समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरि रहेननन्, आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने

बिहान ९ देखि ११ बजेसम्म अस्पताल परिसरमै, साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा श्रद्धान्जलीका लागि राखिने
आइतबार, भदौ ५, २०७९

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । उपचारको क्रममा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे उनको निधन भएको उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा.पंकजकुमार बर्मनले जानकारी दिए ।

Pradeep1661039980.jpg
प्रतिनिधिसभाका सांसदसमेत रहेका कांग्रेसका नेता एवं समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपश्चात् नेपाल फर्किएका थिए । घाँटीको क्यान्सर भएपछि भारतमा गएर शल्यक्रिया गरेका सांसद गिरि गत ९ साउनमा मेडिसिटी अस्पताल भर्ना भएका थिए ।  मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए । पछिल्ला दिनमा निमोनिया फैलिँदै गएर शरीरका अंगहरुले काम गर्न छाड्दै गएको थियो ।
उनको पार्थिव शरीरलाई आज बिहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमै श्रद्धान्जलीका लागि राखिनेछ । विहान साढे ११ देखि २ बजेसम्म पार्टी कार्यालय सानेपामा राख्ने र पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सचेतक मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
गिरी २०१७ सालबाट नै नेपाली राजनीतिमा लागेका थिए। बुवा मित्रलाल गिरी कांग्रेसको राजनीतिमा सक्रिय भएको हुनाले गिरी राजनीति सानै उमेरबाट प्रारम्भ भयो ।
राजनीतिक संघर्षका क्रममा २०२५ सालमा १८ महिना र २०४२ सालमा झण्डै एक वर्ष समेत गरी चार वर्ष उनले जेल जीवन बिताइसकेका छन् ।
उनी २०२४ सालमा नेपाल छात्र सङ्घ (बनारस)को निर्वाचित उपाध्यक्ष थिए ।
२०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट निर्वाचित गिरीले २०५६ को संसदीय निर्वाचनमा समेत भाग लिएका थिए । व्यवस्थापिका संसद‍्मा उनले नेपाली काङ्ग्रेस, प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधित्व गरेका थिए ।
भारत, जवाहरलाल नेहरु विश्वविद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रका स्नातकोत्तर गिरी अध्ययनमा विशेष रुचि राख्छन् ।

 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  ०४:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार