सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । गोदावरी नगरपालिका–१३ झरुवाराशीमा अवस्थित सन्तानेश्वर महादेव मन्दिरलाई हिन्दुहरूको सबैभन्दा ठूलो आराध्यदेव पशुपतिनाथ पछिको ठूलो मन्दिरको रुपमा लिने गरिन्छ । यस मन्दिरमा विषेश गरी साउन र माघ महिनामा भक्तजनको भिड लाग्ने गरेको छ । सन्तानेश्वर महादेव मन्दिर सतीदेवीको उपल्लो ओठ पतन भएर उत्पत्ति भएको धार्मिक मान्यता रहेको छ । लामो समयदेखि सन्तान नभएका दम्पत्तीले यहाँको दर्शन गरेपछि सन्तान प्राप्ति भएका उदाहरणहरु प्रचलित छन् ।
यो मन्दिर ललितपुरको सातदोबाटोबाट ५ किलोमिटर दक्षिणपूर्व र समुद्र सतहबाट करिब १५०७ मिटरको उचाईमा रहेको छ । कैलाश पर्वतमा अवस्थित यो शिवालयबाट काठमाडौँ उपत्यकाका तीनै शहरको दृश्यावलोकन गर्न सकिने भएकाले यसलाई प्राकृतिक भ्युटावरको रुपमा समेत लिने गरिन्छ । यसको शिवलिङ्गको पिठका दक्षिणतिर फुकेको र उत्तरतिर सुकेको रुपमा कैलाश पर्वत रहेको छ, दक्षिणतिर महादेव र पार्वती विराजमान छन्, उत्तरतिर महाङ्काल भैरवको मन्दिर अवस्थित छ । पौराणिक कालदेखि नै यहाँका शिलालाई महादेव पार्वती मान्दै पुजा गरिंदै आएको छ, जसको मुर्ति प्राकृतिक हो, यसलाई कहीं कतैबाट मुर्ति कुँदेर या प्राणप्रतिष्ठा गराएर राखिएको होइन । तसर्थ यसलाई ज्योतिर्लिङ्ग महादेव पनि भन्ने गरिन्छ । औपचारिक रुपमा २०४७ सालमा जिल्ला प्रशासन कार्यालयमा श्री सन्तानेश्वर महादेव संरक्षण तथा संवद्घन सेवा समिति दर्ता भएपछि यो शिवालयलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न थालिएको समितिका अध्यक्ष विनोद खड्काले बताए ।
उनले भने, ‘त्यही बेलादेखि नै नेपाल सरकारको विधिविधान बमोजिम यो चल्दै आएको छ ।’ इन्जिनियर समेत रहेका खड्का २०६८ मा अध्यक्ष भएपछि वृहत्त गुरुयोजना सहित सन्तानेश्वरलाई धर्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना अघि बढाइरहेको बताए । उनले भने, ‘मसँग पुरात्तात्विक तबरले संरचनाहरुको डिजाईन गर्नसक्ने ज्ञान पनि छ त्यसैले विभिन्न गुरुयोजना बनाएर यहाँ ३५ वटा संरचनाहरु बनाएका छौं ।’ पहिलो संरचना अनुसार पशुपतिनाथकै शैलीमै निर्माण गर्ने भनेर काम सुरु गरियो । सोहीअनुसार अहिले मन्दिर निर्माण भएको छ । जसमा दुईतले तामाको छानो, चारवटा बुट्टेदार प्रवेशद्वारहरु, १६ वटा आँखीझ्यालहरु, ४८ वटा टुडाल रहेका छन् । उनले भने अरु ठाउँका मन्दिरहरुको जस्तै भक्तजनहरुलाई सुख सुविधा हुने पाटीहरु,आराम गर्ने ठाउँ, शौचालय, पानीको व्यवस्थापन, भजनकिर्तनको लागि भजनमण्डली,प्रहरी चौकीको व्यवस्था लगायतका कामहरु लगभग सम्पन्न भईसकेको बताए । उनले यस वर्षको साउन महिनामा १ लाख भक्तजनले मन्दिरको दर्शन गर्ने बताउदै उनले आज सम्म ३५ लाख भेटी र दान संकलन भएको जानकारी गराए । गोदावरी १३ का वडाध्यक्ष भाष्कर थापाले भने गत वर्षमा ३० लाख नगरपालिकाबाट बजेट छुट्याए काम भइरहेको र आ.व २०७९–८० मा २५ लाख बजेट छुट्याएको जानकारी दिए । माहाँकाल गाउँपालिका २ की पूर्वमहिला जनप्रतिनिधि पार्वती तिमल्सिनाले सोमबारको दिन भएनि आज आधा घण्टामा नै दर्शन गर्न पाएकाले मन्दिर व्यवस्थापनलाई धन्यवाद दिएकी छन् । वागमती गाउँपालिका गिम्दीका स्थानीय काशीनाथ सापकोटाले सन्तानको सुख शान्तिका लागि हरेक वर्ष साउनमा मन्दिर दर्शनका लागि आउने गरेको बताए । जनभावना क्याम्पस अध्ययनरत इकुडोल घर भएकी छात्रा अन्जना सापकोटाले स्वास्थ्य दीर्घायुको र शिक्षा राम्रो होस भन्ने कामनाको लागि महादेवको दर्शन गर्न आएको बताइन् । चापागाउँ प्रभागका डिएसपी द्धारिका घिमिरेले भक्तजनको सुरक्षाको लागि कडा सूरक्षा व्यवस्था गरिएको बताए । उनले भने दर्शन गर्न आउने भक्तजनले कुनै खालको गुनासो नगरेको बताए । भक्तजनलाई छिटो छरितो रुपमा पुजा गर्न स्थानीय क्लब , स्कुल र रेडक्रसले स्वयंमसेवक रुपमा काम गरेका छन् ।