प्रधानमन्त्रीबाट विश्व कीर्तिमानी आरोहीलाई सम्मान

आइतबार, भदौ ५, २०७९
मयुर प्लाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व कीर्तिमानी पर्वतारोहीहरूलाई सम्मान गरेका छन् । प्रधानमन्त्री देउवाले शनिबार बालुवाटार बोलाएर कीर्तिमानी आरोही सानु शेर्पा, निमा ग्याल्जेन शेर्पा र पासाङ ल्हामु शेर्पालाई बधाई तथा सम्मान प्रकट गरेको नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले जानकारी दिए ।
कीर्तिमानी आरोही सानु शेर्पाले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालको दुईपटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । त्यस्तै निमा ग्याल्जेन शेर्पाले आठ हजार मिटरभन्दा माथिका विश्वका १४ वटै हिमाल आरोहण गरेर कीर्तिमान बनाएका छन् ।

RoS-KTM-PMDeubaa1661038860.jpg
पासाङ ल्हामु शेर्पाले पाकिस्तानको नाङ्गा पर्वत आरोहण गरेर पहिलोपटक महिला आरोहीको कीर्तिमान कायम गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले कीर्तिमानी आरोहीले हिमाल आरोहणमा बनाएको कीर्तिमानले नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा थप पहिचान प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै पर्वतारोहीको प्रशंसा गरेका थिए ।
कीर्तिमानी आरोहीलाई नगदसहित राष्ट्रिय सम्मान गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीलाई निर्देशन दिएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै सङ्घका महासचिव लम्सालले बताए ।
कीर्तिमानी आरोहीका साथमा पर्यटनमन्त्री श्रेष्ठ, सांसद जिपछिरिङ लामा, पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पालगायत पर्यटन व्यवसायीहरू बालुवाटार पुग्नुभएको थियो । बालुवाटारमा प्रधानमन्त्रीबाट सम्मान भएलगत्तै आरोही टोलीलाई नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सम्मान गरिएको थियो ।
यसअघि आठ हजार मिटरभन्दा अग्लो विश्वका १४ वटा हिमालको दुईपटक सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने आराही सानु शेर्पालाई सरकार तथा निजी क्षेत्रको तर्फबाट भव्य सम्मान गरिएको छ । आरोहण सकेर आजै काठमाडौँ फर्किएका शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, नेपाल पर्वतारोहण सङ्घ, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र पर्यटन क्षेत्रका अगुवा संस्थाहरूले विमानस्थलमा आरोही शेर्पाको स्वागत गरेका थिए ।

RoS-KTM-PMDeubab1661038867.jpg
यही महिना पाकिस्तानको गासरब्रमु दोस्रोको सफल आरोहण गरी शेर्पा विश्वमा रहेका आठ हजार मिटरमाथिका १४ वटै हिमाल दोहो¥याएर आरोहण गर्ने विश्वकै पहिलो र एक्लो आरोही बनेको नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।
कीर्तिमानी आरोही शेर्पालाई विमानस्थलमा स्वागतपछि ¥यालीसहित सहर परिक्रमा गराइएको थियो । कीर्तिमानी आरोही शेर्पालाई प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बालुवाटारस्थित निवासमा बोलाएर स्वागत तथा बधाई ज्ञापन गरेका थिए ।
विमानस्थलबाट तीनकुने, बानेश्वर थापाथली, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै त्रिदेवीमार्ग सञ्चयकोष ठमेलबाट ठमेल परिक्रमा गरी नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सम्मान गरिएको थियो ।
सङ्खुवासभा मकालु गाउँपालिका–१ का शेर्पाले सन् २००६ बाट आरोहणयात्रा सुरु गर्नुभएको थियो । पहिलोपटक चोयो हिमालको आरोहण गरेर १६ वर्षको अवधिमा आठ हजार मिटर अग्ला विश्वका १४ हिमाल आरोहण गरेर कीर्तिमान कायम गर्नुभयो । उहाँले हालसम्म आठ हजार मिटर अग्गा हिमालको ४९ पटक आरोहण गरिसकेका छन् । उनले सर्वोच्च शिखर सगरमाथाको सातपटक आरोहण गर्नुभएको छ भने पाकिस्तानको केटु दुईपटक आरोहण गरेका छन् ।
कीर्तिमानी आरोही शेर्पाले आफ्नो आरोहणको कीर्तिमानले सिङ्गो देशको गौरव बढाएको बताए । उनले आरोहणलाई व्यवस्थित गर्दै आरोहीको सामाजिक सुरक्षाको विषयमा ध्यान दिनसकेको खण्डमा नेपालको पर्वतारोहण विश्वको आकर्षण र उदाहरणीय बन्ने विश्वास व्यक्त गरे ।
यस्तै आठ हजारभन्दा अग्ला १४ वटै हिमचुलीहरूको पहिलोपटक सफल आरोहण गर्नुभएका अर्का कीर्तिमानी आरोही निमा ग्याल्जेन शेर्पालाई पनि स्वागत तथा सम्मान गरिएको छ । सन् २००३ देखि हिमाल आरोहण सुरु गर्नुभएका दोलखाका आरोही शेर्पाले हालसम्म आठ हजार मिटर अग्ला हिमाल ४४ पटक आरोहण गरिसकेका छन् । उनले सगरमाथाको नौपटक आरोहण गरेका छन् ।

