सोसल मिडिया
Contact Us
युनिकोड
दमौली । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि दीपक भट्टराई तनहुँबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा जुटेका छन् । पार्टीभित्र युवा पुस्ताको प्रतिनिधित्व गर्दै आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा क्षेत्र नं १ को प्रदेश ‘क’ बाट उम्मेदवार हुने तयारीमा उनी जुटेका हुन् । आफ्नै कला, मेहनत र परिश्रमले राजनीतिक छलाङ मारेको व्यक्ति हुन् नेता भट्टराई । जुझारु नेता भट्टराई नेविसंघको महामन्त्री, महाधिवेशन प्रतिनिधिको हैंसियतमा सबै कार्यकुशलता, निष्ठा, इमान्दार र कतव्र्यनिष्ठ भई गरेकाले नै राजनीतिमा छलाङ मार्न सहज भएको छ । यसै पृष्ठभूमिका कारण प्रदेशको निर्वाचनमा पार्टीको तर्फबाट सबैभन्दा लोकप्रिय नेताका रुपमा भट्टराईलाई हेरिएको छ । जिल्लामा सबैले उनको उम्मेदवार बन्ने आकांक्षालाई स्वभाविक रुपमा समेत लिएका छन् । युवाको भविष्यको लागि, मुलुकको समृद्धि, तनहुँको परिवर्तन र प्रगतिको लागि आफ्नो उम्मेदवारी हुने नेता भट्टराईले बताए । देशको नेतृत्व तनहुँले गर्नुपर्ने र हाम्रो भिरपाखाको मात्रै नेता देशकै नेता बन्नुपर्ने भट्टराई बताउँछन् । ‘हामी हाम्रो भुगोलसँगै समग्र देशको विकास गछौं’ भट्टराईले भने । युवाको सोचले नै मुलुकको समृद्धिको आधार भएकोले राजनीतिक दल युवाको मनमुटुमा बस्न सक्नुपर्ने भट्टराई बताउँछन् । ‘अबको नेपाल कस्तो बनाउनु पर्छ भन्ने सुरुवात तनहुँबाट गर्नुपर्छ त्यसको लागि मेरो उम्मेदवारी दाबी हो’, नेता भट्टराईले भने । हिजो गुजरातमा गरेको विकासका कारण भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोकप्रिय भएझैं तनहुँमा नमूना काम गरेर देशकै नेता हुन सक्नुपर्ने भट्टराई बताउँछन् । ‘२१ औं शताब्दी नेपाल कस्तो हुनुपर्छ भन्ने सुरुवात आफैंबाट गर्न चाहन्छृु, भट्टराईले भने, ‘युवासँग क्षमता र सामर्थ छ तर सोच नभएकोले पछि परेका छौं’ । अब केवल आफ्नो बारेमा सोच्ने, आफू धनी हुने नभई नेपाललाई धनी बनाउने नीति चाहिएको भट्टराईको भनाइ छ । राजनीतिक पार्टीसँग जनता खुसी नभएको अवस्थामा जनताको मुहारमा खुसी ल्याउने काममा आफू क्रियाशील हुने प्रतिवद्धता उनी जनाउँछन् । ‘अहिले हामी गरिव राष्ट्रमा छौं, विगतमा हामी धनी र आत्मनिर्भर थियौं भट्टराई भने, ‘जन्मिदै गरिब बनेको हैन विस्तारै विस्तारै गरिब भएका हौं ।’ के गर्दा धनी हुन्छौ भन्ने थाहा नभएको कारण गरीव भएको तर्क छ उनको । जल, जमिन, जडिबुटी केबाट आम्दानी गर्ने हो त्यसप्रति ध्यान दिनुपर्नेमा उनी जोड दिन्छन् । सुरुमा हामी कृषिमा आत्मनिर्भर बन्नुपर्छ त्यसपछि राजनीति पनि अलगै तरिकाले अघि बढाउन सकिन्छ भट्टराईले भने । २०५२ सालको शिक्षा सेवा आयोगमा निमावि तहको लिखितमा १ नम्बरमा नाम निकालेर पनि अन्तरर्वार्ता नदिइ राजनीतिमा होमिएका हुन् भट्टराई । राजनीतिको माध्यमबाट देश परिवर्तन गर्न लागेको उनी बताउनुहुन्छ । तेज दिमागका नेता भट्टराई हाल त्रिभुवन विश्वविद्यालयबाट द्धन्द्ध व्यवस्थापन विषयमा विद्यावारिधी (पीएचडी) गर्दै छन् । उनले समाजशास्त्र र ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन् । . को हुन् दीपक भट्टराई ? व्यास नगरपालिका–११ रामथुम्कीमा बुबा श्रीराम भट्टराई र आमा स्व.धर्मकला भट्टराईको कोखबाट जन्मेका भट्टराईको विद्यालय जीवनदेखि नेविसंघमा आवद्ध भई सक्रिय राजनीतिमा होमिएका थिए । भट्टराई हाल दमौलीमा बस्छन् । उनी मात्रै होइन भट्टराई परिवारको तीन पुस्ता नै तनहुँको राजनीतिक तथा सामाजिक क्षेत्रमा क्रियाशील छ । हजुरबुबा बलराम भट्टराई शास्त्री तनहुँ जिल्लामै शास्त्री (स्नातक) गर्ने पहिलो व्यक्ति हुन् । जिल्लामा शास्त्री गर्ने पहिलो व्यक्ति भएकोले नै उनले नामको पछाडि भट्टराई शास्त्री लेख्थे । उनी २०२५ सालमा खुलेको दमौलीस्थित निर्मल माध्यमिक विद्यालयको संस्थापक प्रधानाध्यापक भएका थिए । मावि तहको प्रअ हुन स्नातक गरेको हुनुपर्ने तर अन्य व्यक्तिको यस्तो योग्यता नपुगेपछि बलराम भट्टराई शास्त्रीलाई नै प्रअ बनाएर विद्यालय सञ्चालन गरिएको थियो । व्यास नगरपालिका–११ फराकचौरमा वाराही माध्यामिक विद्यालय स्थापनामा समेत शास्त्रीको ठूलो योगदान थियो । शास्त्री तत्कालीन फराकचौर (दमौली) पञ्चायतको दुई पटक प्रधानपञ्च बनेका थिए । साथै उनले तत्कालीन समयमा निर्वाचन आयुक्तको जिम्मेवारी सम्हालेका थिए । भट्टराईको बुबा श्रीराम भट्टराईको पनि राजनीतिमा ठूलो योगदान छ । बीपी कोइरालाको प्रेरणाले राजनीतिमा लागेका उनी राजद्रोह मुद्दामा २०२९ साल माघ २२ गतेबाट दुुई वर्ष कास्की कारागारमा बसेका थिए । बरिष्ठ पत्रकार कृष्ण केसी, तनहुँका बद्रीहरि भट्टराई पनि पोखरामा सँगै परेका थिए । त्यसअघि उनी एक वर्ष भूमिगत जीवन विताएका थिए । बुबा श्रीराम भट्टराई नेपाल तरुण दलको जिल्ला सदस्य समेत बनेका थिए । उनी निर्मल माध्यमिक विद्यालयमा लामो समयसम्म शिक्षण समेत गरे । काँग्रेसमा पारिवारिक योगदान रहेका गर्भे काँग्रेस युवा नेता भट्टराई २०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनदेखि विभिन्न विद्यार्थी आन्दोलनमा दजनौं पटक लाठा, भाटा खाने र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । काँग्रेसको १४ औं महाधिवेशनमा उनी केन्द्रीय सदस्यको प्रत्यासी थिए । कुनै पनि प्यानलमा नपरे पनि भट्टराईले सम्मानजनक मत ल्याउनु भएको थियो । भट्टराईले त्रिचन्द्र क्याम्पसमा इकाई सदस्य बनेर आफ्नो राजनीतिक कर्मलाई अगाडी बढाएको थिए । २०५५ सालमा गगन थापा सभापति हुँदा सो क्याम्पसमा युनियन सहसचिव भएका थिए । त्रि–चन्द्र क्याम्पसमा नेविसंघले अन्याय गरी टिकट नदिएपछि विद्रोह गरेर स्वतन्त्र भई लडेर २०६२ सालमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए । त्यसपछि २०५७ र २०६० नेविसंघको केन्द्रीय सदस्य भए । युवा नेता भट्टराई काँग्रेसको १३ औं र १४ औं महाधिवेशनमा तनहुँबाट भारी मतमा महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए । त्रिचन्द्र कलेजको सुधारदेखि, त्रिभुवन विश्वविद्यालयबाट विद्यार्थी हकहितको पक्षमा उनले धेरै नीतिगत लडाईहरु लड्ेका छन् । हिजो व्यवस्था परिवर्तनको लगि लडें अब अवस्था परिवर्तनको लागि लडेको छु’ भट्टराईले भने । शिक्षा परिवर्तनको आधार हो, समृद्धिको आधार हो, शिक्षा नै विकासको मेरुदण्ड भएको भट्टराईले बताए । युवा शक्ति केवल भविष्यका कर्णद्धार मात्रै हैन वर्तमानका साझेदार पनि हुन् भन्ने भावानालाई पार्टीले साकार पार्न पनि गण्डकी प्रदेश सभा सदस्यमा भट्टराईले टिकट पाउने सम्भावना छ ।