चाडपर्वको मौलिकता जोगाउनु पर्छ : प्रदेश प्रमुख गुुरुङ

मंगलबार, भदौ १४, २०७९
मयुर प्लाई
Global Ime Bank

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले चाडपर्वको मौलिकता जोगाउनु आजको आवश्यकता भएको बताएका छन् । हरितालिका तीजको पावन अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले चाडपर्व हाम्रा संस्कृति र पहिचान भएको उल्लेख गरे ।
“मौलिक संस्कृतिको प्रवद्र्धन गदै संस्कारयुक्त सामाजिक वातावरण तयार गर्न यस्ता चाडपर्वको मौलिकता जोगाउनु अहिलेको आवश्यकता हो”, शुभकामना सन्देशमा भनिएको छ । हरितालिका तीजलाई नेपाली महिलाले एक सनातन सांस्कृतिक पर्वको रुपमा मनाउँदै आएको सन्देशमा उल्लेख गरिएको छ ।
भाद्र शुक्लपक्ष तृतीयाका दिनपर्ने यस पर्वमा महिलाले भगवान् शिवपार्वतीको पूजा आराधना गर्दै आफ्नो सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामनासहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको प्रदेश प्रमुख गुरुङले भनेका छन् ।
सामाजिक एकताको प्रतीकका रुपमा रहेको यस पर्वले सबैमा खुसी साटासाट गदै सामाजिक, सांस्कृतिक तथा पारिवारिक एकता र सम्बन्धलाई दृढ गर्न सकोस् भन्ने उहाँले कामना गर्नुभएको छ ।

तीजमा तनहुँका तीन स्थानीय तहमा सार्वजनिक बिदा

हरितालिका तीज पर्वको अवसरमा तनहुँका तीन स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिकाले हरितालिका तीज पर्वको अवसरमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
व्यास नगरपालिका तथा नगरपालिकाअन्तर्गत सम्पूर्ण कार्यालय, सामुदायिक एवं निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक बाहेक) र अन्य सङ्घसंस्थामा भदौ ७ गतेको बैठकको निर्णयअनुसार सार्वजनिक बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।
यसैगरी शुक्लागण्डकी नगरपालिकाले पनि तीजको अवसरमा मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन नगरपालिकाको कार्यालय, वडा कार्यालय, सबै विद्यालय र नगरपालिकाभित्र सञ्चालित बैंक तथा वित्तीय संस्थामा बिदा रहने जनाइएको छ । नगरप्रमुख कृष्णराज पण्डितले हरितालिका तीजको शुभकामना दिँदै सभ्य रुपमा तीज मनाउन आग्रह गरेका छन् ।
म्याग्दे गाउँपालिकाले पनि हरितालिका तीज पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।–रासस

 

प्रकाशित मिति: मंगलबार, भदौ १४, २०७९  ०५:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार