सोसल मिडिया
Contact Us
युनिकोड
महेन्द्रनगर । छत्तीस खेलमध्ये ३१ खेलमा सहभागिता जनाउने कञ्चनपुरको आगामी असोजमा हुने बृहत् नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी भने सामान्य छ । विसं २०३८ देखि राष्ट्रिय प्रतियोगितामा सहभागी हँुदै आएको कञ्चनपुरको पछिल्लो समय राष्ट्रिय प्रतियोगिताप्रति खेलाडीको आकर्षण भने घट्दो छ । “बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता भनेको खेलाडीका लागि महाकुम्भ नै हो”, यहाँस्थित तेक्वान्दोका एक खेलाडीले भने, “बिना तयारी नतिजाको आशा गर्ने खेलकुद नेतृत्वको क्षमता कस्तो होला भन्ने लाग्छ ।” उनले प्रतियोगिताको पञ्चवर्षीय क्यालेन्डर बनाएर खेलकुद गतिविधि बढाउनुपर्ने बताए । “प्रतियोगिता नजिकिँदा खेलाडी खोज्दै जानुपर्ने अवस्थाले खेलकुदमा प्रगति हुन सक्दैन”, उनले भने, “अन्तर्राष्ट्रिय मञ्चमा खेलकुदले देशलाई चिनाउने गरेको भए पनि हाम्रो यहाँ राजनीति हावी हुँदा खेलकुदको विकास पछि प¥यो ।” उनले खेलाडीलाई समय दिएर जिल्लास्तरबाट छनोट हुने खेलाडीले बन्द प्रशिक्षणको पनि समय पाउनुपर्नेमा जोड दिए । भलिबल, फुटबल, तेक्वान्दो, कुस्तीलगायतका खेलमा नियमित प्रतिक्षण हुने गरेको भए पनि धेरै खेलमा लामो समयदेखि प्रशिक्षणविहीन छन् । निकै सम्भावनाका रुपमा हेरिएको ब्याडमिन्टन खेलाडीले प्रशिक्षक नपाएको वर्षौं भइसकेको जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष मीनराज भट्टको भनाइ छ । “बिना प्रशिक्षकका हाम्रा खेलाडीले राष्ट्रिय प्रतियोगितामा भिड्नुपर्ने बाध्यता छ”, उनले भने, “सरकारको व्यवस्थापकीय कमजोरीले पनि खेलप्रतिको क्रेज घटेको छ ।” उनले खेलकुद प्रतिस्पर्धाका लागि मात्रै नभएर दक्ष र अनुशासनयुक्त जनशक्ति तयार गर्न पनि अतिआवश्यक रहेको बताए । यहाँबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा राम्रो प्रदर्शन गर्ने खेलाडी पछिल्लो समय धमाधम विभागीय टिमतिर आबद्ध हुने क्रम बढेको छ । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख गोपालदत्त भट्टले खेलाडी आफ्नो भविष्य सुनिश्चितताका लागि पलायन हुने गरेको बताए । “खेलाडीलाई संरक्षण गर्ने राम्रो प्याकेज ल्याउन आवश्यक छ”, उनले भने, “राम्रा खेलाडीलाई खेलकुदमा नियमित राख्न सक्ने वातावरण नै तयार हुन सकेन ।” साताँै बृहत् राष्ट्रिय प्रतियोगिता यता मुलुकमै अब्बल देखिएको कञ्चनपुरको कुस्तीले नवौँका लागि भने खेलाडी उत्पादन गर्नुपर्ने अवस्था छ । “खेलाडी विभागीय टिममा जाँदा यहाँबाट खेल्न अब नयाँ खेलाडी तयार गर्र्दैछाँै”, कुस्ती प्रशिक्षक राजेन्द्र चन्दले भने, “पुराना अब तीन÷चार जना खेलाडी मात्रै यहाँ छन् ।” कुस्तीले लामो समयदेखि प्रशिक्षक हलका लागि गुहार मागिरहेको भए पनि अहिलेसम्म खेलकुदको साँघुरो कोठामा प्रशिक्षण गर्नुपर्ने बाध्यता खेलाडीलाई छ । कुस्ती, क्रिकेट, हक्की, कबड्डी, ब्याडमिन्टन, भलिबललगायतका खेलका राम्रा खेलाडी विभागीय टिममा आबद्ध छन् । “नवौँ राष्ट्रिय खेल असोज तेस्रो सातादेखि गण्डकी प्रदेशमा हुने भनिए पनि यहाँ अहिले खेलाडीको फारम दर्ता भइरहेको छ”, भट्टले