सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले साउन महिनाको निवृत्तिभरण (पेन्सन) अझै खुवाएको छैन । सरकारले तलब वृद्धि गरेका कारण पेन्सन खुवाउन ढिलाइ भएको निवृत्तिभरण व्यवस्थापन कार्यालय प्रमुख विष्णुप्रसाद खरेलले बताए ।
सरकारले कर्मचारीको १५ प्रतिशत तलब बढाएको छ । तर, ढिलोगरी मन्त्रिपरिषद्ले स्वीकृत गर्दा निवृत्तिभरण वितरणमा ढिलाइ भएको उनले बताए । अबको एक हप्ताभित्र पेन्सन वितरण गरिसक्ने कार्यालय प्रमुख खरेलले जानकारी दिए ।
‘मन्त्रिपरिषद् बैठकले ढिलोगरी स्वीकृत गरेको र सोहीअनुसार व्यवस्था गर्नुपर्ने भएकाले ढिलाइ भएको हो,’ उनले न्युज कारखानासँग भने, ‘अबको एक साताभित्र पेन्सन वितरण गरिसक्छौँ ।’
साढे दुई लाख जनाले निवृत्तिभरण लिने गरेका र उनीहरुको वृद्धि रकम मिलाउनुपर्ने भएकाले वितरणमा ढिलाइ भएको प्रमुख खरेलको भनाइ छ । साउन महिनाकै पेन्सन लिन बाँकी रहेकाले अब साउन र भदौ दुवै महिनाको १५ भित्र वितरण गर्ने कार्यालयका सूचना अधिकारी राजभाइ श्रेष्ठले बताए ।
सरकारले बहालवाला कर्मचारीलाई साउन महिनाको तलब खुवाइसकेको छ भने निवृत्तिभरण वितरणमा ढिलाइ गरेको हो । जस कारण निवृत्तिभरण खाँदै खाएका वृद्धवृद्धाहरु दैनिकजसो बैंकमा जाने र आए नआएको सोध्ने गरेका छन् ।