सोसल मिडिया
Contact Us
युनिकोड
मोहनसिंह लालचन यस्ता पात्र हुन्, जसले जीवनको जवानी विदेशी भूमिमा बिताए । त्यही भूमिमा सीप सिके । दुःख गरे । दुःख बुझे । आरामकोे जीवन भोग्ने बेलामा जन्मभूमि फर्के । र, राजनीतिकर्मी भएर सामाजिक सेवामा होमिने निश्चय गरे । मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह २८ वर्ष जापान बसेर नेपाल फर्र्र्किएका नेपाली हुन् । सुविधा भोग्ने र आराम गर्ने उमेरमा आखिर किन फर्के त उनी आफ्नै भूमि ? नेपाल फर्कनुको दुईवटा कारण रहेछन् । पहिलो–आफ्नो ठाउँको सेवा गर्नु । दोस्रो–जापानमा भएको विकासलाई नेपाल भित्रयाउनु । मनभित्र उठिरहेका यो इच्छालाई दुई वर्ष अघि जापानको एक कार्यक्रममा भाग लिन पुगेका ललितपुरका नगरप्रमुख चिरीबाबु महर्जनसँगको भेटले थप उर्जा थपिदियो । मोहनसिंह भन्छन्, ‘चिरीबाबु दाइसँग भेटेपछि मनमा उठेको नेपाल फर्कर्ने भावलाई मूर्तरुप दिन उर्जा थपियो ।’ जापानबाट फर्कंदासम्म पनि उनले राजनीतिमा लाग्ने सोच बनाएका थिएनन् । जापान जानु अघि पनि मोहनसिंह समाजसेवामा थिए, फर्किएपछि पनि समाजसेवा नै गर्छु भन्ने थियो, उनको मनमा । जापानबाट फर्किएको केही समयपछिको अवस्था भिन्न रह्यो । शुभेच्छुक र हितैषीले नीतिहरूको माउ नीति राजनीतिमार्फत् जनताको सेवा गर्न सुझाव दिए । जनताको नजिकको सरकार स्थानीय सरकार हो भन्ने बुझेका उनी सबैको सुझावमा मंजुर भए । मुख्य कुरा त बाँकी नै थियो । टिकट कुन पार्टीले दिने ? कुनै पनि राजनीतिक दलमा आबद्ध नभए पनि उनी नेपाली कांग्रेससँग अन्यको तुलनामा ‘लोयल’ थिए । लोयल हुनुको मुख्य कारण थियो, स्वतन्त्रतामा हस्तक्षेप कम । भन्छन्, ‘नेपाली कांग्रेसले अरुको भावनालाई पनि कदर गर्ने भएकाले मलाई यो पार्टी सुरुदेखि नै मन पथ्र्यो ।’ आफ्नो मनले खाएकै पार्टीले उनलाई टिकट दिने भयो । दियो पनि । टिकट पाएपछि चुनाव जित्न खटिएका उनी निर्वाचित भए ।
प्रत्येक वडा–पृथक पहिचान उनले नेतृत्व गरेको गाउँपालिकामा पाँचवटा वडा छन् । ती प्रत्येक वडालाई फरक पहिचानको वडा बनाउने योजना बनाएका छन् । वडाको अवस्था र विशेषता हेरेर खाने वडा, घुम्ने वडा, सुत्ने वडा, किनमेल वडा ......यस्तै यस्तै । जे होस् मोहनसिंहले बनाएको र बनाउने योजना आर्थिक उपार्जनसँग छ । आर्थिक उपार्जनलाई उनले मुस्ताङका प्रत्येक वडाको पहिचानसँग जोड्ने भएका छन् । कृषिलाई पर्यटनसँग जोड्नुपर्ने उनको बुझाई छ । त्यसैले कृषिलाई जति महत्व दिएका छन्, त्यतिकै महत्व दिएका छन् पर्यटनलाई । भन्छन् ‘प्रत्येक वडाका उत्पादनलाई पर्यटकले लाने कोसेली बनाउने योजनालाई अघि बढाएको छु ।’ पर्यकटका लागि होल्डिङ स्टेसन बनाउने उनको योजना छ । उनले नेतृत्व गरेको पालिका मुस्ताङको सदरमुकाम जोमसोममा पर्छ । विश्वप्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ उनको पालिका हुँदै जानुपर्छ ।
कस्तो छ उनको पालिका ? उनले नेतृत्व गरेको घरपझोड गाउँपालिकामा ठूलो समस्या छैन । १२ हजार जनसंख्या रहेको उक्त पालिकामा स्वास्थ्य क्षेत्रमा थप काम गर्नु आवश्यक छ । ‘सुविधा सम्पन्न अस्पताल छैन, अलि ठूलो दुःख–बिमार हुने बित्तिकै पोखरा आउनुपर्छ’, उनी भन्छन् । प्रदेश सरकारको मातहतमा रहेको उक्त अस्पतालमा दरबन्दी कम छ, त्यसैले जिल्लाको आवश्यकता थेग्न सक्ने अस्पतालको आवश्यकता औंल्याउँछन उनी । मुस्ताङ जिल्लामै शल्यक्रिया गरेर सन्तान जन्माउने सेवा त्यहाँको अस्पतालले भर्खरै दिन सुरु गरेको उनले सुनाए । मुस्ताङ जिल्लाको सुरु र म्याग्दीको सिमानामा जाने पहिरोले बेला बखत दुःख दिन्छ । अर्को जिल्लासँग गर्नुपर्ने समन्वय समयमा हुन नसक्दा पहिरो नियन्त्रणका लागि ठोस काम हुन सकेको छैन । मुस्ताङका उत्पादनले बजार पाएकोमा उनी अहिले दंग छन् । त्यहाँ उत्पादन भएका दाल, गेडागुडीले स्वेदश मात्रै होइन, विदेशी बजार समेत पाएका छन् । स्याउको बजारले कृषकहरूलाई सन्तोषको सास फेर्न दिएको छ । उनको मनमा अझै लाग्छ– जतिसक्दो छिटो जापानमा सिकेको सीप र ज्ञान मुस्ताङको लागि प्रयोग गरौं ।
