी आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ । रासस