सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेको छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । यस पर्वका अवसरमा विगतमा काटिएको सार्वजनिक बिदालाई सरकारले फेरि निरन्तरता दिएको छ ।
राष्ट्रपतिले दिइन शुभकामना सन्देश
राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीद्वारा आज जारी शुभकामना सन्देशमा कृष्ण जन्माष्टमी वा गोकुल अष्टमी नामले समेत परिचित यस पर्वका धार्मिक, सांस्कृतिक र दार्शनिक आयामहरू रहेको र धार्मिक दृष्टिमा भगवान् श्रीकृष्णलाई असल प्रवृत्तिका साधक र आसुरी प्रवृत्तिका विनाशक तथा भगवान् विष्णुका एक अवतार मानिने उल्लेख छ । “सांस्कृतिक मान्यताअनुसार कृष्णलीलासँग सम्बन्धित विभिन्न भजन, कीर्तन, नाट्य प्रदर्शन एवं उपासनाका लागि आजको दिनले विशेष महत्व राख्दछ”, राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा भनिएको छ, “हिन्दूहरूको पवित्र ग्रन्थ गीतामा भगवान् श्रीकृष्णबाटै योग र दर्शनको विवेचना भई मानव जाति समक्ष उपलब्ध भएको पक्ष उत्तिकै महत्वपूर्ण छ, जसलाई आजकै दिन विशेषरूपले स्मरण गरिन्छ ।” त्यसैकारण विश्वभरिका हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन रही आएको राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेकी छन् । सम्पूर्ण विश्वलाई कर्मयोगमा लाग्न प्रेरित गर्दै काम, क्रोध, लोभ, मोह त्याग गरी समाजमा सद्भाव कायम गर्न उत्प्रेरित गर्ने गीता ज्ञानले हामीलाई सुकर्मका लागि युगौँदेखि निरन्तर मार्गदर्शन गरिरहेको छ”, सन्देशमा भनिएको छ । उनले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीहरूमा आपसी सद्भाव, करूणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।–रासस