वीरगञ्जवासीलाई १० हजार बोरा युरिया मल 

मंगलबार, साउन ३१, २०७९
मयुर प्लाई
Global Ime Bank

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आफ्ना नगरवासीलाई थप १० हजार बोरा युरिया मल उपलब्ध गराउने भएको छ । यसका लागि  महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल र कृषि सामग्री कम्पनी लिमिटेडका प्रादेशीक कार्यालय वीरगञ्जका प्रमुख चन्द्रप्रसाद चौलागाईंबीच सोमबार चार बुँदे सहमति समेत भएको छ ।  महानगरपालिकाका प्रमुख राजेशमान सिंहले किसानका माग अनुसारको मल मल उपलब्ध गराउन समन्वय गरेका थिए ।  किसानले भुटनदेवीस्थित कृषि सामग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको गोदामबाट अन्यत्र जिल्ला पठाउन लागिएको छ ट्रक मल सोमबार नियन्त्रणमा लिएका थिए । सहमति पछि  ती मल वीरगञ्ज महानगरलाई बुझाइएको थियो ।  

पर्वतमा रासायनिक मलको अभाव 

रासायनिक मल विनै धान रोपाइँ गरेका जिल्लाका किसान गोड्ने बेलासम्म मल नपाउँदा निरास बनेका छन् । रासायनिक मल हाल्न नपाउँदा धान पहेँलिन थालेको जनाउँदै उनीहरु चिन्तित बनेका हुन् । 
बिना मल रोपाइँ गरिएकोमा नियमित वर्षा पनि नहुँदा धान नै सुकेको थियो । अहिले धान गोड्ने बेला भएको छ । धान गोडेर मल छर्नुपर्ने बेलासम्म पनि मल नपाउँदा किसान निराश छन । पर्वतमा पर्याप्त मल आयात नहुँदा कृषकले आवश्यकताअनुसार मल पाउन नसकेका हुन् ।  जिल्लामा मल ढुवानीको आधिकारिक निकाय कृषि सामग्री केन्द्रले माग अनुसार मल नआउँदा कृषकलाई आवश्यकताअनुसार वितरण गर्न नसकिएको जनाएको छ । 
केन्द्रको तथ्याङ्कअनुसार जिल्लामा वर्षेनी एक हजार टन युरिया र पाँच सय टन डीएपी मलको माग हुन्छ । मागको आधाभन्दा धेरै वर्षको अन्तिम चौमासिकमा खपत हुने गरेको छ । तर चालु वर्षको अहिलेसम्म एक सय ८९ टन युरिया र एक सय २६ टन डीएपी मात्रै ढुवानी गरेर वितरण गरेको केन्द्रप्रमुख बिपीनप्रसाद शर्माले बताए । 
जिल्लामा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले रासायनिक मलको बिक्री वितरण गर्दै आएका छन । साल्ट ट्रेडिङको कुश्मास्थित बिक्री केन्द्रका अनुसार करिब एक टन मल आएकोमा सीमित किसानले लगेपछि दुई दिनमै सकिएको जनाएको छ ।  
“मलको माग कति थियो कति”, साल्ट ट्रेडिङ कर्पोरेसनको बिक्रेता एलिजा पुरीले भने, “पु¥याउनै सकिएन । अब कहिले आउने हो टुङ्गो छैन ।” कृषि सामग्री कम्पनीका बिक्रेता रमेश पौडेलका अनुसार युरिया र डीएपी मल वीरगन्जसम्म आइपुगेकाले अब एक साताभित्रै पर्वतका किसानलाई बिक्री गर्न सकिने बताए  । 
“अब गुणस्तर परीक्षणलगायत केही प्रक्रिया पूरा गरेर ल्याउने हो”, उनले भने, “त्यसो गर्दा पाँचदेखि सात दिनभित्र किसानलाई वितरण गर्न सकिन्छ ।”
मकै छरेदेखि मल नपाइएको कृषकहरुको गुनासो छ ।  मल अभावकै कारण अघिल्ला वर्षजस्तो मकै राम्रो भएन,’ बिहादी–२ बर्राचौरका मानबहादुर कुँवरले भने, ‘धान रोप्ने बेलामा पनि पाइएन ।’  अहिले कुश्मामा मल आएको छ भन्ने सुनेर आएको, आउँदाआउँदै सकिएछ । अब धान पहेँलिइसक्यो । यो वर्ष मलकै आसमा धानखेती भित्त्रयाउनै नपाइने उनको गुनासो छ । 

फलेवास नगरपालिका–४ का बिदुर लामिछानेले दिनभर लाइन बसेर पाँच किलो मात्रै मल लिएर फर्किर्एको गुनासो गरे । “३० किलो युरिया चाहिएको थियो,” उनले भने, “कोटा सकिएको रहेछ ।  पाँच किलो ल्याएर केमा सुघाउने ? अरू मल आएपछि एकै पटक छरौला भनेर राखेको छु ।” 
केही दिन अघि कुश्मा बजारमा सीमित मात्रामा आएको केही बोरा मल लिन किसानको घुँईचो लागेको थियो । विगतका वर्षमा किसानले मागेजति मल गाउँमै पुर्‍याएर वितरण गर्दै आएका बिहादी गाउँपालिका –३ रानीपानीका रामु पराजुलीले ६ महिनायता मल नपाइएको गुनासो गरे । नमुना कृषि सहकारी संस्थामार्फत निःशुल्क ढुवानी गरी गाउँभरि मल वितरण गर्दै आएका पराजुलीले यो वर्ष मल अभावकै कारण वितरण गर्न नपाएको बताए । 
“मैले धेरैपटक कृषि सामग्री संस्थामा सम्पर्क गरें,” उनले भने, “मल छैन भनेपछि त्यो कामै छोडिदिएँ ।”
मल अभावकै कारण जिल्लाभरका किसानले व्यावसायिक तरकारीसमेत लगाउन पाएका छैनन ।  कतिपय किसानले मल छरेर धान गोड्ने भन्दै कुरेर बसेका छन । “मल नपाएर मकै पनि भएनन्,” कुश्मा–९ का पुनाखर पराजुलीले भने, “धान जस्तो रोपेको हो, जस्ताको त्यस्तै छ ।” रासायनिक मल छर्ने गरेपछि गोठेमलले मात्रै खेती नहुँने गरेको कृषकहरुको गुनासो छ । मुख्यगरी चैतदेखि भदौसम्म किसानलाई बढी रसायनिक मलको आवश्यकता पर्ने भएपनि जिल्लामा पर्याप्त मल नपाउँदा कृषकहरु समस्यामा परेको कृषि ज्ञान केन्द्रले जनाएको छ । पर्याप्त वर्षा नहुँनु, समयमै रोपाई नहुनु र कृषकले पर्याप्त रासायनिक मल नपाउनाले यस वर्ष धान उत्पादनमा धेरैनै गिरावट आउने देखिएको ज्ञान केन्द्रका प्रमुख मनिता थापाले जानकारी दिए ।–रासस 

प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार