सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । पाटनको पट्को टोलस्थित लक्ष्मीनारायणको मन्दिरबाट ३७ वर्ष अघि चोरिएको वासुदेव कमलाजा मूर्ति नेपाल आइपुगेको छ । अमेरिकाको डल्लास म्युजियमबाट फिर्ता ल्याइएको उक्त मूर्ति बिहीबार पुरात्व विभागमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । मूर्ति चैत ३१ गते नेपाल आइपुगेको हो । मूर्ति केही दिन पाटन म्युजियममा राखेर पट्कोस्थित मन्दिरमा नै प्रतिस्थापन गरिने तयारी गरिएको छ । चोरिएको मूर्ति अमेरिकाको डल्लास म्युजियममा भेटिएको समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले मूर्ति सक्दो छिटो नेपाल फर्काउन सम्बन्धित निकायसँग सहकार्य गरेका थिए । पत्रकार सम्मेलनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले हराएको छोराछोरी घर फर्कंदा जस्तो अनुभव हुन्छ, त्यस्तै भइरहेको बताए । पुरात्व विभागका महानिर्देशक दामोदर गौतमले विभिन्न मुलुक पु¥याइएका मूर्तिलाई नेपाल फर्काउन विभागले विशेष पहल गरिरहेको बताए । उनका अनुसार योसहित अमेरिकाबाट ११ वटा मूर्ति फिर्ता ल्याइएको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले मूर्ति फिर्ता ल्याउन सफल भएकोमा अत्यन्तै खुशी लागेको प्रतिक्रिया दिए । मूर्ति चोरिदाँ स्थानीय भाववीह्वाल भएको बताउँदै भने, ‘प्रत्येक बिहान लक्ष्मीनारायणको पाउको टीका नलगाई दिनचर्या सुरु नगर्ने स्थानीयहरु मूर्ति हराउँदा रोएका थिए ।’
मूर्तिलाई बाजागाजासहित मन्दिरमा नै प्रतिस्थापन गर्ने बताउँदै उनले भने, ‘मन्दिरमा सिसि क्यामेरालगायत सुरक्षित बनाउन अपनाउनु पर्ने सम्पूर्ण प्रविधि जडान गर्छौ, त्यसपछि मन्दिरमै मूर्ति राख्छौं ।’ पट्को टोल ललितपुर महानगरको वडा नं १६ मा पर्छ । ७० किलो ग्राम तौल भएको यो मूर्ति सन् १९८४ मा चोरी भएको थियो । मध्यकालीन नेपाली मूर्तिकलाको नमूनाको रुपमा रहेको र प्रस्तरबाट बनेको यो मूर्ति १५ औं शताब्दीको मानिएको छ । सन् २०२० मा उक्त मूर्ति अमेरिकाको टेक्सासस्थित डल्लास म्युजियममा भएको जानकारी एरिन एल थोम्सनले दिएका थिए । उक्त मुर्तिको बारेमा छलफल गर्दा सन् १९८४ मा हराएको जानकारी प्राप्त भएको थियो । त्यस लगत्तै पुरातत्व विभागले उक्त मूर्तिको बारेमा प्रमाण संकलन गरी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मार्फत् परराष्ट्र मन्त्रालयलाई पठाएको थियो । ती प्रमाणहरुका आधारमा अमेरिकास्थित नेपाली दूतावासको अग्रसरतामा त्रिपक्षीय सम्झौता भइ उक्त मूर्ति नेपाल फिर्ता भएको थियो ।