भने, “प्रदेश खेलकुद परिषद्ले छनोटलाई तीव्रता दिनेछ ।” उनले कुस्ती, भारोत्तलन, कबड्डी, भलिबल, हक्की, आर्चरी र बक्सिङलगायतका खेलमा पदकको आशा गरिएको छ भने । “यहाँ अन्तिम अवस्थामा टिमको सहभागिताले मात्रै नतिजा राम्रो आउँदैन”, भलिबलका राष्ट्रिय प्रशिक्षक जगदिशप्रसाद भट्टले भने, “सुदूरपश्चिम खेलाडी उत्पादनमा अब्बल देखिए पनि संरक्षणमा भने कमजोर हुँदा खेलाडी पलायन हुने क्रम बढी छ ।” उनले खेलसँगै खेलाडीको संरक्षण र रोजगारीलगायतका विषयमा सोच्नुपर्ने बताए । “जीवनभर खेलेर खेलाडीले पाउने सुविधा र संरक्षणको ग्यारेन्टी मात्रै हुनसके खेलकुदको विकासले फड्को मार्नसक्छ”, उनले भने, “त्यसका लागि आवश्यक योजनासहित लगानी हुनुपर्यो ।”
कास्कीमा अझै खेल पूर्वाधारकै चिन्ता
विसं २०७६ वैशाखमा लुम्बिनी प्रदेशमा भएको आठौँ राष्ट्रिय खेलकुदको समापन समारोहमा गण्डकी प्रदेशले नवौँ आयोजनाको जिम्मेवारी पायो । गण्डकीको टोलीलाई दुई वर्षपछि नवौँ आयोजनाको जिम्मेवारीसहित झण्डा हस्तान्तरण गरियो । गण्डकीमा विसं २०७७ को फागुन अन्तिम सातालाई तय भएको राष्ट्रिय खेलकुद यसबीचमा कोरोनाका कारण पटक पटक प्रभावित बन्यो ।
पछिल्लो पटक आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म प्रतियोगिताको मिति तय गरेर तयारीका काम अघि बढाइएको छ । तरपनि खेल पूर्वाधारकै चिन्ता कायमै छ । गण्डकीमा प्रतियोगिता तय भएको तीन वर्षभन्दा बढी समय भयो । तर, अहिलेपनि कतिपय खेलका पूर्वाधारनै छैनन् । गण्डकी प्रदेश अन्य प्रदेशका तुलनामा खेलकुद पूर्वाधारमा अब्बल रहेपनि नवौँलाई लक्ष्य गरी निर्माण गरिने तय भएका खेल पूर्वाधार निर्माण नहुँदा ती खेल कहाँ खेलाउने यकिन भएको छैन । खेल पूर्वाधारमा वर्षेनी बजेट विनियोजन गरिएपनि स्वीमिङ (पौडी पोखरी), सुटिङ, हक्की र रग्वी खेलका पूर्वाधार बन्न सकेनन् । प्रतियोगिताको मिति नजिकिदै जाँदा पूर्वाधार तयार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता खेल पदाधिकारी र खेलाडीमा कायम छ । पोखरा रङ्गशालाभित्र पौडी पोखरी र सुटिङको पूर्वाधार बनाउन जमिन व्यवस्था गरिएको थियो । राष्ट्रिय खेलकुद परिषद्ले बजेट व्यवस्था गरेको हो । तर यी खेलका पूर्वाधार बनाउन पर्याप्त समय भएपनि कामनै सुरु हुन सकेन । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई आयोजक राष्ट्रिय खेलकुद परिषद्ले विभिन्न उपसमिति गठन गरी तयारीका काम अघि बढाएको छ । खेलस्थल व्यवस्थापन उपसमितिले अहिले प्रदेशका अधिकांश जिल्लामा पुगेर खेल पूर्वाधार अवलोकन गरेको छ । यहाँ अधिकांश खेलका पूर्धाधार तयारी अवस्थामै छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले पूर्वाधार तयार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्तामा आफूहरू रहेको बताउनुभयो । सो समिति पौडीका लागि पोखरामा रहेका निजी विद्यालय र होटलका पौडी पोखरीलाई प्रतियोगिताका लागि प्रयोगमा ल्याउने योजनामा छ । आठौँ राष्ट्रिय खेलकुदमा पनि होटलको पौडी पोखरीमा प्रतियोगिता सञ्चालन गरिएको थियो । पोखरामा पूर्वाधार नभएका खेल काठमाडौँमा खेलाउने योजना रहेपनि यहाँका खेल पदाधिकारी