६१ वर्षका उनले जुन दिन नेपाल फर्कर्ने निधो गरे, त्यस दिन उनलाई न त काठमाडौंको सुविधाले लोभ्यायो, न कुनै पर्यटकीय नगरी पोखराको सौन्दर्यले मन अडायो । आफू जन्मेकै ठाउँमा बसेर केही गर्ने निधो गरे । हुन न त यो निर्णयमा पुग्नु अघि उनी जापानमा हुँदा आफ्नो पहिचानलाई संरक्षण गर्न सबैलाई झक्झकाइरहन्थे । भन्थे, ‘प्रिजर्भ योर मेमोरी ।’ उनलाई लाग्छ, जस्तो सुकै आधुनिकताले पनि आफ्नोपनलाई ढाक्न सक्दैन । त्यैसले, मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षको जिम्मेवारीमा रहँदा पहिचान संरक्षणलाई प्राथमिकतामा राखेका छन् ।
जापानबाट नेपालले सिक्नैपर्ने कुरा जापानबाट नेपालले र जापानीबाट नेपालीले सिक्नुपर्ने कुरा धेरै छैनन् । मोटामोटी पाँचवटा विषयमा ध्यान दिए नेपाललाई जापानले चुमे जस्तै सफलता चुम्न धेरै समय लाग्दैन । पहिलो–पर्यटकलाई स्वागत, दोस्रो–इमान्दार र मिहेनती बन्ने, तेस्रो– गुरुको सम्मान, चौथो–राज्यको दायित्वबोध गर्ने, पाँचौं– समयको सम्मान । कोरोना केही मत्थर भएको थियो । जापान सरकारले एउटा सूचना जारी ग¥यो । सूचनाको चुरो थियो, भिजिट जापान । रेष्टुराँ जानेको ५० प्रतिशत खर्च सरकारले नै बेहो¥यो । यसो गर्नुको मुख्य उद्देश्य थियो, जनतासँग भएको पैसालाई बजारमा ल्याउनु । त्यतिबेला घरभित्र बसेका धेरै नागरिक बाहिर निस्केका थिए । घरभित्रको रुपैयाँ बजारमा पुगेको थियो । सम्पन्न र प्रविधिमा पोख्त भए पनि जापानले सार्वजनिक गर्ने कार्यक्रमहरू अझै पनि पर्यटक केन्द्रित छन् । पर्यटक भित्र्याउने र टिकाउने उपाय नेपालले सिक्नै पर्ने विषय हो । इमान्दारिता र मिहेनतलाई उनी गहनाको उपमा दिन्छन् । मानिसमा हुनुपर्ने यी गहना नेपालीले पहिरिनै पर्छ । २० वर्ष अघिसम्म पनि जापान त्यतिधेरै विकसित थिए । पछिल्लो २० वर्षमा अद्भूत ढंगबाट विकास भयो त्यहाँ । दुई दशकमा आफूले गरेको विकासले जापानीहरुलाई शान, मान र गौरब सबै दिएको छ । विश्वमा विकसित र सम्पन्न मुलुकको उपमासहित गर्व गरिरहेका छन् । जसले काम सिकाउँछ, त्यो व्यक्ति उसका लागि अत्यन्तै मान्यवर हुन्छ । काम सिक्नेले उसलाई सधैं सम्मान गर्छ । जोबाट सीप, ज्ञान र काम सिकिन्छ, उसलाई सेम्बाई भनिन्छ । सेम्बाई भनेपछि सम्मानले शीर झुकाउने गरिन्छ । मोहनसिंह भन्छन्, ‘जापानीहरू संस्कारयुक्त हुन्छन् ।’ सरकारले आफ्ना नागरिकलाई राज्य हुनु बोध यतिसम्म गराएको छ कि, त्यसलाई मोहनसिंह शब्दमा व्याख्या गर्न सक्दैनन् । घाटामा भएका कम्पनीले सरकारलाई कर तिर्नु पर्दैन । जुन कम्पनी नाफामा छन्, उनीहरु खुशीसाथ कर तिर्छन् । ती व्यापारीलाई उद्धृत गर्दै गाउँपालिका अध्यक्ष लालचन भन्छन्, ‘गर्व साथ भन्छन्, हामी नाफामा छौं, कर तिर्न किन गाह्रो भो र ।’ राज्यले आफ्नो जिम्मेवारी पूरा गरेपछि नागरिकलाई समेत कतव्र्यबोध हुने रहेछ । जसरी उनीहरु आफ्नो गुरुको सम्मान गर्छन्, त्यसैगरी समयको पनि सम्मान गर्छन् । कुन समयमा के गर्ने र समयमै काम सुरु गर्ने र फत्ते गर्ने उनीहरूको बानी र शैलीले जापानलाई सफलताको शिखर चुम्न सफल बनाएको छ । जीवनको उर्जाशील समय अर्काको भूमिलाई कर्मभूमि बनाएका मोहनसिंहको राजनीति मार्फत समाजसेवामा होमिएको यात्रा सफल रहोस् । त्यहाँको अनुभव र सीपलाई नेपालको पर्यटकभूमि मुस्ताङलाई सिगार्न प्रयोग होस् भन्ने कामना ।