सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । जङ्गली हात्तीको आक्रमणबाट नेपालमा वर्षेनी नागरिकको ज्यान जाने क्रम बढेको छ । अस्ति सोमबार (भदौ १३ गते) कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा जङ्गली हात्तीको आक्रमणबाट १८ वर्षीया मीना जोशीको ज्यान गयो । घरनजिकै हात्ती देखेपछि भाग्ने क्रममा बाँसको झाडीमा हात्तीले जोशीलाई आक्रमण गरेको थियो । वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट नागरिकको अकालमै ज्यान गएको भए पनि मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रणको उपाय नखोजिएको हात्ती पीडितको आरोप छ । संरक्षित क्षेत्र (निकुञ्ज–आरक्ष) र नजिकको बस्ती क्षेत्रमा हात्तीको आक्रमणबाट पछिल्लो १७ वर्षमा कम्तीमा दुई सयको मृत्यु भएको पाइएको छ । निकुञ्ज–आरक्ष रहेकोभन्दा बाहिरका जिल्लामा हात्तीको आक्रमणबाट धेरै मानिसको मृत्यु हुने गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागका अनुसार हालसम्म झापामा मात्रै ३७ को मृत्यु भएको छ । यसैगरी बर्दियामा ३५, चितवनमा २०, सप्तरी र बारामा १३–१३, सर्लाहीमा १२, पर्सामा ११, सुनसरी र उदयपुरमा नौ÷नौ धनुषा र सिन्धुलीमा आठ÷आठ मोरङमा सात, सर्लाही र रौतहटमा छ÷छ, मकवानपुरमा तीन र कञ्चनपुरमा यही भदौ १३ गते एकको ज्यान गएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डिलबहादुर पुर्जापुनका अनुसार पछिल्ला वर्षमा हात्ती, बाघ र गैँडालगायत वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । यसरी ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहतस्वरुप रु १० लाख दिने नीतिगत व्यवस्था गरिएको भए पनि हात्ती नियन्त्रणको उपायमा भने ध्यान पुग्न सकेको छैन । घाइते हुने व्यक्तिहरका साथै बाली र घरगोठमा क्षति पुगेका परिवारलाई पनि १० देखि ३० हजारसम्म क्षतिपूर्तिको व्यवस्था गरिएको छ । मानवीय बस्तीमा पसेर पटक–पटक वितण्डा मच्चाएकामध्ये अहिलेसम्म विभिन्न स्थानमा आठ वटा हात्तीको घाँटीमा रेडियो कलर जडान गरेर सरकारले तिनीहरुको आउजाउ अनुगमन गरिरहेको सूचना अधिकारी पुर्जापुनले बताए । हात्तीका लागि उपयुक्त बासस्थान पछिल्लो समय विभिन्न कारणले खण्डीकृत हुँदै गएको तथा हात्ती हिँड्ने बाटो (करिडोर) कृषिकर्म, सहरको विस्तारलगायतका कारण अतिक्रमणमा परेका कारण जङ्गली हात्ती मानवीय वस्तीमा पस्ने र बितण्डा मच्चाउने गरेको अनुमान गरिएको छ । सरकारले अघि बढाएको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, विद्युत् प्रसारण लाइन, सिँचाइ, सडक विस्तारलगायतले बासस्थान खल्बलिएपछि हात्तीको ओहोर–दोहोरमा समस्या आएको बिज्ञहरुको बुझाइ छ ।
बासस्थान साँघुरो हुँदा हात्तीको आक्रमण बढ्यो
कञ्चनपुरमा केही समययता हात्तीको आक्रमण बढ्दो छ । वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा नोक्सानी पुग्ने गरेको छ । जङ्गल नजिकै मावनबस्ती भएकाले हरेक वर्ष हात्तीको आक्रमणबाट धेरैले ज्यान गुमाउनुपरेको छ । सोमबार मात्रै शुक्लाफाँटा नगरपालिका–७ की २२ वर्षीया मीना जोशीको खेतमा काम गरिरहेका बेला हात्तीको आक्रमणबाट मृत्यु भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तथ्याङ्कअनुसार जङ्गली हात्तीको आक्रमणबाट तीन वर्षको अवधिमा छ जनाले ज्यान गुमाएका छन् । निकुञ्ज कार्यालयका अनुसार विसं २०७७ मा दोधारा चाँदनी नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । विसं २०७८ मा शुक्लफाँटा–१ वन्साहका एक पुरुष र एक महिलाको हात्तीको आक्रमणबाटै मृत्यु भएको हो । लालझाडी गाउँपालिका चान्देउका एक पुरुषको पनि हात्तीको आक्रमणमा परी मृत्यु भयो । यसवर्ष पनि कञ्चनपुरमा हात्तीको आक्रमणबाट एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गत साता मात्रै बेदकोट नगरपालिका हात्तीथालाकी एक महिला हात्तीको आक्रमणबाट घाइते हुनुभएको छ । हात्तीको आक्रमणबाट मानिस मात्रै होइन किसानको अन्नबाली र घरमा क्षति हुने गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै भारतसँग जोडिएको दुधुवा नेशनल पार्कबाट आउने हात्तीले यहाँ क्षति गर्ने गरेको निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले हात्तीको बासस्थान साँघुरिदै गएपछि हात्तीको आक्रमण बढ्न थालेको बताए । “दुई तीन वर्षयता हात्तीको आक्रमण बढेको छ”, उनले भने, “पहिला सिजनमा आउने हात्ती छोटो समयमा फर्किन्थ्यो अहिले दुई÷तीन महिनासम्म यहाँ बस्ने गरेको पाइन्छ ।” हात्ती प्रायः एउटै ठाउँमा नबस्ने र घुमफिर गरिरहने भएकाले हात्ती हिँड्ने बाटोमा पनि आक्रमण हुने गरेको छ । “हात्ती एउटै स्थानमा बस्दैन एकै रातमा पाँच÷सात किलोमिटर हिँड्छ”, उनले भने, “हाम्रो यहाँ वनजङ्गल कम छ हात्ती भारतको दुधुवा राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जसम्म पुग्छन त्यो बीचमा धेरै बस्ती छन् ।” उनका अनुसार हात्ती हिँड्ने बाटोमा बस्ती भएका कारणले पनि मानिसमाथि हात्तीको आक्रमण बढेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मौसमी रुपमा ५०÷६० को बथान भारतीय दुधुवा नेसनल पार्कबाट आउने गरेका छन । यी हात्तीको वथान कहिले नेपाल कहिले भारततर्फ आउजाउ गरिरहेको हुन्छन् । “बच्चाको साथमा आएको हात्तीले आक्रमण गर्दैन”, सहायक संरक्षण अधिकृत ऐरले भने, “पाँच÷छ भाले अधबैसे हात्ती बथानबाट एक्लिएका छन् उनीहरुले बथान खोज्दै हिँड्छन्, ती हात्ती नडराउने र छिटो आक्रमण गरिहाल्ने हुन्छन् ।” उनका अनुसार ती अधबैसे हात्ती अहिले स्थायी रुपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बस्न थालेपछि बस्तीमा आक्रमण हुन थालेको हो । कञ्चनपुरमा मध्यवर्ती क्षेत्रमा शिविर धेरै छन् विशेषगरी हात्ती हिँड्ने बाटोमा बस्ती विस्तार भएका कारण हात्तीले अन्नबाली र घरमा क्षति पु¥याउने गरेको छ ।