तथा खेलाडी सबै खेल गण्डकीमै हुनुपर्ने पक्षमा छन् । “राष्ट्रिय खेलकुदका लागि मुख्य गरी पौडी र सुटिङको पूर्वाधार हामीसँग छैन । पूर्वाधार नभएका खेल कहाँ खेलाउने भन्ने चिन्ता रहे पनि यसलाई हामी व्यवस्थापन गछौँ”, खेलस्थल व्यवस्थापन उपसमिति संयोजक गुरुङले भने, “राखेपका सदस्य सचिव र पौडी सङ्घको अध्यक्ष सहितको प्राविधिक टोली पोखरा आउँदै हुनुहुन्छ, उहाँहरूसँग छलफल गरेर हामी विकल्प तयार गर्छौं ।” पोखरा रङ्गशालामा नभएका खेलका पूर्वाधार निर्माण गर्न पर्याप्त समय छ । तर आवश्यक बजेटको सुनिश्तिता नहुँदा काम सुरु नभएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । पोखरा रङ्गशालाभित्र पौडी र सुटिङका लागि यसअघिका दुई आर्थिक वर्षमा लगातार बजेट विनियोजन गरिएपनि सो पर्याप्त नभएको र थप बजेटका लागि स्रोत सुनिश्चित नहुँदा टेण्डर आह्वान लगायतका काम नभएको समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए ।
पौडी पोखरीलाई ३५ करोड रुपैयाँ हाराहारीमा लागत स्टीमेट तयार गरिएकोमा सरकारले अघिल्लो वर्ष रु पाँच करोड छुट्टाएको थियो । योगीले भन्नुभयो,“विनियोजित बजेट अपर्याप्त रह्यो र थप स्रोतको सुनिश्तिता नहुँदा टेण्डर आह्वानलगायतका काम अघि बढाउन सकिएन ।” पोखरा रङ्गशालाभित्र सबै खेलको पूर्वाधार अटाउन सक्ने अवस्था नभएकाले रङ्गशाला बाहिर व्यवस्थापन गरेर सुटिङ बाहेकका नवौँका सबै खेल पोखरा र गण्डकी प्रदेशमै गर्ने योजना रहेको समितिले जनाएको छ । सुटिङलाई भने गण्डकीमा सम्भव नदेखिएको र काठमाडौँमै गर्नुपर्ने बाध्ता रहेको बताइन्छ । रग्वी र हक्कीलाई प्रशिक्षणस्थल तय भएकाले समस्या नहुने समितिले जनाएको छ । नवौँलाई गठन गरिएको खेलस्थल व्यवस्थापन उपसमितिले यही भदौ १५ गतेभित्रमा प्रतियोगिताको खेलस्थल तय गर्ने योजनामा छ । खेल पूर्वाधार रहेका जिल्लामा आवास, अस्पताल, यातायात र सुरक्षालाई ध्यानमा राख्दै कुन जिल्लामा कुन खेल सञ्चालन गर्ने भन्ने निर्णय गरिने गुरुङले बताए । उनले भने, “प्रदेशका अधिकांश जिल्लाहरूमा रहेका खेल पूर्वाधारहरूको निरीक्षण गरेका छौँ । खेल सञ्चालन गर्न आवश्यक सबै पक्षलाई हेरेर खेलस्थलको टुङ्गो लगाउने तयारीमा छौँ ।” नवौँ राष्ट्रिय खेलकुदका ३६ र दुई प्रदर्शनी खेलमध्येमा अधिकांश प्रदेशको राजधानी र पूर्वाधार भएका हिसाबले पोखरामानै हुनेछन् । राष्ट्रिय खेलकुदको अपनत्व सबैलाई दिलाउन प्रदेशका ११ वटै जिल्लामा कम्तिमा एक÷एक खेल खेलाउने योजना आयोजकको छ । राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाउने निश्चित भएको प्रदेश खेलकुद परिषद् गण्डकीले जनाएको छ । प्रतियोगितामा चार सय सात स्वर्ण पदकका लागि खेलाडबीच प्रतिस्पर्धा हुनेछ । कुनै टोलीले ३६ वटै खेलमा भाग लिएको अवस्थामा एक टोलीमा सात सय आठ जनासम्म खेलाडी सहभागी हुने भएकाले प्रतियोगितामा कूल सात हजार सात सय ८८ खेलाडीमात्र सहभागी हुने सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिए । खेलाडी बाहेक प्रशिक्षक, टोलीका व्यवस्थापक, रेफ्री गरी नौ हजार हाराहारीमा खेलकुदकर्मीको सहभागिता प्रतियोगितामा हुने बताइन्छ ।–रासस