सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ । आजका दिन घर–घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ । पितृसम्मान दिवस
यसै अवसरमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बुबाको मुख हेर्ने गर्दछन् । बुबा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ । यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गर्छ । मन्दिरमा लाग्ने मेलाका सबै तयारी गरिएको गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल वेत्रावतीमा पनि मेला लाग्ने गर्छ । बेत्रावतीमा पनि पिता दिवङ्गत भएकाहरु तर्पण, सिदादान र पिण्डदान गर्न पुग्ने गर्छन् । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना जीवित बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बुबा परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ । आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिए पनि सङ्कल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ । औँसी श्राद्ध भने शुक्रबार नै परेको छ । शनिबार मघा नक्षत्र परेकाले पनि धेरै भक्तजन श्राद्धका लागि शुक्रबार नै गोकर्णेश्वर मन्दिर क्षेत्र पुगेका थिए । तीर्थमा गरिने श्राद्ध मघा नक्षत्र परेका दिन पनि गर्न सकिने समितिका अध्यक्ष श्रीकृष्ण अधिकारी बताउँछन् । मघा निमित्तक श्राद्धमात्र छोरा हुनेले नगर्नु भन्ने शास्त्रीय वचन रहेको उनले बताए ।
आजै मोती जयन्ती मनाइँदै राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५७ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ साल भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याएका थिए । नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र््याउनुभएको थियो । यही छापाखानामार्फत् नेपालमा पत्रकारिताको सुरुआत भएको हो । दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गर्दैछन् । यस अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले पुस्तक प्रदर्शनीको आयोजना गरेको छ । भदौ १२ गतेसम्म चल्ने प्रदर्शनीमा पाठक एवं पुस्तकप्रेमीको भीड लागेको छ ।–रासस