सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरियामा उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा बढी नेपालीले रोजगारी पाउने भएका छन् । एचआरडी कोरियाले उत्पादन क्षेत्रतर्फ यसअघि तोकिएभन्दा आठ हजार बढी नेपालीलाई भाषा परीक्षामा उत्तीर्ण गराउने जनाएको छ । उत्पादनतर्फको पहिलो र दोस्रो चरणको भाषा परीक्षाबाट उत्तीर्ण हुनेको सङ्ख्यामा आठ हजार थप गरी रोस्टरमा सूचीकृत गर्न एचआरडी कोरियाबाट पत्र प्राप्त भएको वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले जनाएको छ । यसअघि उत्पादन क्षेत्रतर्फ पहिलो चरणको परीक्षाबाट तीन हजार एक सय ३० र दोस्रो चरणको परीक्षाबाट तीन हजार सात सय ८३ गरी कूल छ हजार नौ सय १३ जनालाई उत्तीर्ण गराउने जनाएको थियो । उत्पादनतर्फको परीक्षामा उत्तीर्ण गराउनेको सङ्ख्या थपिएसँगै पहिलो चरणको परीक्षाबाट छ हजार सात सय ५२ र दोस्रो चरणबाट आठ हजार एक सय ६१ गरी कूल १४ हजार नौ सय १३ जना उत्तीर्ण हुनेछन् । यसपटक उत्पादनतर्फ ३३ हजार नौ सय र कृषितर्फ नौ हजारले फाराम भरेका थिए । उत्पादनतर्फको पहिलो चरणको परीक्षा गत साउन २ देखि सुरु भएको थियो । दोस्रो चरणको परीक्षा यही भदौ २ गतेदेखि चलिरहेको छ । पहिलो चरणको परीक्षाको नतिजा यही भदौ १७ गते आउने इपिएस कोरिया शाखाले जनाएको छ । शाखाका निर्देशक पुष्पराज कटुवाल परीक्षामा उत्तीर्ण हुनेको सङ्ख्या बढ्ने भएसँगै रोजगारीका लागि कोरिया जाने युवाको सङ्ख्या पनि वृद्धि हुने बताउनुहुन्छ । “यो नेपाली युवाका लागि अवसर हो”, उनले भने, “कोरिया सरकारले नेपालीलाई रुचाएको देखिएको छ ।” सन् २००८ देखि इपिएसमार्फत नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया जाँदै आएका छन् । इपिएसबाट ७३ हजार नेपाली कोरिया पुगिसकेका छन् । उनीहरुले चार वर्ष १० महिना कोरियामा काम गर्न पाउँछन् । हाल कोरियामा ३३ हजार इपिएस श्रमिक छन् । दक्षिण कोरियाले इपिएस प्रणालीमार्फत विभिन्न १६ देशबाट श्रमिक लैजाँदै आएको छ । इपिएसबाट श्रमिक लैजाने मुलुकको सूचीमा नेपाल दोस्रो स्थानमा छ । सबैभन्दा बढी कम्बोडियाबाट श्रमिक कोरिया पुगेका छन् ।–रासस कीर्तिपुरमा पनि अवैध संरचना भत्काउन सुरु
कीर्तिपुर । कीर्तिपुर नगरपालिकाले नगरभित्रका अवैध संरचना हटाउने कार्य सुरु गरेको छ । पटक पटकको लिखित तथा मौखिक आग्रह र चेतावनीपछि पनि अटेर गरेका कारण आज नगरपालिकाले त्यस्ता अवैध संरचना डोजर लगाएर भत्काएको हो । दिउँसो सुरु गरिएको सो कार्यमा नगरप्रमुख राजकुमार नकर्मी उपस्थित थिए । नगरपालिकाको वडा १० मा पर्ने उक्त संरचना स्थानीय जयबहादुर महर्जनको पर्खाल हो । नगरपालिकामा गरिएको नक्सा पास विपरीत सो संरचना बनेकाले भत्काउनुपरेको नगरपालिकाका उपप्रमुख एवं प्रवक्ता सुनिता शाक्यले राससलाई बताए । महर्जनलाई यसअघि अघिल्ला नगरप्रमुख रमेश महर्जनकै कार्यकालमा नगरपालिकाले संरचना मापदण्ड विपरीत भएको र सार्वजनिक आवागमनमै बाधा पार्ने भएकाले भत्काउन अनुरोध गरिएको जानकारी पनि उपमेयर शाक्यले दिए । “उहाँहरुसँग नै महर्जनले आफ्नो संरचना आफैँ भत्काएर हटाउने प्रतिबद्धता जनाउनुभएको रहेछ । तर हामी आइसकेपछि पनि अनुरोध गर्दा नहटाइएपछि भत्काउन बाध्य भयौँ”, उनले थपे । नियम विपरीतका संरचना हटाउन स्थानीय जनताले पहिलेदेखि नै माग राख्दै आएको उपप्रमुख शाक्यले बताए । यससँगै नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाउने कार्य छिट्टै थाल्नेसमेत उनको भनाइ थियो ।