हालसम्म छ जना नेपाली आरोहीले विश्वमा रहेका १४ वटा आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्नुभएको छ । हालसम्म विश्वका ४४ आरोहीले १४ वटै हिमालको आरोहण गरेको रेकर्ड रहेको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले जानकारी दिए । उनले आरोहीको कीर्तिमानले नेपालको मान र सान दुवै बढाएको बताउनुभयो । उहाँले पर्वतीय पर्यटनको विकास भएमात्रै मुलुकको समग्र पर्यटन क्षेत्रको विकास हुने भन्दै आरोहणलाई व्यवस्थित र प्रभावकारी बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

सरकारले कीर्तिमानी आरोहीलाई नगद प्रदान गर्ने  

सरकारले सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमानी कायम गर्ने पर्वतारोहीलाई नगदसहित सम्मान गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कीर्तिमानी पर्वतारोहीको योगदानलाई कदर गर्दै राम्रो नगद पुरस्कारसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कीर्तिमानी आरोहीको सम्मानमा आज नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले आरोहीको कीर्तिमानले नेपालको गौरव बढाएको भन्दै उनीहरूको योगदानको प्रोत्साहनस्वरुप सम्मान गरिने बताए । उनले भने, “आरोहीको कीर्तिमानले नेपालको शिर ठाडो बनाएको छ । यस्ता सफल व्यक्तिलाई सरकारले नगदसहित पुरस्कृत गर्नुपर्छ । म यहाँमाझ प्रतिबद्धता जनाउन चाहन्छु सरकारकोतर्फबाट राम्रै नगदसहित सम्मान गर्न मन्त्रालयको तर्फबाट तत्कालै प्रक्रिया अघि बढाउनेछु ।”
पर्यटनमन्त्री श्रेष्ठले आरोहीलाई सरकारको तर्फबाट परिचयपत्र वितरण गर्ने तथा आरोहीको ‘आर्काइब’ बनाउन तत्कालै पहल गर्ने बताए । उनले पर्वतारोहण क्षेत्रको सुधार तथा आरोहीको सुरक्षा र जीवनयापनका लागि कसरी समस्या गर्न सकिन्छ भनेर मन्त्रालयको तर्फबाट पर्वतारोहण सङ्घलगायत सरोकारवालासँग छलफल गरेर अवधारणा तयार गरिने विश्वास व्यक्त गरे ।

मन्त्री श्रेष्ठले कीर्तिमानी सानु शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमालको दुई–दुईपटक आरोहण गरेर बनाएको कीर्तिमान विश्वकप फुटबल र ओलम्पिकमा पदक जितेकोजस्तो उपाधि रहेको बताए ।
“खेलकुदमा भएको भए प्रतिस्पर्धामा जितेपछि  तुरुन्तै हर्सोल्सासका साथ खुसी र प्रचार–प्रसार हुने थियो । आरोही सानु शेर्पाले जुन खालको कीर्तिमान कायम गर्नुभएको छ यो फुटबलमा वल्र्डकपमा उपाधि जितेभन्दा कम होइन, संसारमा हुने चाहे ओलम्पिक, विश्वकप होस् त्यसको तुलनामा यो कम होइन, साँच्चिकै गौरव गर्न लायक सफलता आरोहीको कीतिमानले गरेको छ”, उनले भने ।
कार्यक्रममा सांसद जिपछिरिङ लामाले देशको इज्जत र गौरव बढाउन कीर्तिमानी आरोहीको महत्वपूर्ण भूमिका रहेको भन्दै राज्यका तर्फबाट आरोहीको सामाजिक सुरक्षालाई ध्यान दिन जरुरी भएको उल्लेख गरे ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पर्वतारोहीको कीर्तिमानीले नेपाललाई विश्वभर पहिचान गर्न मद्दत पुगेको बताए ।
ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालीको शिर उँचो बनाउन कीर्तिमानी आरोहीले भूमिका खेलेको भन्दै आरोहीको समस्यालाई सरकार र निजी क्षेत्रको सहकार्यमा समाधान गरिनुपर्ने धारणा राखे ।
कीर्तिमानी आरोही सानु शेर्पाले आफ्नो आरोहण सम्पूर्ण नेपालीको खुसीसँग जोडिएको भन्दै सरकारीतवरबाट आरोहीलाई प्रोत्साहन हुनुपर्ने बताए ।
अर्का कीर्तिमानी आरोही निमा ग्याल्जेन शेर्पाले आरोहीलाई इज्जत र सम्मानपूर्वक बाँच्नसक्ने वातावरण बनाइनुपर्नेमा जोड दिए ।

पर्यटनमन्त्रीले एक महिनाको तलब दिने
पर्यटनमन्त्री श्रेष्ठले कीर्तिमानी आरोही सानु शेर्पालाई आफ्नो एक महिनाको तलब बराबरको रकम दिने घोषणा गर्नुभएको छ । उहाँले आरोहीको प्रोत्साहनस्वरुप उक्त रकम दिने बताए । यस्तै कार्यक्रममा नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले दुई आरोही सानु शेर्पा र निमा ग्याल्जेन शेर्पालाई जनही एकएक लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे
कीर्तिमानी आरोही सानु शेर्पाले विश्वमा रहेका  आठ हजार मिटरमाथिका १४ वटै हिमाल दोहो¥याएर आरोहण गरी विश्वकै पहिलो र एक्लो आरोही बन्नुभएको छ । निमा ग्याल्जेन शेर्पाले आठ हजारभन्दा अग्ला १४ वटै हिमालको पहिलोपटक आरोहण गरेर कीर्तिमान बनाउनुभएको छ । सो अवसरमा सङ्घको तर्फबाट दुई कीर्तिमानी आरोहीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९  ०५:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार